कास्कीकोटमा साढे ५०० वर्ष पुरानो ‘दहीको होली’ संस्कृति

रिखिराम जिसी २०८० भदौ २२ गते ११:०६

पोखरा ।
बिहीबार बिहानै उनीहरु भारदारी चौतारीमा दही ल्याएर आए । दही चौतारीमा राखिएको भाँडोमा जम्मा गरे । त्यसपछि पूजापाठ भयो । त्रिपाठी, रानामगर, दुवाडी र अधिकारीले पूजाआजा गरे ।


पूजाआजापछि पुजारीहरु एकआपसमा दहीले होली खेल्न थाले । त्यसपछि विस्तारै उनीहरुले उपस्थित भएका सबैसँग दहीको होली खेले । उनीहरु एकआपसमा छापाछाप गरे । जात्रामा सहभागीहरुले एकअर्कालाई टाउको, अनुहार र शरीरमा दही दलिदिए ।


त्यसपछि श्रीकृष्णलाई रथारोहण गरे । श्रीकृष्णलाई क्षेत्रपाल, चण्डी, वराहा, बहासा, मनकान्छीमा दही छर्कंदै, पूजाआजा गर्दै करिब २ किलोमिटरको यात्रा रथारोहण गर्दै बासपानी कालिका मन्दिरमा विसर्जन भयो । विभिन्न सांस्कृतिक झाँकी, बाजागाजा सहित रथारोहण निकालिएको थियो ।

Advertisement

सम्पदा संरक्षण मञ्च कास्कीकोट र स्थानीयले दही जात्रा आयोजना गरेका थिए ।


श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट परापूर्व कालदेखि नै पोखरा २४ कास्कीकोटमा दही जात्रा हुँदै आएको छ । सोहीअनुसार बिहीबार पनि दहीको होली खेलेर दही जात्रा मनाएका हुन् । सम्पदा संरक्षण मञ्च कास्कीकोट र स्थानीयले दही जात्रा आयोजना गरेका थिए ।

Advertisement


परापूर्वकालदेखि कास्कीकोटमा दही जात्रा मनाउँदै आएको गुप्तकालिका कश्यप धार्मिक क्षेत्र विकास समितिमा सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए । ‘यो परापूर्वकालदेखि सुरु भएको हो, १५२४ सालअघिबाट सुरु भएको इतिहासबाट सुन्न सकिन्छ । अहिले पनि यो जात्रा चलिरहन्छ,’ उनले भने । नेपालका शाह राजाहरुको उद्गम थलो कास्कीकोटमा तत्कालीन राजाहरुको दरबार अझै छ । त्यसैले पनि ऐतिहासिक कास्कीकोटमा शाह राजाहरुकालीन अरु सांस्कृतिक परम्परा पनि अझै जीवित रहेको त्रिपाठी बताउँछन् ।


पहिलेभन्दा अचेल दही जात्रामा जनसहभागिता कम भएको सचिव त्रिपाठीले सुनाए । ‘पहिलेपहिले त धेरै टाढाटाढाबाट आउँथे, पछिल्लो समय सबैको घरमा भैंसी पनि नहुने भयो,’ उनले भने, ‘पहिला आफूले ल्याएको दही केही लुकाएर पूजा गरिसकेपछि आफैआफै होली खेल्थे । अहिले त्योचाहिँ केही कमी भएको छ ।’ परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ जात्रा आयोजना गरिएको त्रिपाठीले सुनाए ।


यो जात्रालाई संरक्षण गर्न वडाले सहयोग गरिरहेको वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी सुनाए । ‘हामीले अघिल्लो वर्ष यो जात्रालाई संरक्षण संवद्र्धन गर्न आर्थिक सहयोग गरेका थियौं, यसपालि पनि सहयोग गरेका छौं । यसलाई संरक्षण र प्रचारप्रसार गर्नु हाम्रो दायित्व हो । यसलाई हामी संरक्षण गर्छौं,’ उनले भने ।


परापूर्वककालदेखि चल्दै आएको दही जात्रा युवा पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको स्थानीय धनबहादुर नेपालीले बताए । ‘झन्पछि झन् जात्रामा जनसहभागिता कम हुँदै गएको छ । युवाको सहभागिता जात्रामा एकदमै कम हुन्छ । युवालाई पुस्ता हस्तान्तरण गर्नु जरुरी छ,’ उनले भने ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया