द्वन्द्व पीडितका परिवार भन्छन्ः राहतभन्दा पहिला सास कि लास चाहियो

सञ्जय रानाभाट २०८० भदौ १३ गते ११:४०

सञ्जय रानाभाट, पोखरा ।
‘हामी कुल्ली काम गरेर पेट पाल्थ्यौं । म र भाइ कहिलेकाँही काममा सँगै पनि जान्थ्यौं । २०६० साल चैत १२ गतेको कुरा हो । रामबजारको एउटा घरमा काम गर्दै थियौं । सोही दिन आर्मीले आएर भाइ (ओमप्रसाद पुन)लाई समात्यो । यति बेला किन समात्यो थाहा पाइनँ,’ मीठु पुन भन्छिन् । त्यो दिन ओमले भारतीय सैनिकको जस्तो कपडा लगाएका थिए ।


कोही परिचितले ओमलाई त्यो पोसाक दिएका थिए । कम्ब्याक्ट ड्रेस लगाएकै कारण माओवादी ठानेर उनलाई गिरफ्तार गरियो, तर अहिलेसम्म उनको अत्तोपत्तो छैन । पछि ओमका आफन्त कास्कीका आर्मी ब्यारेकहरु पनि पुगे तर केही थाहा भएन । माओवादीहरु नै शान्ति प्रक्रिया आएको २ दशक पुग्न लाग्यो तर ओमको कुनै खरब छैन ।


भाइ छुटाउन ब्यारेक पुगेका मिठुले बारम्बार दुःख पाए । तर, पनि मिठु जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीमा भाइ खोजिदिन आग्रह गर्दै पुग्छन् । उनी भन्छन्, ‘भाइलाई कहाँ लग्यो, पत्ता त लगाउनुपर्‍यो नि, राज्यले लास दिन्छ, न सास । राज्य यसरी निर्मम हुन मिल्छ ? हामी न्याय खोज्न कहाँ जाने ?’

Advertisement

त्यो दिन भाइले एक जना दाइले दिएको इन्डियन आर्मीको जस्तो कपडा लगाएको थियो । अरुले दिएको कपडाकै आधारमा माओवादी भनेर लग्यो ।
मीठु पुन


म्याग्दी खानीगाउँ घर भएका मिठु पुन ओमको अवस्था अहिलेसम्म पत्ता नलाग्नुमा राज्यको कमजोरी भएको ठान्छन् । राज्यले पीडित पक्षलाई सहयोग गर्नुपर्नेमा बेपत्ता आफन्त खोज्दाखोज्दै ज्यालादारी गरेको पैसासमेत सकिएको र अब कमाउन नसक्ने भएको उनको गुनासो छ ।

Advertisement


ओम जस्तै सशस्त्र द्वन्द्वका बेला धेरै मानिस बेपत्ता भए । बेपत्ताको खोजी कार्य गर्न गठित बेपत्ता छानबिन आयोगको काम पनि प्रभावकारी हुन सकेको छैन । ०५४ फागुन ३ गते घरबाट अफिस हिँडेका फणीन्द्र सिंखडा घर नफर्केको २६ वर्ष भयो । गोरखा घर भई कामको शिलशिलामा चितवनमा पुगेका उनलाई राज्य पक्षले गिरफ्तार गरेको थियो ।


फणीन्द्र माओवादी कार्यकर्ता भएकै कारणले पक्राउ गरी बेपत्ता पारिएको उनकी श्रीमती राधिका बताउँछिन् । ‘उहाँ एजिओमा काम गर्नुहुन्थ्योे । ०५४ साल फागुन ३ गते निस्किनुभयो, यसपछि घर आउनुभएको छैन । देख्नेहरुले आर्मीले समातेर लगेको भने तर ब्यारेक जाँदा पनि पत्ता लागेन,’ राधिका भक्कानिइन् ।


उनलाई श्रीमान फर्केर घर आउने आशा अझै छ । खसम बेपत्ता भएको घाउँ छँदै थियो, २०६० भदौ १७ गते फेरि उनीमाथि बज्रपात भयो । छोरा मणिलाई नेपाली सेनाले गोली हानेर हत्या गरे । ‘छोराको हत्या भो, उहाँ बेपत्ता हुनुहुन्छ । उच्च पदमा पुगेपछि स्वादमात्र चाख्ने हो कि हामी जस्ता पीडितको सम्बोधन पनि हुन्छ,’ राधिकाले प्रश्न गरिन् ।


मणिलाई कास्की कारागारमा १ वर्ष ६ महिना राखेर लमजुङको पर्स गाउँमा पु¥याएर हत्या गरिएको राधिकाले सुनाइन् । ‘छोरालाई त मारे । अब श्रीमानको कि लास दिनुप¥यो कि सास दिनुप¥यो,’ उनी भन्छिन् । मन मान्दैन, अझै श्रीमान्को खोजी गरिरहेकी छन् ।

०५४ साल फागुन ३ गते उहाँ अफिस जान्छु भनेर निस्किनुभयो, फर्किनुभएको छैन । देख्नेहरुले आर्मीले समातेर लग्यो भने पछि ब्यारेक जाँदा पनि पत्ता लागेन ।
राधिका सिम्खडा


