लेकबाट बेंसीतिर गोठ

राकेश शर्मा २०८० असोज १५ गते १२:१६

म्याग्दी ।
हिमाली भेगतिर चिसो बढ्दै छ । हिमालको काखमा पुगेका गोठहरु लेकमा चिसो बढेसँगै बेंसी झर्दै छन् । म्याग्दीको धवलागिरी गाउँपालिका ३ मुनाका बालकृष्ण मगरले लुलाङको शिरमा रहेको जलजलाबाट २ दिन लगाएर गोठमा रहेका १२ गाईलाई मुना ल्याएका छन् ।

Advertisement


उनी भन्छन्, ‘जेठको पहिलो साता खर्कहरुको ताजा घाँस खुवाउनका लागि लेक उकालेका थियौँ । चार महिना लेकमा बितायौँ, अब लेकका चिसो बढ्यो हिउँ पनि पर्छ । अब लेकमा बस्न सकिँदैन, त्यसैले केही समय हामी बेंसीमा नै हुन्छौँ ।’ आफ्ना गाईगोरु धेरुै भएकाले छिटो आएको र अरुहरु पनि बेसी झर्दै गरेको जनाए ।


अहिले बेंसीका खेतबारी मोल्नका खेतबारीमै गोठ बनाइएका छन् । कोदो पाक्ने समयसम्म औलमै गोठहरु राख्ने चलन छ । बारीको कोदो पाकेपछि सिजन सुरु हुन थाल्छ भने गोठहरु लेकतिर लगिन्छ । पछिल्लो समय गाईभैंसी गोठालेको संख्या घट्दै गएकोमा उनी चिन्तित छन् । ‘पहिले एउटै गाउँका १२/१५ घरमा गाईभैंसी पाल्ने गरेकोमा अहिले मुस्किलले त्यसको आधामात्र बाँकी छन्,’ उनले थपे ।


गाईभैंसीका लागि पछिल्लो समय पर्याप्त चरन क्षेत्र भए पनि युवा पुस्ता यो व्यवसायतिर लागेका छैनन् । ‘केही वर्षअघि गाउँका धेरै मान्छेले गाईभैँसी र भेडासमेत पाल्ने गर्थे, लेकतिर जाँदा पनि रमाइलो हुन्थ्या । सबै एकै पटक जान्थ्यौँ, नजिक नजिक गोठ बनाएर बस्ने गथ्र्यौं, अहिले हरेक वर्ष गोठाला घट्दै गएका छन्, मगर भन्छन्, ‘पुराना बूढापाका नसक्ने भए, युवहरु सहर बजार बस्ने, विदेशतिर जाने गर्न थालेपछि यो पेशा जोखिममा परेको छ ।’


गाईभैसी पाल्ने, गोठ बस्ने चलन हराउँदै गएकोमा मुनाका ७६ वर्षीय गंगबहादुर पहरे पुनलाई समेत चिन्ता छ । ‘अहिले हिमालको काखमा पुगेर गोठ बस्न सक्दिनँ । आफ्नो गाईभैंसी समेत भान्जाको जिम्मा लगाएर बसेको छु तर बेंसी आउदा सकी नसकी भए पनि गोठमा आउछु,’ उनी भन्छन्, ‘पहिले पहिले गाईको घ्यूको मूल्य राम्रो थियो, अहिले झन बढ्दै गएको छ तर पाउनै मुस्किल छ ।’

Advertisement


पहरे पुनको गोठमा अहिले १० गाई छन् । लम्पी स्कीन रोगका कारण १ दुधालु गाई मर्‍यो तर कही कतैबाट क्षतिपूर्ति नपाएको उनको गुनासो छ । उनले अरु व्यवसायको तुलनामा गाईपालन निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवाले गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो नदिने गरेको अनुभव सुनाए ।


गाईभैंसी पालनबाट वर्षमा न्यूनतम २/३ लाखसम्म आम्दानी हुने उनको भनाइ छ । अहिले गोठ बस्न पहिलेको जस्तो दुःख पनि नरहेको उनी सुनाउँछन् । ‘पहिले त सबै खर्चपर्च गाउँबाट नै बोकेर जानु पथ्र्याे । अहिले त नजिकैसम्म गाडी जान्छ, सबै गाडीले लैदिन्छ,’ उनी भन्छन् ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया