गण्डकीमा साढे ७ हजार डेंगु संक्रमित

समाधान संवाददाता २०८० असोज २५ गते ८:४८

पोखरा ।
गण्डकी प्रदेशमा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुुसार प्रदेशभर ७ हजार ४ सय ८९ संक्रमित भएका छन् ।


केही दिनयता पोखराका अस्पतालमा डेंगु भएर उपचारका लागि आउनेको संख्या दैनिक बढ्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा खिम खड्काले जानकारी दिए । ‘प्रदेशभर नै त्यस्तो भयावहको अवस्था छैन । तर, पछिल्लो समय डेंगु संक्रमितको संख्या बढ्दै गएको छ,’ उनले भने ।


प्रदेशका ११ जिल्लामध्ये हालसम्म तनहुँ, बागलुङ र कास्कीमा डेंगु संक्रमणदर उच्च रहेको निर्देशक डा खड्काले बताए । मुस्ताङबाहेकका अन्य सबै जिल्लामा सङ्क्रमण देखिएको छ । डेंगु परीक्षणका लागि आवश्यकताअनुसार किट सप्लाइ तथा उपचार गराइरहेको डा खड्काले सुनाए । ‘आवश्वकताअनुसार प्रदेशभर नै किट सप्लाई र उपचार गरिरहेका छौं । संक्रमितको अवस्था सामान्यनै छ,’ उनले भने, ‘अवस्था सामान्य छ भनेर बस्ने अवस्था छैन । जतिबेलापनि भयावह हुन सक्छ ।’

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका अनुसार हालसम्म १ हजार ४ सय ८१ मा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ११ जना डेंगुका बिरामी उपचाररत छन् । त्यसमध्ये दुईको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले जानकारी दिए । ‘अहिले दैनिक डेंगु सङ्क्रमितको संख्या बढिरहेको छ ।


पानी पर्न नरोकिएकाले अझै केही दिन संक्रमण बढ्ने देखिन्छ,’ उनले भने, ‘संक्रमितमा उच्च ज्वरो आउने, मांशपेसी दुख्ने, टाउको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने, थकान तथा बेचैनी हुने, जोर्नी दुख्ने लक्षण देखिने गरेका छन् ।’

Advertisement


स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले संक्रमणबाट बँच्नका लागि सचेतना नै महत्वपूर्ण हुने जनाउँदै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताए । ‘कास्कीमा संक्रमण बढ्दै गएको छ । सचेतनाका कार्यक्रम गरिए पनि संक्रमण कम हुन सकेको छैन’, उनले भने, ‘डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बँच्नु नै उपयुक्त उपाय हो । यसका लागि पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, एसी, कुलरबाट जम्मा हुने पानी दैनिक परिवर्तन गर्ने लगायत कुरा सबैलाई जानकारी गराउनुपर्छ ।’


पोखरामा वडा कार्यालय, विभिन्न संघसंस्थाले डेंगु सचेतनाका कार्यक्रम गर्दै आएका स्वास्थ्य प्रमुख आचार्यले बताए । ‘संक्रमण बढेपछि लामखुट्टेको ‘सर्च एन्ड डिस्ट्रोय’ कार्यक्रम सञ्चालन गरिएको छ,’ उनले भने । । वर्षातको समयमा पानी जम्ने भएकाले डेंगुको संक्रमण बढी फैलिने गरेको चिकित्सक बताउँछन् । पोखरा महानगरपालिका स्वास्थ्य शाखा प्रमुख फुलदेव तिमिल्सिनाले डेंगु नियन्त्रणका लागि वडावडामा कार्यक्रम गरिएको बताए ।


डेंगु भएको कसरी थाहा पाउने ?
चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।


टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।
…….
डेंगुका लक्षण
– असाध्यै टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने
–शरीरमा विमिरा आउने
–वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

बँच्ने उपाय
डेंगु ज्वरोबाट बँच्न लामखुट्टेको टोकाइबाट बँच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया