पोखरा—काठमाडौं सडकको दुरवस्थाले यात्रुलाई सास्ती

पोखरा
दसैं मनाउने गरी घर फर्कन पोखरा कास्कीकोटका गौरव सुवेदीले काठमाडौंमा शुक्रबार टिकट काटे । टिकट काटेअनुसार उनी सोमबार बिहान ६ बजे काठमाडौं बसपार्क पुग्छन् । साढे ६ काठमाडौं बसपार्कबाट हिँडेका उनले बेलुका साढे ४ बजे पोखरा बसपार्कमा पाइला टेके ।
सामान्य बेला ६ घन्टाको काठमाडौं–पोखरा यात्रा उनलाई पोखरा आइपुग्न १० घन्टा लाग्यो । ‘बिहान साढे ६ बजे काठमाडौंबाट गाडी चढेको हुँ । १ बजेतिर आइपुगेला जस्तो लागेको थियो । तर, बल्ल आइपुगियो,’ निन्याउरो मुख लगाउँदै उनले भने ।
बाटो कस्तो लाग्यो, किन यति धेरै समय लाग्यो भनेर सोध्दा उनले कपडामा लागेको धुलो पुच्छै भने, ‘बाटो त एकदमै खत्तम छ ।’ उनले यतिमात्रै बोले पनि उनले धेरै भन्न खोजेको स्पष्ट देखिन्थ्यो । दसंै नजिकिएसँगै पोखरा भित्रिने र पोखराबाट बाहिरिने यात्रुको संख्या बढेको छ । तर, पोखरा भित्रिने र बाहिरिने हरेक यात्रुहरु भने बिग्रँदो सडकको अवस्थाका कारण सास्ती भोग्न बाध्य छन् । काठमाडौं–पोखरा ६ घन्टा लाग्नेमा सडकको दुरवस्थाका कारण अहिले १० देखि १२ घन्टा यात्रा गर्नुपर्नु बाध्यता छ ।
सडकको दुरावस्थाले पर्यटक आगमनमा समेत प्रभाव परेको व्यवसायीहरु बताउँछन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले मुग्लिन–पोखरा सडकको स्तरोन्नती नहुँदा पोखरामा आउने पर्यटकको संख्या घटेको बताउँछन् । ‘मुग्लिन पोखरा सडकले गर्दा सोचेअनुसारको पर्यटक भित्रिएको छैन । बाटोका कारणले दसैं बिदामा आउने आन्तरिक पर्यटक धेरैभन्दा धेरै घटेका छन् । जसले पोखराको पर्यटनमा ठूलो क्षति पुगेको छ,’ उनले भने ।
पोखरा भित्रिएका पर्यटकले बाटोको कारण धेरै दुःख पाएको गुसानो गर्ने गरेको श्रेष्ठले सुनाए । उनले भने, ‘पोखरा आइसकेका पर्यटकले पनि बाटोको कारणले धेरै दुःख पाएको गुसानो गर्छन् । पर्यटनमा धेरैभन्दा धेरै क्षति पुगेको छ । यसमा सरकारी पक्ष बेलैमा ध्यान दिनु जरुरी छ । छिटोभन्दा छिटो बाटोको स्तर सुधार्नुपर्छ ।’
मुग्लिनदेखि पोखरासम्मको ८० किलोमिटर सडक सहरी भेगमा ६ लेन र ग्रामीण भेगमा ४ लेनमा विस्तार गर्ने गरी दुई खण्डमा स्तरोन्नति भइरहेको छ । मुग्लिनदेखि तनहुँको जामुनेसम्मको पूर्वी खण्डमा चिनियाँ ठेकेदार कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम गरिरहेको छ ।
२०७७ माघ १७ मा सम्झौता भएर २०७८ वैशाख २ देखि काम सुरु भएको यो ४१.४५ किलोमिटर खण्डको म्याद २०८१ वैशाखसम्म छ । साउनसम्म उक्त खण्डको भौतिक प्रगति ३१ प्रतिशतमात्र छ । यो खण्डको लागत ६ अर्ब २१ करोड ३१ लाख छ । पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको काम अझै सुस्त छ । जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिको काम चीनकै अनहुइ कैयुएन हाइवे एन्ड ब्रिज कम्पनीले गरिरहेको छ । २०७८ भदौबाट काम सुरु भएको यो खण्डको काम ०८१ भदौ १२ मा सम्पन्न गरिसक्नुपर्छ । ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको यो खण्डको हालको भौतिक प्रगति भने ८ प्रतिशतमात्रै छ ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशिराम गैरे सोचेअनुसार प्रगति नहुँदा आफूहरु धेरै चिन्तित रहेको बताउँछन् । ‘यो खण्डमा दुवैतर्फ सोचेअनुसारको काम हुन सकेको छैन । पूर्वी खण्ड केही हदसम्म सन्तोषजनक भए पनि पश्चिम खण्डको प्रगति चिन्ताजनक छ । ७० प्रतिशत समय सकिँदा ८/९ प्रतिशतमात्र काम भएको छ । पश्चिम खण्डको ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढेका छौं,’ उनी भन्छन् ।
सडकको अवस्थाका बारेमा दैनिक २÷३ वटा गुनासो आउने गरेको सहायक प्रजिअ गैरे सुनाउँछन् । उनी भन्छन्, ‘चाडपर्व आएसँगै सडकमा सवारी चाप बढेको छ । सडकको अवस्था उस्तै छ । जनताहरु दैनिक २÷३ वटा गुनासो प्रमुख जिल्ला अधिकारीसमक्ष आउनुहुन्छ ।’
पृथ्वी राजमार्ग वस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले अघिल्लो वर्षभन्दा ६० प्रतिशत यात्रुको संख्या घटेको बताए । ‘अहिले त पोहोरभन्दा ६० प्रतिशत पनि यात्रुको चाप छैन । व्यवसायीहरु एकदमै मार परेको छ । सडकको अवस्था पनि निकै दर्दनाक नै छ । ड्राइभरहरु रुन सकेका छैनन्,’ उनले भने ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया