कास्कीमा नयाँ उद्योग दर्ता घट्यो

ऋषिराम बराल २०८० असोज १७ गते १३:१६

पोखरा ।

Advertisement

कोरोना संक्रमण र आर्थिक मन्दीका कारण यसवर्ष कास्कीमा नयाँ उद्योग दर्ताको संख्या घटेको छ । कास्कीमा आर्थिक वर्ष २०७८/७९ मा २ हजार तीन सय ६५ नयाँ उद्योग दर्ता भएकामा गत आव २०७९/८० मा नौ सय ९५ वटा मात्रै छ ।


घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख उद्योग अधिकृत शेषकान्त पैडेलले कोरोना र आर्थिक मन्दीकै कारण नयाँ उद्योग दर्ता संख्या घटेको हुनसक्ने बताए । कार्यालयका उद्योग अधिकृत महराज ढकालका अनुसार गत आवमा नयाँ उद्योग दर्ता संख्या घटे पनि बक्यौता राजस्व बुझाउनेको संख्या बढ्दा राजस्व भने वृद्धि भएको छ ।


आर्थिक वर्ष २०७८/७९ मा २ करोड १२ लाख ३० हजार ६ सय ३१ रुपैयाँ राजस्व संकलन हुँदा २०७९/८० मा २ करोड ३९ लाख ९० हजार नौ सय ८९ रुपैयाँ राजस्व संकलन भएको छ ।


विभिन्न उद्योगमध्ये पर्यटनमूलक, कृषि तथा वनपैदावार र सेवामूलक उद्योग दर्ता गराउनेको संख्या भने केही मात्रामा बढेको छ । आव २०७९/८० मा पर्यटनसम्बन्धस् तीन सय ३८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा र खनिजसम्बन्धी उद्योग भने एउटा पनि दर्ता भएनन् ।

Advertisement


आव २०७९/८० कास्कीमा कृषि तथा वनपैदावार उद्योगतर्फ तीन सय १७, सेवामूलक उद्योगतर्फ एक सय ९८, उत्पादनमूलक उद्योगतर्फ एक सय ३५ र सूचना प्रविधिमा आधारित ७ वटा उद्योग दर्ता भएको जानकारी उद्योग अधिकृत ढकालले दिए ।


त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कृषि तथा वनपैदावारमा आधारित ८ सय ८८ वटा उद्योग दर्ता भएका थिए भने ऊर्जा र खनिजसम्बन्धी उद्योग एउटा पनि दर्ता भएका थिएनन् । पर्यटनमूलक उद्योगमा ७ सय ४, सेवामूलक उद्योगमा पाँच सय ४७, उत्पादनमूलक उद्योगमा दुई सय १६ र सूचना प्रविधिमा आधारित १० वटा उद्योग दर्ता भएको जानकारी उद्योग अधिकृत ढकालले दिए ।


कास्कीका उद्योगमा आव २०७८/७९ मा ४ अर्ब ८९ करोड ५२ लाख रुपैयाँ पुँजी लगानी भएको थियो । आव २०७९/८० मा ३ अर्ब २७ करोड १९ लाख रुपैयाँ पुँजी लगानी भएको प्रमुख उद्योग अधिकृत पौडेलले जानकारी दिए ।


आव २०७८/७९ मा २ हजार ६ सय ११ महिलासहित ४ हजार ८ सय ३७ जनालाई विभिन्न उद्योगमा रोजगार सिर्जना हुँदा आव २०७९/८० मा १ हजार सात सय ५१ जना महिलासहित तीन हजार नौ सय ६७ जनाले रोजगार प्राप्त गरेका छन् । कास्की जिल्लामा विभिन्न प्रकृतिका २३ हजार ६ सय २९ उद्योग दर्ता भएका छन् ।

रासस

तपाईको प्रतिक्रिया