पाेखराका सबै ताललाई जाेड्ने साइकल ट्रयाक बन्ने

लेक टु लेक प्रोजेक्टमा ९ ताल र १८ वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक

समाधान संवाददाता २०८० भदौ ३१ गते १२:०१

पोखरा ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र एसियाली विकास बैंकका कार्यकारी निर्देशक वान फरिसन बिन वान सुलेमान नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ । भेटमा एडिबीको सहयोगमा सञ्चालित सहरी पूर्वाधार र जीवन सुधार परियोजनासहित पोखराको दिगो पर्यटन विकासका सम्भावना लगायत विषयमा छलफल भएको छ ।

एडिबीको सहयोगमा लेक टु लेक साइकल ट्रयाक र फेवाताल सुधार परियोजनासमेत सञ्चालन हुँदै छ । यो परियोजनामा ९ ताल र १८ वटा वडालाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्रयाक निर्माण हुनेछ ।

Advertisement

अहिले एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजना अन्तर्गत सडक सुरक्षा उपायहरूको योजनासहित विद्यमान सडक र ढलको स्तरोन्नति भइरहेको छ । यस्तै, सहिद चोक तीनकुने राधाकृष्ण मार्ग एसओएस घले चोक हरियो खर्क पिआइए ८.८ किलोमिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि ५.३४ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।

पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजना अन्तर्गत दमदमेदेखि भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्र, भन्ज्याङदेखि पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधासहितका सर्भिस प्वाइन्टहरू स्थापना, होमस्टेको एकीकृत प्रवद्र्धन योजना र गुरुङ संग्रहालय संरक्षणका लागि ३.०५ मिलियन अमेरिकी डलर खर्च हुनेछ । पञ्चासेमा सयभन्दा बढी प्रजातिका सुनाखरी छन् । यो संरक्षित वन क्षेत्रसमेत हो ।

Advertisement

फेवाताल सुधार परियोजना अन्तर्गत बसाइ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्सन बोर्ड, साइकल पार्किङ, सर्भिस पोइन्टसहित साइकल स्ट्यान्डहरू निर्माण गरिनेछ । यसमा ३.०५ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान छ ।

रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजना अन्तर्गत ड्यामसाइडबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृत रूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना छ । इको रुटमा विश्रामस्थल, शौचालय, धारा, मन्दिर जीर्णाेद्वार, सूचना बोर्ड लगायत सार्वजनिक सुविधा हुने छन् । यो परियोजनामा ५.६३ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।

एडिबीकै सहयोगमा शान्ति वन बाटिका बोटानिकल गार्डेन निर्माण हुनेछ । अहिलेको वन क्षेत्रलाई हरियाली केन्द्रको रूपमा विकास र स्तरोन्नति गरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । जहाँ जडीबुटी बगैँचा, पैदल मार्ग, टिकट काउन्टर, विश्राम स्थल, पिकनिक सेड, ध्यान केन्द्र, कम्पाउन्ड वाल, फेन्सिङ, एप्रोच रोड लगायतका पूर्वाधार बनाइने छन् ।

अर्काे परियोजनामा पोखराको पुरानो सम्पदा संरक्षणसँग जोडिएको छ । वडा नम्बर २, ३, ४ मा रहेका पुराना शैलीका कलात्मक भवन तथा मन्दिर संरक्षणका लागि यो परियोजना लागु गरिनेछ । रामकृष्ण टोललाई पोखरा हेरिटेज साइटका रूपमा विकास गर्ने योजना छ । पुरानो पोखराको सहरी पुनरुत्थानसहित सिद्धार्थचोकदेखि विन्ध्यवासिनीसम्म १.५ किमी सडक स्तरोन्नति र फुटपाथ निर्माण हुनेछ । यसका लागि एडिबीले १.९८ मिलियन अमेरिकी डलर लगानी गर्ने छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्मको सडक स्तरोन्नतिका लागि प्राविधिक, वातावरणीय र आर्थिक सम्भाव्यता प्रतिवेदन तयार भएको छ । यस परियोजनाका लागि डिएससिएस खरिदका लागि टिओआरको तयारी हुँदै छ । यसमा २ मिलियन अमेरिकी डलर खर्च हुनेछ ।

छलफलमा मेयर आचार्यले परियोजनाहरू तोकिएकै समयमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको जनाए । टोलीमा एडिबीका कार्यकारी निर्देशक सुलेमानसहित निर्देशक सल्लाहकार म्याथ्यु सुलिभान र। भीमकान्त न्यौपाने र सहरी विकास विज्ञ शिव पौडेल थिए । परियोजनामा एडिबीले ७५ प्रतिशत र पोखरा महानगरपालिकाले २५ प्रतिशत लगानी गर्ने छन् ।

तपाईको प्रतिक्रिया