विदेश जाने मान्छे सधैं हार्छ !

रवीन्द्र माकाजू २०८० असोज १७ गते १२:५३

कास्की मोडनाइज्ड एकेडेमीका सञ्चालक, प्रिन्सिपल रामबहादुर मोचीलाई पोखरामा धेरैले कुशल शैक्षिक प्रशासकका रूपमा चिन्दछन् । विगत ३० वर्षदेखि शैक्ष्कि सेवामा अनवरत खटेका मोची अहिले विद्यालयको रजत जयन्ती मनाउने तरखरमा छन् ।
२०२४ वैशाख ८ गते स्याङ्जाको मायाटारीमा जन्मेका रामबहादुरको पढाइ ८ कक्षासम्म गाउँकै मनकामना स्कुलमा भएको थियो । उनी ९ कक्षामा पढ्न पोखरा रामघाट स्थित अमरसिंह स्कुलमा आए । गरिब परिवारमा जन्मिएका रामबहादुरको पढाइ अब्बल दर्जाको हुँदा उनी प्रथम भए । अन्य विद्यार्थीले उनको प्रतिभाबाट प्रभावित भई आफूलाई पढाउन आग्रह गरे । साथीहरुको प्रस्ताव स्वीकारेर उनले आफ्नै साथीहरुलाई पढाउन थाले ।


उनको पढाइ मन पराइँदा दोस्रो समूह पनि तयार भयो । साथीहरुले गुरुले पढाएको भन्दा तपाईंले पढाएको राम्रो छ, हामीलाई मन पर्‍यो भन्दा रामबहादुर झनै हौसिए । उनले त्यस बेला सोचे– मेरो जन्म नै शिक्षा क्षेत्रका लागि भएको हो । ०४२ मा एसएलसी परीक्षा पास गरेपछि ब्याच टपर भई पृथ्वीनारायण क्याम्पसमा स्कोलरसिपका बिएड गरे भने अंग्रेजीमा एमए पास गरे । लगत्तै उनले ५ वर्ष पृथ्वीनारायण क्याम्पसमा पढाए ।


उनले ०५५ सालमा कास्की मोडनाइज्ड एकेडेमीको जग बसाले । त्यस बेला उनीसँग ९० विद्यार्थी र ९ शिक्षक, कर्मचारी थिए । अरूको घरमा भाडामा स्कुल चलाउँदा, त्यस बेला उनका साथीहरुले भनेका थिए–रामबहादुर डुब्ने भए । त्यस बेला रामबहादुरले सोचे– मैले गुणस्तरीय शिक्षा प्रदान गर्नमा स्कुल खोलेको हुँ । म यसै क्षेत्रमा लाग्छु र सफल बन्छु । रामबहादुरको संकल्पलाई कुनै विघ्न, वाधा अवरोधले रोक्न सकेन । उनी यसैका लागि अहोरात्र खटिरहे । उनले अर्जुनले झै चराको आँखामा ध्यान दिए । उनले लगनशीलता, निष्ठा, समर्पण भावका कारण विद्यार्थी रात दुगुना, दिन चौगुना बढ्न थाले । विद्यालयको नाम र यश चारैतिर फैलिन थाल्यो ।

Advertisement

०५५ मा ९० विद्यार्थी र ९ शिक्षक/कर्मचारीबाट सुरु भएको कास्की मोडनाइज्ड एकेडेमी अहिले प्रतिष्ठित स्कुल बनेको छ


उनका लागि विद्यालयका कोठा साँघुरा हुन थाल्यो । उनले सोचे– यदि मैले विद्यालयलाई राम्रो बनाउने हो भने प्रशस्त जग्गा भएको सुविधा सम्पन्न भवन बनाउनुपर्छ । उनले कुँडहरमा जग्गा किने, भवन थपे । ठूलो क्षेत्रफलमा विशाल विद्यालय भवन बनाउन थालेकोमा उनको चर्को आलोचना पनि भयो । रामबहादुरले अरूका कुरा सुनेनन् । केवल आफ्नो विशाल र पवित्र लक्ष्य देखे । समयले पनि उनलाई साथ दियो ।

Advertisement


उनले बनाएको विद्यालय भवनवरिपरि विशाल बस्ती थपियो । आफ्नो विद्यालयमा गुणस्तरीय शिक्षा दिनुका साथै आर्ट (कला) नृत्य, साहित्य, संगीत, योग ध्यान खेलकुदका सामग्री पनि थप्दै गए । समयानुकूल विषय पनि थप्दै गए । उनले छात्रछात्राका माग अनुसार विद्यालयलाई चाहिने भौतिक सामग्रीहरु थप्दै जाँदा अहिले विद्यालय सुविधा सम्पन्न बन्न गएको छ । यो शिक्षा केन्द्रका कारण यहाँका छात्रछात्रा बाहिर जान नपर्ने भएको छ ।


रामबहादुर सरले विद्यालयमा ध्यान दिनुका साथै सामाजिक कार्यमा आफूलाई सक्रिय राखेका छन् । उनी गण्डकी प्रदेश एनप्याब्सन संयोजक पनि हुन् । उनी नेपाल चेम्बर अफ कमर्श कास्कीका सल्लाहकार हुन् भने पोखरा महानगरपालिका सल्लाहकार सदस्य पनि । उनले उत्पीडित विद्यार्थी युनियनको नेतृत्व गरेका थिए । दलित जातीय मुक्ति समाजको पूर्व अध्यक्ष पनि हुन् ।


सामाजिक सेवा र शैक्षिक क्षेत्रको योगदानको कदरस्वरूप २०७१ मा राष्ट्रिय शिक्षा पुरस्कार उनले पाएका थिए । मोची सरलाई थुपै्र संघ, संस्थाले पनि सम्मान गरेका छन् । उनका दृष्टिमा नेपाली विद्यार्थी अन्तर्राष्ट्रिय स्तरमै सक्षम र सबल छन्, अब्बल दर्जाका छन् । उनी भन्छन् हामीले छात्रछात्रालाई कक्षाकोठामा समिति राखेका छौं । हाम्रा शिक्षण पद्धति कमजोर छ तसर्थ हामीले विद्यार्थी पढाउने होइन, सिकाउने हो । किनभने जीवन सधैं कक्षाकोठामा चल्दैन ।


राष्ट्रका कर्णधार छात्रछात्रालाई विदेश जानबाट रोक्न सक्नुपर्छ । यसका लागि राज्यले यस्तो नीति ल्याओस् यहाँ पढ्दै कमानउने वातावरण बनोस् । मैले त आफ्ना विद्यार्थीलाई भन्ने गरेको छु । विदेश जाने मान्छे हार्छ । उसले जीवनमा कहिल्यै जित्दैन । हामीले हाम्रै धर्तीलाई सजाउने हो, फलाउने र फूलाउने हो ।

तपाईको प्रतिक्रिया