डाक्टर सडकमा, मृतकका आफन्त चक्काजाम गर्दै

रिखिराम जिसी २०८० असोज ११ गते ११:०४

पोखरा ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा सोमबार डाक्टरमाथि कुटपिटपछि सिर्जित परिस्थिति उत्कर्षमा पुगेको छ । पोखराका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गराएर स्वास्थ्यकर्मीहरु विरोध प्रदर्शन उत्रिएका छन् भने मृतकका आफन्तले पनि बुधबार विरोध प्रदर्शन गरे ।


लमजुङको सुन्दरबजार नगरपालिका ७ की ५७ वर्षीया सुकमाया दुराको मणिपालमा उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएपछि पोखरा अशान्त छ । आइतबार अस्पताल भर्ना भएकी दुरालाई सोमबार दिउँसो १ बजेर १५ मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो । मृतकका आफन्तले अस्पतालका चिकित्सकको लापरवाहीको कारण बिरामीको ज्यान गएको भन्दै तोडफोडमा गरेका थिए ।


उनीहरुले उपचारमा संलग्न डाक्टर अनिल शाहमाथि हातपातसमेत गरेका थिए । त्यसयता भने निरन्तर विरोध र प्रदर्शन भइराखेका छन् । पोखराका स्वास्थ्यकर्मीले बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीअघि नाराबाजी गर्दै विरोध प्रदर्शन गरे । पोखरा महानगरपालिकाको कार्यालयबाट र्‍यालीसहित सभागृह, सृजनाचोक, राष्ट्रबैंक चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पुगेर उनीहरुले कोणसभा गरेका थिए ।

Advertisement


‘डाक्टर कुट्ने प्रहरीमाथि कारबाही गर’, ‘अत्याचार र दमन कहिलेसम्म ?’, ‘दोषीलाई छुटैछुट डाक्टरमाथि कुटाकुट’ लगायत लेखेका प्लेटकार्ड बोकेर स्वास्थ्यकर्मी प्रदर्शनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको मागसमेत राखेका छन् ।


मणिपाल शिक्षण अस्पताल फूलबारी, गण्डकी मेडिकल कलेज पृथ्वीचोक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लगायत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सभामा सहभागी थिए । मणिपालका निर्देशक कृष्णमोहन श्रेष्ठले सुरक्षाको अनुभूति नभएकाले सेवा सञ्चालन गर्न नसकिएको जनाए । उनले संवादबाटै समस्या सुल्झाउने प्रयत्न भइरहेको सुनाए ।

Advertisement

डाक्टर र मृतकका आफन्तको शक्तिको चेपमा सर्वसाधारण परेका छन् । स्वास्थ्य संस्था ठप्पा हुँदा उपचार नै नपाउने अवस्था आएको छ ।


यता, मृतकका आफन्तले बुधबार प्रदर्शनसहित चक्काजाम गरेका छन् । महेन्द्रपुलबाट प्रदर्शनसहितका् भीड चक्काजाम गराउँदै पृथ्वीचोक पुगेको छ । उनीहरुले पोखराको मुख्यचोक पृथ्वीचोकमा प्रदर्शन गर्दा सवारी आवागनमा समेत प्रभाव परेको छ । मृतकका आफन्तले डाक्टरहरुले लापरवाही गरेको दाबी गर्दै छानबिनको माग गरेका छन् । उनीहरुले ‘मान्छे मार्न पाइदैन’ जस्ता नारा लगाएका थिए ।


डाक्टर शाहमाथि कुटपिटमा संग्लन कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने विनय गुरुङलाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको थियो । उनलाई जिल्ला अदालत कास्कीबाट मंगलबार ७ दिनको म्याद थप गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको छ ।


बिरामीको मृत्यु भएपछि नाराबाजीमा संग्लन फिस्टेल हस्पिटलमा कार्यरत डा. दिनेशकुमार विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा मीनबहादुर गुरुङको रोहबरमा डा गिरधारी शर्मालाई जिम्मा लगाइएको छ । मणिपालको तनावग्रस्त स्थिति नियन्त्रण लिन पुगेका ४ प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जनाए ।


नेपाल चिकित्सक संघ गण्डकीका कार्यवाहक अध्यक्ष डा सुनील पनेरु स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएसम्म चिकित्सकहरु काममा नफिर्कने बताउँछन् । अफिन गण्डकी पूर्व अध्यक्ष अशोक पालिखेले अस्पताल र स्वास्थ्यकर्मीको लक्ष्य नै बिरामीलाई निको बनाउने भए पनि सबै बिरामी निको नहुने यथार्थ मनन गर्न आग्रह गरे । उनी भन्छन्, ‘सबै बिरामी निको हुन सम्भव छैन । कानुन हातमा लिएर हुलहुज्जत गरी अस्पताल सञ्चालकबाट पैसा झार्ने विकृति बढ्दै गएको छ । यो चिन्ताको विषय हो ।’


भारतीय समूह मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा स्थापना गरेको यो मेडिकल कलेज अहिले नेपाली लगानीकर्ता बतास समूहले चलाइरहेको छ ।

मदन निलम्बित, वेदको सरुवा
पोखराको मणिपाल शिक्षण अस्पतालमा विवाद भएपछि सुरक्षामा खटिएका प्रहरी निरीक्षक मदन श्रेष्ठ निलम्बनमा परेका छन् । उपचाररत १ महिलाको मृत्युपछि उत्पन्न विवादमा डाक्टरलाई कुटेँ भनेका श्रेष्ठलाई निलम्बन गरिएको हो ।


वडा प्रहरी कार्यालय बैदाममा कार्यरत डिएसपी वेदप्रकाश जोशीलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ । वडा प्रहरी कार्यालय बैदामको क्षेत्रमा बिरामीका आफन्तले प्रदर्शन गरेका थिए ।


इन्स्पेक्टर श्रेष्ठ जिल्ला प्रहरी कार्यालयबाट प्रदर्शन स्थलमा खटिएका थिए । प्रहरी प्रधान कार्यालयले बैदाममा डिएसपी राजेन्द्र श्रेष्ठलाई पठाएको छ । श्रेष्ठ प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।
प्रहरी निरीक्षक श्रेष्ठमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत बनेको छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया