हाम्रा मन्त्री कति धनी ?

रिखिराम जिसी २०८० असोज ७ गते १४:२७

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आर्थिक पारदर्शिताका लागि सार्वजनिक निकायका पदाधिकारीको सम्पत्ति विवरण ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भए पनि त्यो समय सीमा तोडेर सम्पति विवरण सार्वजनिक भएको हो ।

सरकारको नेतृत्व सम्हालेको करिब ५ महिनापछि बिहीबार पाण्डे नेतृत्वको सरकारले सम्पत्ति विवरण मुख्यमन्त्री कार्यालयको आधिकारिक वेबसाइट ओसिएमसिएम डट गण्डकी डट जिओभी डक एनपीमार्फत सार्वजनिक भएको हो ।


वैशाख १४ गते कांग्रेस, माओवादी र एकीकृत समाजवादीको संयुक्त गठबन्धनमा मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार गठन भएको थियो । सपथ दिएको भोलिपल्टै वैशाख १५ मुख्यमन्त्री पाण्डेले २ जनालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए । सरकारको नेतृत्व लिएको ७ दिनपछि प्रदेश सभाबाट विश्वासको लिएका पाण्डेले वैशाख २९ गते दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरे । सोही दिन मुख्यमन्त्री पाण्डेले थप ४ जनालाई सहभागी गराउँदै मन्त्रिमण्डललाई पूर्णता दिएका थिए ।

Advertisement


पाण्डे नेतृत्व सरकारमा सुशीला सिंखडा, सरस्वती अर्याल, महेन्द्रध्वज जिसी, रेशमबहादुर जुग्जालीमगर, जीतप्रकाश आले र दीपेन्द्रबहादुर थापा मन्त्री छन् । सिम्खडा सामाजिक विकास, अर्याल ऊर्जा जलस्रोत तथा खानेपानी, जिसी कृषि तथा भूमि व्यवस्था, जुग्जाली भौतिक पूर्वाधार विकास, आले आर्थिक मामिला र थापा उद्योग, पर्यटन, वन मन्त्रीको जिम्मेवारीमा छन् । सिम्खडा र जुग्जाली माओवादी कोटाबाट मन्त्री बनेका हुन् । अन्य सबै मन्त्री कांग्रेस कोटाबाट बनेका हुन् ।

मुख्यमन्त्री पाण्डेसँग एभरेस्ट बैंकमा २४ लाख ९६ हजार, श्रीमती बिना पाण्डेको नाममा प्रभु बैंकमा ६० लाख बचत

Advertisement


मुख्यमन्त्रीसँग हीरा २ सेट एक सेट मोती
सार्वजनिक भएको विवरणअनुसार मुख्यमन्त्री पाण्डेसँग २ सेट हीरा र एक सेट मोती छ । उनीसँग चाँदी ५ सय, सुन ४२ तोला रहेको उल्लेख छ । जग्गा बेचेर हीरा किनेको सम्पति विवरणमा खुलाएका छन् । पाण्डेसँग काठमाडौं महानगरपालिका–३ मा ९ आना २ दाम क्षेत्रफलमा बनेको घर रहेको छ । त्यो घर पैतृक सम्पति भएको उल्लेख गरेका छन् । गोरखामा ५ रोपनी १० आना १ दाम जग्गा र घर पनि सम्पत्ति पैतृक उल्लेख गरेका छन् ।


मुख्यमन्त्री पाण्डले राष्ट्रिय वाणिज्य बैंकबाट २३ लाख ऋण लिएको उल्लेख गरेका छन् । उनकी श्रीमतीको नाममा ३२ लाखको स्कारपियो छ । एभरेस्ट बैंकमा आफ्नो २४ लाख ९६ हजार नगद मौज्दात, श्रीमती बिना पाण्डेसँग प्रभु बैंकमा मुद्दती खातामा ६० लाख नगद र छोरा सुयोग्यराज पाण्डेको नाममा ग्लोबल आइएमईमा १ लाख ५६ हजार मौज्दात रहेको मुख्यमन्त्री पाण्डेले लेखेका छन् । श्रीमतीको नामको ६० लाख रुपैयाँको स्रोत तलब तथा उपदान छ ।


अर्थमन्त्रीसँग एकनाले बन्दुक
आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले सम्पत्ति विवरणमा एकनाले १२ बोरको बन्दुक रहेको उल्लेख गरेका छन् । २०५४ भदौ ८ गते स्वआर्जनबाट ३३ हजारमा बन्दुक खरिद गरेको उनले खुलाएका छन् । तनहुँकै भीमादमा २५ कित्तामा जग्गा छ । सगोलमा वडा ५ मा नै ५ कित्तामा जग्गा छ । कामना सहकारीमा ३ लाख र कृषि विकास बैंकमा ३३ सय सेयर रहेको उल्लेख गरेका छन् ।


पैतृक रूपमा तनहुँको ६ रोपनी १० आनामा फैलिएको निजी वन रहेको खुलाएका छन् । पैतृकरूपमा २०५४ सालमा आफूले यो वन पाएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । पैतृक सम्पतिकै रूपमा २१ तोला सुन र २७ तोला चाँदी रहँदा ३४ लाख ७० हजार रुपैयाँ बैंकबाट ऋण लिएको उनले उल्लेख गरेका छन् ।


यातायात मन्त्रीसँग स्काभेटर
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले स्काभेटर र ट्याक्टर रहेको उल्लेख गरेका छन् । एउटा आफ्नै नाममा ११ आनामा बनेको एकतले ५ कोठाको पक्की घर बताएका छन् । ९५ लाखको स्काभेटरमा मन्त्री जुग्जालीले २० लाख लगानी गरेका छन् । २०७५ सालमा २३ लाख रुपैयाँमा ट्याक्टर र ०७४ मा ३ लाख ७० हजार रुपैयाँमा मोटरसाइकल खरिद गरेका उनले उल्लेख गरेका छन् । मालिकामै मन्त्री जुग्जालीको नाममा १५ रोपनी जग्गा र बाबु खड्गबहादुर जुग्जालीको नाममा ३५ रोपनी जग्गा छ ।


मन्त्री जुग्जालीले आफूसँग ७ तोला सुन, गरिमा विकास बैंकमा व्यवसाय र तलबबाट ६ लाख ४० हजार र प्रभु बैंकमा ५० हजार व्यवसायबाट प्राप्त रकम जम्मा गरेको उल्लेख गरेका छन् । जुग्जालीले हाइड्रो एम्पाएर प्रालिमा २५ लाखको सेयर ऋणमा खरिद गरेका छन् । ६० लाख ऋण छ । एकसय ५० वटा सुन्तलाको बोट र बाबु खड्ग जुग्जालीको नाममा रहेको उक्त सुन्तलाबारीबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी भइरहेको उनले खुलाएका छन् ।


वनमन्त्रीसँग दुईवटा भैँसी
उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले एक लाख ६० हजारमा किनेका दुइटा भैँसी रहेको उल्लेख गरेका छन् । उनले ४ लाख ५० हजार रुपैयाँमा रसियन बेलारुसी ट्याक्टर र पिकअप गाडी ११ लाख ५० हजार खरिद गरेका छन् । थापाले कास्कीमा ५० लाख र ६० लाख रुपैयाँमा २ कित्ता जग्गा खरिद गरेका छन् । थापासँग १७ तोला सुन, २ केजी चाँदी छ ।

२ लाख २५ हजार नगद मौज्दात देखाएका थापाले विभिन्न कम्पनीमा व्यापार नोकरीबाट १४ लाख ६६ हजार रुपैयाँ सेयर रहेको खुलाएका छन् । थापाले ३७ लाख रुपैयाँ ऋण लिएको देखाएका छन् । थापाको बागलुङ नगरपालिका–३ मा घरजग्गा छ । अंशबन्डा नभएको पैतृक सम्पतिका रूपमा बागलुङ ११ मा ५ कित्तामा करिब ११ लाखमा व्यवसायबाट आएको रकमबाट खरिद गरेको थापाले उल्लेख गरेका छन् ।


मन्त्री सिम्खडाको जुम्लामा सम्पत्ति
सामाजिक विकासमन्त्री सुशीला सिम्खडासँग श्रीमानको नाममा जुम्लामा सम्पत्ति रहेको उल्लेख छ । श्रीमान् जनकबहादुर बुढाको नाममा जुम्ला तातोपानी गाउँपालिका–२ मा पुख्र्याैली सम्पत्ति छ । बैंकमा १ लाख ७० हजार मौज्दात र वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ६ लाख ७५ हजार रुपैयाँ ऋण दिएको उल्लेख छ ।

१० लाख बराबरको विभिन्न कम्पनीको सेयर र २६ हजारको मोबाइल र ७ हजारको घडी किनेको खुलाएकी छन् । सिम्खडाको ललितपुरको गोदावरीमा ६०४ वर्ग मिटर जग्गा र नवलपुरको गैँडाकोटमा १५ लाख रुपैयाँमा खरिद गरेको ६ हजार ३९५ वर्ग मिटर जग्गा छ ।


ऊर्जामन्त्रीसँग ९५ लाख रुपैयाँ ऋण
जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले ९५ लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेकी छन् । उनले एउटा स्कुटर र श्रीमानको नाममा एउटा मोटरसाइकल रहेको उल्लेख छ । स्याङ्जा वालिङमा पुख्र्यौली घरजग्गा देखाएकी छन् । परिवारका सदस्यहरूको नाममा २७ वटा कित्तामा जग्गा छ । २ लाख ८५ हजार बराबरको विभिन्न सहकारी, रेडियो, जलविद्युत् आयोजनामा सेयर छ । अर्यालले २३ लाख नगद, २२ तोला सुन, ४० तोला चाँदी र तलबभत्ता सापटी गरेर परिवारका नाममा ३ लाख ५७ हजार मौज्दात रहेको उनले उल्लेख गरेकी छन् ।


कृषिमन्त्रीसँग ट्याक्टर
कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले स्वार्जनबाट खरिद गरेको ट्याक्टर रहेको उल्लेख छ । नवलपुरमा १ रोपनी ७ आना १५ दाम जग्गा र साढे २ तलाको घर र १३ कित्तामा ५ हजार २१ दशमलव ५४ वर्गमिटरभन्दा धेरै पैतृक जग्गा रहेको जिसीले उल्लेख गरेका छन् । पैतृक रुपमा ४० तोला सुन र २० तोला चाँदी रहेको उनले लेखेका छन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया