‘ल्यान्ड ह्वेर आई फ्ली’ नेपालीभाषीका लागि मेरो प्रेमपत्र हो

वसन्त पहारी २०८० असोज ३ गते ११:२६

‘द गुर्खाज डटर’ कथा संग्रह र ‘ल्यान्ड ह्वेर आई फ्ली’ उपन्यासका लेखक प्रज्वल पराजुली केहीअघि नेपाल भ्रमणमा थिए । ‘ल्यान्ड ह्वेर आई फ्ली’ नेपालीमा ‘चित्रलेखाको चौरासी’ शीर्षकमा अनुवाद भएपछि सिक्किमका नेपालीभाषी लेखक पराजुली नेपालका पाठकहरुसँगको अन्तक्र्रियामा व्यस्त भए । पब्लिकेसन नेपालयले बजारमा ल्याएको उनको किताबको अनुवाद विभु लुइँटेलले गरेकी हुन् । यसअघिको उनको कथा संग्रह ‘द गुर्खाज डटर’ पनि नेपालयले नै ‘गोर्खाकी छोरीः कथाहरु’ शीर्षकमा बजारमा ल्याइसकेको छ । नेपाल यात्राका क्रममा पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा मानविकी संकायमा पत्रकारिता पढिरहेकाका विद्यार्थीहरु माझ उनले आफ्नो लेखन अनुभव साटे । सोही कलेजका पत्रकारिताका विद्यार्थी वसन्त पहारीले पराजुलीसँग गरेको कुराकानी मुख्य अंशः


अनुवादित किताबमा अनुवादकको भूमिका र योगदान कति महत्वपूर्ण हुन्छ ? त्यहाँ लेखक र अनुवादकको उपस्थिति कतिकति हुन्छ ?
नेपाली अनुवादमा मेरो खासै केही भूमिका भएन । झन् भाषामा त केही पनि थिएन । मैले ओरिजिनल्ली अंग्रेजीमा लेखेँ । विभिन्न भाषामा अनुवाद गर्दा लेखक र अनुवादकबिच फरकखालको सहकार्य हुन्छ । मेरो नेपाली अनुवादक विभु लुइँटेल नेपाल र अंग्रेजी दुवै भाषामा दख्खल राख्ने भएकाले हामी दुईबिच धेरै कुराकानी आवश्यक भएन । नेपालय प्रकाशन र त्यहाँका सम्पादकहरुसँग मिलेर उहाँले उत्कृष्ट काम गर्नुभयो ।

ओडिया (भारतको उडिसामा बोलिने भाषा) अनुवादमा पनि धेरै कुराहरु भएनन् । तर फेरि फ्रेन्च अनुवादकले भने बेलाबेला इमेल गरी राख्नुहुन्थ्यो । उहाँ नेपाली संस्कृतिसँग भिजे पनि अनुवाद गर्दा कति कुराको अनर्थ नलागोस् भनेर सचेत हुनुहुन्थ्यो । त्यो हिसाबले मसँग सधैं सम्पर्कमा बसिरहनुहुन्थ्यो । कुनै अनुवादमा सहयोग गर्नुपर्छ । कुनैमा पर्दैन । भाषा र परिस्थितिहरु अनुसार फरक हुन्छ ।

Advertisement


नेपाली अनुवादबाट कत्तिको चित्त बुझ्यो ?
एकदमै खुसी छु । निकै नै उत्तम अनुवाद । म नेपालीभाषी भएकाले पनि होला, म मेरो उपन्यासको नेपाली अनुवाद पढेर खित्खित् हाँस्दै बस्छु । मैले त यही कुरा सोचेर लेखेको थिएँ । अनुवादकले पनि त्यही भावना बुझेर भाषा संयोजन गरेकाले निकै खुसी छु । ‘ल्यान्ड ह्वेर आई फ्ली’ नेपालीभाषीहरुको लागि मेरो प्रेमपत्र हो । झन् यो प्रेमपत्र नेपालीमा अनुवाद भएर आउँदा निकै नै गौरवान्वित भएको छु ।


सिक्किम, दार्जिलिङबाट नेपाली कला, साहित्य संगीतमा राम्रो प्रतिनिधित्व रहँदै आएको छ । नेपालीहरुले पनि त्यहाँको साहित्यलाई उत्तिकै मन पराएका छन् । नेपाली पाठकप्रति तपाईंहरु के सोच्नुहुन्छ ?
लेखकको रुपमा हेर्दा, नेपालीहरुले मलाई जति माया दिनुभएको छ, जति मेरो किताबप्रति उत्साहित हुनुहुन्छ, त्यो एकदमै खुसीको कुरा हो । सिक्किम, दार्जिलिङमा बस्ने ७०/८० प्रतिशत मानिसहरु नेपालीभाषी भएकाले नेपालको साहित्यसँग निकै नै राम्रो लगाव छ ।

Advertisement


म पहिले सुरुमा सन् २०१२ तिर काठमाडौं आउँदा, नेपाली पाठकहरु कति उत्साहित हुनुहँुदोरहेछ भन्ने कुरा थाहा पाएँ । मलाई त नेपाली पाठकहरुले त्यति धेरै पढ्नुहुन्छ जस्तो लाग्थेन । तर म त गलत पो रहेछु । भर्खरै मलाई क्यानडाबाट तपाईंको अनुवादित किताब कसरी किन्ने भनेर सोधिरहनुभएको थियो । यस्तो कुराले म निकै नै आभारी र कृतज्ञ महसुस गर्छु । केही समयअघि सक्किएको रियालिटी सो पोएट आइडलको विजेता नीलम गुरुङ पनि सिक्किमकै हुनुहुन्थ्यो । यसले दार्जिलिङ, सिक्किमतिर साहित्यको दायरा बढिरहेको देखाउँछ ।


सन् २०१२ र २०२३ मा नेपाली पठन संस्कृतिमा के फरक पाउनुभयो ?
म योचोटिको नेपाल भ्रमणमा चितवन र हेटौंडा गएँ । त्यहाँको साहित्यिक माहोल देखेर म त छक्कै परेँ । अझ नेपालमा कविता टुर÷कविता कन्सर्ट हुन्छ भन्दा त म झनै छक्क परेँ । कवितामा धेरै पैसा नभएकाले पश्चिमा देशहरुमा यस्तो कविता टुरहरुलाई महत्व दिएका हुँदैनन् ।


२०१२ मा म अंग्रेजी किताबका लागि काठमाडाैं आएको थिएँ । योचोटि नेपालीका लागि । कतिजना जो अंग्रेजीमा पढ्न सहज महसुस गर्नुहुन्न, उहाँहरुले भनिरहनुहुन्थ्यो कि हजुरको उपन्यास नेपालीमा कहिले आउँछ ? ढिलै नै भएपनि, त्यो प्रश्नको जवाफ पाठकहरुले पाउनुभएको छ । प्रकाशक नेपालय र अनुवादक विभु लुइँटेलले पाठकहरुको इच्छा पूरा गर्नुभएको छ ।


पाठकहरुको प्रतिक्रिया कस्तो छ ?
मलाई त कहिलेकाहीँ नेपालीमा अनुवाद आएर झमेलामा परेँ झै पो लाग्छ । (हाँस्दै) एक दशकपछि अनुवाद आयो । पाठकहरुले उपन्यासका पात्रहरुलाई यसरी अगाँल्नुभएछ कि चित्रलेखा जिउँदै हुनुहुन्छ कि नाई ?, उहाँका नातिनातिनीहरुले अहिले के गर्दै छन् ?, किताबको भाग २ कहिले आउँछ ? पनि सोधिरहनु हुन्छ । पाठकहरुको यस्तो लगावले गर्दा मैले लेखन पेसा एकदमै सही पेसा रोजेजस्तो लाग्छ ।


आजकल धेरै लेखकका कृतिहरुको अनुवाद आउन थालेको छ । किताबहरु अनुवाद हुनु कत्तिको जरुरी छ ?
आजको दिनमा अनुवाद भनेपछि पुरै दुनियाँ उत्साहित छ । अझ भनाैं सकारात्मक छ । गीताञ्जली श्रीको रेत समाधि हिन्दीमा लेखिएको उपन्यास अंग्रेजीमा अनुवाद भयो । अनि विश्वकै उत्कृष्ट पुरस्कार पायो । यो कुराले गर्दा पनि विश्वव्यापी रुपमा अनुवादले ध्यान खिच्यो । अहिले पनि मलाई अनुवादको प्रस्ताव आउँछन् । नेपाली कुनै किताब अंग्रेजीमा अनुवाद गर्दा हुन्छ नि भनेर सुझाव आइरहन्छन् । म भने अरुलाई सिफारिस गरिदिन्छु ।

आजकल विभिन्न विश्वविद्यालयहरुले अनुवादका लागि अनुदान दिन थालेका छन् । एकजना मुना गुरुङ हुनुहुन्छ । मेरो विचारमा उहाँ नेपाली साहित्यको उत्कृष्टमध्ये एक लेखक हुनुहुन्छ । उहाँ अहिले नेपाली कविताहरुलाई अंग्रेजीमा अनुवाद गर्न लागि पर्नुभएको छ । अहिले अनुवादमा राम्रो अवसरहरु छन् । ५ वर्षअघि भन्दा अहिले निकै नै राम्रो वातावरण पनि छ ।


किताबका कुराहरु गर्न धेरै ठाउँ पुग्नुभएको छ । अन्तर्राष्ट्रिय रुपमा कस्तो प्रतिक्रया आइरहेको हुन्छ ?
म किताबकै कुरा गर्न विश्वका १५० भन्दा बढी साहित्यिक मेला, महोत्सव, कार्यक्रम, मञ्चहरुमा पुगिसकेको छु । विभिन्न देश पुग्दा बेग्लाबेग्लै प्रतिक्रिया पाइरहेको हुन्छु । सबैजनालाई मन पर्छ भन्ने हुँदैन । तर मलाई ९५ प्रतिशतभन्दा बढीले हजुरको पुस्तक राम्रो छ भन्ने प्रतिक्रिया दिएका छन् । दक्षिण एसियामा मेरो कथा संग्रह ‘द गुर्खाज डटर’ले राम्रो गर्‍यो ।

सायद नामको कारणले पनि हुन सक्छ । पश्चिमा देशहरुमा मेरो उपन्यास ‘ल्यान्ड ह्वेर आई फ्ली’ले राम्रो गरेको छ । पश्चिमा पाठकले चौरासीऔं जन्मदिन मनाउने विचार गरेको छु पनि भन्नुभएको छ । हाम्रो पश्चिमा संस्कृतिमा पनि यस्तै चौरासी पूजा भइदिए राम्रो हुन्थ्यो भन्ने पाठक पनि भेटेको छु ।


साहित्यिक महोत्सवको संख्या निकै नै बढ्दै गएको छ । कसरी हेर्नुभएको छ ?
साहित्यसँग जोडिएर चर्चापरिचर्चा, छलफल, वादविवाद हुनु निकै नै राम्रो कुरा हो । जति कुरा ग¥यो त्यति राम्रो हो । भारतको अहिले हरेक सहरमा साहित्य महोत्सव हुन थालेको छ । कुनैमा भएको छैन भने म अचम्मित हुन्छु । नेपालमा पनि पहिले काठमाडौँमा मात्र सीमित हुन्थ्यो । आजकल काठमाडौँ बाहिर पनि हुन थालेको छ ।

म आफैं पनि वक्ताको रुपमा सन् २०१८ को नेपाल लिटरेचर फेस्टिभलमा पोखरा आएको थिएँ । मोफसलमा कार्यक्रम हुनु जरुरी छ । तब पो पाठक लेखकको अन्तत्र्रिmया अझै विस्तृत रुपमा हुन्छ । सुधार गर्नुपर्ने कुराहरु पनि धेरै छन् । समयमा सुरु नहुने, धेरै छलफल एकै समयमा हुदा सबै ठाँउमा सहभागी हुनु नमिल्ने, विषय छनोट लगायत समस्याहरु छन् ।


नयाँ प्रोजेक्ट केही गर्दै हुनुहुन्छ ?
फिक्सन धेरै लेखेँ । अब ननफिक्सन तिर लाग्ने कि सोच्दै छु । घुम्न र ट्रेकिङमा मेरो निकै नै रुचि छ । त्यसबाट प्रेरित भएर केही लेख्ने विचार गरिरहेको छु ।

वसन्त पहारी

सामाजिक कार्यमा सक्रिय पहारी लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर पोखरा गैरापाटनमा पत्रकारिता पढिरहेका छन् । 

तपाईको प्रतिक्रिया