कांग्रेस कास्कीकी नेतृ निर्मला बैकिङ कसुरमा पक्राउ

समाधान संवाददाता २०८० भदौ १७ गते १६:४०

पोखरा
नेपाली कांग्रेस कास्कीका कार्यसमिति सदस्य निर्मला कार्की भण्डारी बैकिङ कसुरको मुद्धामा पक्राउ परेकी छन् । उनलाई कास्की प्रहरीले भदौ १२ गते पक्राउ गरेको हो ।

बैकिङ कसुरको मुद्धामा भण्डारीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर लामाले जानकारी दिए ।


‘उहाँलाई बैकिङ कसुरमा भदौ १२ गते पक्राउ गरिएको हो । अहिले ५ दिनको म्याद थप गर्दै अनुसन्धान भइरहेको छ,’ उनले भने । श्राेतका अनुसार बैंककाे चेक अनादार (बाउन्स) केसमा उनी पक्राउ परेकी हुन् । तथापी कास्की प्रहरीले विस्तृतमा जानकारी दिन चाहेन ।

Advertisement

उनी विरुद्ध कसले उजुरी दिएकाे हाे र कति रकमकाे चेक बाउन्स भएकाे भन्ने कुरा पनि प्रहरीले बताउन चाहेन । एसपी अजय केसीकाे सरुवा भएपछि कास्की प्रहरीकाे निमत्त प्रमुखको जिम्मेवारी डिएसपी श्रवणकुमार विकले पाएका छन् ।

कास्की प्रहरीका सूचना अधिकारी समेत रहेका डीएसपी विकले आफू निमित्त प्रहरी प्रमुख रहेको भन्दै सूचना दिनबाट पन्छिए । उनले निमित्त सूचना अधिकारीलाई बुझ्न आग्रह गरे । ‘म अहिले सूचना अधिकारीको जिम्मेवारीमा छैन । जिम्मेवारीमा भएका साथीलाई फोन गरेर बुझ्नुस् न,’ उनले समाधानसँग भने । निमित्त सूचना अधिकारी लामाले आफू कार्यालय बाहिर रहेको भन्दै पूर्ण सूचना दिन आनाकानी गरे ।

Advertisement

कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जिल्ला कार्यसमिति सदस्य भण्डारीको पक्राउ परेको बारेमा आफू जानकारी नभएको प्रतिक्रिया दिए । उनले भने, ‘उहाँ कार्यसमिति सदस्य हो । तर, पक्राउ पर्नुभएको भन्ने कुरा चाहिँ थाहा भएन । कतैबाट जानकारी आएको छैन ।’

तपाईको प्रतिक्रिया