सशस्त्र द्वन्द्वमा देशभरीबाट १७ हजारले ज्यान गुमाए भने हजारौं अंगभंग छन् । राज्यले अझै बेपत्ता र घाइतेको यकीन संख्या पत्ता लगाउन सकेको छैन । पोखरा २४ कास्कीकोटका शालिग्राम पौडेल ७५ वर्ष लागे । २०५६ मंसिर २६ स्कुल गएका छोरा हरिप्रसाद पौडेल बेपत्ता भए । हरिलाई पामबजारबाट आर्मीले गिरफ्तार गरेको शालिग्राम बताउँछन् । उनी भन्छन्, ‘खोइ छोराले के गर्थे थाहा छैन । तर, कसैले केही सुराकी लगाइदियो । पढ्न गएको छोरालाई बेपत्ता पारियो ।’


कान्छा हरिलाई पक्राउ गरेपछि जेठा गोविन्दलाई पनि पोखरा १४ मा स्कुलमा पढाउँदै गर्दै गिरफ्तार गरियो । गोविन्दलाई भने सुरक्षा टोलीले पाम बजार लगेर कुटपटि गरेर छाडे । गोन्दि अहिले अपांग छन् । ‘छोरा खोज्न कहाँ पुगिनँ, सबैतिर धाएँ । कसलाई, के मतलब मेरो छोरा हराएको,’ शालिग्रामको सवाल छ, ‘कि मलाई सास चाहियो, कि लास । तर, अहिले सुन्छु । राहत दिएर द्वन्द्वका बेला बेपत्ता परिएकालाई घटना सामसुम पारिँदै छ रे । हामीलाई राहत चाहिएको होइन, छोराको सास कि लास चाहियो ।’


‘राज्य मूकदर्शक बन्यो’
पोखरामा मंगलबार संक्रमणकालीन न्याय र पीडितको आवाजको विषयमा अन्तक्र्रिया भएको छ । ‘बलपूर्वक बेपत्ता पारिने विरुद्धको १३ औं अन्तर्राष्ट्रिय दिवस २०८० मा जान्न पाउने अधिकार विषयमा छलफल भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी, नेपाल रेडक्रस सोसाइटी कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की लगायतका १२ संस्थाले कार्यक्रम आयोजना गरेका हुन् ।


कार्यक्रममा गण्डकी प्रदेशकी समाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले न्यायका लागि सहिद र बेपत्ता परिवार एकै ठाउमा उभिनुपर्ने बताइन् । ‘पीडित परिवारलाई कसरी राहात दिन सकिन्छ भनेर सरकार लागेको छ,’ उनले भनिन् । बेपत्ता परिवार समाज कास्की अध्यक्ष अणनाथ बरालले आगामी वर्ष अन्तर्राष्ट्रिय बेपत्ता विरूद्धको दिवस मनाउनु नपर्ने गरी सरकारले बेपत्ताको विषयलाई सम्बोधन गर्नुपर्ने माग गरे ।

पढ्न गएको छोरालाई बेपत्ता पारियो । पर्वत पुर्‍याएर सेनाले मार्‍यो पनि भन्छन् । तर, अझै लास भने भेटिएको छैन ।
शालिग्राम पौडेल


विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको ६ महिनामा सार्वजनिक गर्ने उल्लेख थियो । राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएकाको छानबिन गर्न गठित आयोग आफैंमा रुमलिएको र पीडित पक्षको गुनासो सम्बोधन गर्न नसकेको सरोकारवालाहरुले गुनासो गरे । घरको मुख्य कमाउने व्यक्ति बेपत्ता हुँदा आश्रित परिवारको बिचल्ली छ । कमाउने छोराछोरी मारिएपछि राज्यले उनीहरूको संरक्षण, रोजगारी, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्ने गैर सरकारी संस्था गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्का बताउँछन् ।


पूर्व संविधान सभा सदस्य तेजकुमारी पौडेलले राज्यले उचित कानुन बनाएर बेपत्ताको खाउमा मलमपट्टी लगाउनुपर्ने विचार राखिन् । उनी भन्छिन्, ‘सबै परिवर्तन एकै पटक आएका होइन् । परिवर्तन विस्तार आउँछ । अब बेपत्ताको खोजी गर्दै सरकार अगाडि बढ्नुपर्छ ।’


कार्यक्रममा संक्रमणकालीन न्यायको अवस्थाबारे एड्भोकेसी फोरम नेपाल गण्डकी प्रदेश संयोगक अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ले कार्यपत्र पेश गरिन् । उनले गण्डकी प्रदेश सरकारले द्वन्द्व पीडितका परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा समेटेको जनाइन् । राष्ट्रिय मानव अधिकार एलाइन्स गण्डकीका अधिकृत टंक खनालले पीडितलाई न्याय दिने आश जगाउने गरी सरकारले काम गर्नुपर्ने बताए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयबाट दीपक घिमिरे, रेडक्रस सोसाइटी कास्कीका डोलराज पाण्डे, जिल्ला समन्वय समिति कास्की संयोजक लीलाधर पौडेल, इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेल लगायतले बोलेका थिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया