सातै प्रदेशमा लगानी सम्मेलन गर्दै उद्योग वाणिज्य महासंघ

समाधान संवाददाता २०८० असोज १७ गते ११:१९

खेमराज गौतम
ढोरपाटन, १५ असोज
नेपाल उद्योग वाणिज्य महासंघले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न सातै प्रदेशमा लगानी सम्मेलन गर्ने भएको छ । महासंघको तेस्रो कार्यसमितिको बागलुङ जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र ढोरपाटनमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

Advertisement


प्रचुर सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको ढोरपाटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले महासंघको तेस्रो बैठक ढोरपाटनमा आयोजना गरिएको हो । बैठकले देशमा लगानीका क्रियाकलापलाई चलायमान गराउन देशका सबै प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।


बैठकले सन् २०२५ लाई देशका समग्र निजी क्षेत्रले पर्यटन वर्षका रुपमा माउनने निर्णय पनि गरेको छ । पर्यटन वर्ष मनाउनेसम्बन्धी प्रचारप्रसार अहिल्यै सुरु गर्ने र यससम्बन्धी पत्राचार महासंघका देशैभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघमार्फत गर्ने निर्णय भएको छ ।


अध्यक्ष ढकालको गृह जिल्लामा आयोजना गरिएको सो बैठकले मुलुकमा व्याप्त आर्थिक संकट घटाउँदै तरलता बढाउन असोज मसान्तभित्रै राजनीतिक तथा सरोकारवाला निकायबीच छलफल गर्न एक उच्चस्तरीय तथा सर्वपक्षीय सम्मेलन गर्ने पनि निर्णय गरेको छ ।

सन् २०२५ लाई समग्र निजी क्षेत्रले पर्यटन वर्षका रुपमा मनाउने

Advertisement


अध्यक्ष ढकालले महासंघ एवं नेपाल सरकारले समेत वैदेशिक लगानीका लागि आग्रह गरिरहेको वर्तमान अवस्थामा देशभित्रै लगानीको वातावरण निर्माण गरी आर्थिक चलायनमान बनाउनका लागि लगानी सम्मेलन गर्ने निर्णय भएको बताए । उनी भन्छन्, ‘सन् २०२५ लाई पर्यटन वर्षका रुपमा मनाउने निर्णय भएको छ र यो निर्णय मुलुकको एक प्रमुख पर्यटकीय क्षेत्र एवं नेपालको एकमात्र सिकार आरक्षमा बैठक बसेर गरिएको छ । कोरोना महामारीले थला पारेको देशको पर्यटन व्यवसायलाई उठाउनका लागि आजैदेखि पर्यटकीय क्रियाकलाप गर्न सो निर्णय सहायक सिद्ध हुने अपेक्षा गरेका छौँ ।’


नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन प्रचुर सम्भावना भएर पनि ओझेलमा पर्दै परेको छ । देशका उद्योगी व्यवसायी सम्मिलत यस बैठकपछि नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा रहेको ढोरपाटनको थप विकास हुने आशा स्थानीयले गरेका छन् । बागलुङ उद्योग वाणिज्य संघ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य संघको आतिथ्यतामा ढोरपाटनमा बैठक आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

देशभरका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटन अवलोकन गर्दा पर्यटनको विकासमा सहयोग पुग्ने उनको भनाइ छ । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटलसहित अन्य व्यावसायिक योजनासमेत बन्नसक्ने अपेक्षा स्थानीयको रहेको पनि अध्यक्ष कँडेलले सुनाए ।


यो सिकार आरक्ष तथा प्रमुख पर्यटकीय क्षेत्र त हो नै यहाँको आलु पनि पश्चिमको बजारमा लोकप्रिय छ । यहाँ आलु र स्याउको प्रचुर सम्भावना रहेको छ । बैठकपश्चात् महासङ्घको कार्यसमितिमा रहेका सदस्य एवं पदाधिकारीहरुले ढोरपाटन क्षेत्रको अध्ययन, स्थलगत अवलोकन र सिकार आरक्ष कार्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।


बैठकमा ढोरपाटनको प्रसिद्ध ढोरबराह मन्दिरका साथै समग्र जिल्लाको पर्यटनका विषयमा समेत छलफल भएको ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र्र छन्त्यालले बताए । ढोरपाटनमा सिकार आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, स्याउ बगैँचा, ढोरबराह मन्दिर, देउराली, निशेलढोर, सिकार आरक्ष कार्यालयको सङ्ग्रहालयलगायत ढोरपाटनमा पर्यटक भुलाउने अनेकौँ स्थान छन् ।


सिकार खेल्नका लागि विदेशी पर्यटकमात्र आउने गरेको ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटकहरु पनि बढेका छन् । तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधा सम्पन्न होटल नहुँदा भने पर्यटकलाई समस्या भइरहेको छ ।

तपाईको प्रतिक्रिया