रुपान्तरण या बिसर्जनको दाेसाँधमा माओवादी

राजु क्षेत्री २०८० कार्तिक २ गते १२:३७

पुरानो मर्दै जानू तर नयाँ जन्मन नसक्नु नै संकटको मुल कारण हो — आन्तोनियो ग्राम्सी । नेपाली समाज समस्याका चुलिहरुले अग्लिदै गएको छ । राजनीतिले सामान्यत: बर्तमानका समस्या हल गर्दै भोलि आउने समस्या समाधानमा आफुलाइ केन्द्रित रहेर निति बनाउदै अघि बढ्नु पर्ने हो तर त्यसको ठिक बिपरित हामी भोलिका नेपाली समाजको भाग्यबारे जनबादी- समाजबादी कोणबाट बहस गरिरहेका छौ र आजका नेपाली समाजका बिकराल समस्याबाट आफुलाइ कोसौ दूर राखेका छौ ।

आज पनि हामीसंग कम्युनिष्ट प्रधानमन्त्री हुनुहुन्छ र प्रमुख प्रतिपक्षी दल पनि कम्युनिष्ट पार्टीकै छ । दुनियाँमा यस्तो संयोग बिरलै हुनेगर्छ । समाजको आमूल रुपान्तरणको उद्देश्य बोकेर रक्तक्रान्तिको बाटो हुँदै सत्तामा पुगेको कम्युनिष्ट क्रान्तिकारी पार्टीले देश चलाइरहेछ । जुन पार्टी , सरकार र ब्यबस्था गलत भयो भनेर त्यत्रो बलिदान सहित सत्तामा आएको पार्टीले पनि नागरिकको बिश्वास जित्न सकेन र नयाँ विकल्पको बहस उठिरहेका छन । के अब नेपाली समाजले आफ्ना सामुका चुनौती हल गर्ने सामर्थ्य पुराना राजनीतिक दलमा देख्न छोडेको हो ? आफुलाइ क्रान्तिकारी शक्ति भन्ने माओवादीले पनि नेपाली जनतालाई निराशाको गहिरो सुरुङ्गबाट बाहिर निकाल्न असफल भएको हो ?

नेपाली समाजका आजका प्रमुख समस्या के हुन ? नेपालका प्रमुख राजनीतिक पार्टीहरु यहिनेर रुमल्लिरहेका छन । आफैले निर्माण गरेको राजनीतिक प्रणालीको गोलचक्करमा घुमिरहेका छन । नेपालका प्रगतिशील शक्तिहरुले आधा शताब्दीदेखि उठाउदै आएको जनतन्त्र र जनजिबिका नै नेपाली समाजको आजको मुख्य समस्या हो । यिनै बिषयलाइ मुद्दा बनाएर नेपाली काङ्ग्रेस र तत्कालीन नेकपा ( माले ) , मार्क्सवादी लगायतका पार्टीहरुले लामो संघर्श गरे । पुरानो राज्य ब्यबस्थासंग बिस्वस्त हुन नसकेको ठुलो समुह परिबर्तनको पक्षमा उत्रियो । आन्दोलन भयो , ब्यबस्था परिबर्तन भयो र दशकौंदेखि जनजिबिकाको उचित प्रबन्धको अभाबमा छट्पटिएको युबा पुस्ताले ठुलो उत्साहका साथ नयाँ ब्यबस्थालाई काध थाप्यो ।

Advertisement

२०४६ को आन्दोलन पछि समय अघि बढ्दै गयो तर आम मानिसले देखेको परिबर्तनको सपना ऊनीहरुको जिबनमा आउदै आएन । बरु ऊनीहरुले अगाडि सारेका नेताहरुको जिबनले गति समात्यो र नयाँ बर्गका रूपमा अर्को एलिट जन्म्यो । नयाँ ब्यबस्थाले रोजगारी सृजना गर्नुको साटो चलिरहेका उद्योगलाई निजीकरणको नाममा कौडिको मुल्यमा निजि क्षेत्रलाई बेचिदिए । उदार पुजिबादको खोल ओढेर आएको दलाल पुजिबादले यहाँ उत्पादित बस्तुको उत्पादन रोकेर महँगोमा बिदेशी सामान आयात गर्ने थाले । यसले गर्दा आम रोजगार कटौती हुदै गयो र देशमा घुमिरहेको पैसा बिदेशी बस्तु आयात गर्नका लागि बिदेशिन थाल्यो । राजनीतिक परिबर्तनबाट ठुलो आशा बोकेका युवाहरु बिस्तारै बिदेश पलायन हुन बाध्य भए र नयाँ ब्यबस्थाले आशा होइन जन्मने बित्तिकै समाजमा निराशा बाड्न सुरु गर्यो ।

राजनीतिक निराशाले जन्माएको सामुहिक आक्रोशलाई तत्कालीन माओवादीले उपयोग गरे र १० बर्ष लडाइ लडे । बन्दुकको आडमा ठुलै शक्ति निर्माण गरे । ठुलो क्रान्तिको बाटो हुदै आएको ब्यबस्थामा आम मानिसका सपना स्वभाबिक रूपमा ठुला हुने नै भए । २०४६”को आन्दोलन र त्यसपछि निर्माण भएको प्रणालीले पुरा गर्न नसकेको जनतन्त्र र जनजिबिकाका प्रश्न हल गर्ने दायित्व क्रान्तिबाट आएको माओवादीमा हुनु स्वभाबिक थियो ।

Advertisement

दुखका साथ भन्नु पर्छ – २०४६ पछिका परिबर्तनका असफलताको पुनरावृत्ति उहीँ रुपमा २०६३ पछि गणतन्त्र कालमा पनि दोहोरियो । क्रान्ति र परिबर्तनका नाममा नेपाली जनता पटक पटक ठगिए । फेरि एकपटक नेपाली जनताको जिबनमा हात्ती आयो – हात्ती आयो – फुस्सा भयो । २०४६ सालको क्रान्ति – परिबर्तन पछि जन्मेको नयाँ शासक समुह जस्तै माओवादी जनयुद्धका आडमा फेरि अर्को शक्ति समुह नेपाली राजनीतिमा उदायो ।

२०४६ र २०६३ पछि उदाएका राजनीति शक्तिले नाम के राखे त्यो त्यति महत्त्वको कुरा रहेन । ऊनीहरु आफ्ना आचरण र व्यबहारमा पुरानो शक्तिकै निरन्तरतामा प्रकट भए । जनयुद्धकाल भरि जनतालाई देखाएको समानताको सपना , परिबर्तन र समृद्धिको सपना नजन्मदै तुहिन पुग्यो । उहीँ अभाव , उहीँ बेरोजगारी – उहीँ असमानता र उहीँ भ्रष्टाचार । जनयुद्धको खोल ओढेर आएको नयाँ ठगबाट जब नेपाली जनताले आफू ठगिएको थाहा पाए , आफ्ना परिवारले बगाएको रगतको फाल्सामाथि टेकेर फेरि केहि छट्टुहरु सत्तामा पुगेर नयाँ बर्ग बनेको देखे । परिबर्तनकामी जनतामाथि माओवादीले गरेको भद्दा मजाक र अपमान नेपालको इतिहासको कालो अध्यायको रुपमा लामो समय सम्झिइरहनेछ ।

देश परिबर्तनको सपना बोकेर युद्धमा हिडेको युवा आज खाडिमा मजदुरी गरिरहेछ र जनयुद्धमा मान्छेलाई मर्न – लड्न उत्प्रेरित गर्ने नेताका छोराछोरी आज युरोप – अमेरिका छन । परिवर्तनका नाममा ठुलो धोका भयो । राजनीतिक आन्दोलन पछि जन्मेको निरासाको शिकार भएको पुस्ता बिदेशमा श्रम बेचिरहेको छ उ आफ्नो देशको राजनीतिक नेतृत्व प्रति घृणा बमन गरिरहन्छ । एउटा गम्भीर प्रश्न उठेको छ – जनताको आशालाई सम्बोधन गर्न नसक्ने राजनीतिक शक्तिको नेतृत्वमा के देश गोलबन्द हुन सम्भब छ ? इतिहास साक्षी छ – जनताको नजरमा गिरेका शक्तिको यात्रा अन्तत: आर्यघाटमै पुगेर बिसर्जन हुने हो । घाटमा लैजान ठिक्क परेको लाशसंग एउटि युबतीले आफ्ना बाकी जिबनका सपना नदेखे जस्तै आफ्ना गलत आचरण र पश्चगामी राजनीतिक निर्णयका कारण माओवादी पार्टी आम जनताको भरोसाको केन्द्र बन्न असक्षम साबित भैसक्यो भन्ने बहस पनि निकै उच्च स्वरका उठिरहेको छ ।

यही निराशा र राजनीतिक शुन्यताका बीच फेरि बहसहरु उठ्न थालेका छन – के परिबर्तन असम्भव छ ? के नेपाली जनताको सुख र समृद्धिको सपना काठमाडौंका सडकमा पोस्टर भएर केपि ओलिको रसिला ओठमा मुसुक्क मुस्कुराउने मात्रै हो त ? आम मान्छेका जिबनमा के यसो हुन सम्भब नै छैन ? बिकास र समृद्धि अब पुराना शक्तिहरुको नेतृत्वमा असम्भव भएको हो ? कि बादलको छेउमा देखिएको चादिको घेरा अझै नेपाली राजनीतिका पुराना पार्टीहरुमा बाकी नै छ ? – यिनै अनुत्तरित प्रश्नका पेरिफेरीमा नेपाली जनताको भाग्य – भबिस्य लुकेको छ ।

गुमेको शाख बचाउन र इतिहासको महान दायित्वबाट बिमुख नहुन आफुलाइ सुधार्ने हो भने आत्माआलोचना गर्दै अघि बढ्ने हो भने अझै परिबर्तनको हुटहुटि बोकेको ठुलो शक्ति नेपाली समाजमा ज्युदै छ । समाज परिबर्तनका लागि मन मुटुमा आगो बोकेका मान्छेको जमात बिना नेपालमा न क्रान्ति सम्भब छ न परिबर्तन । आफ्नो भ्रष्ट आचरण , सुख- सयल – सत्ता र दलालहरुको काख छोडेर फेरि एकपटक माओवादी शक्तिले नेपालको आर्थिक रुपान्तरण र समृद्धिको यात्रामा आफुलाइ कारगर साबित गर्न सक्ला ? धेरै मानिसको अपेक्षा अहिले पनि माओवादी नेतृत्वले यो देशको शान्ति र समृद्धिको नेतृत्व गरोस् भन्ने नै छ । आन्दोलनबाट आएको शक्तिको राप- तापबाट देशले उर्जा प्राप्त गरोस र परिबर्तनका लागि बगाएको रगत खेर जान्न भन्ने सन्देश दिन माओवादी सफल होस भन्ने अपेक्षा यद्यपि बाकी नै छ ।

अहिले सामान्य हिसाबले हेर्दा माओवादी आन्दोलन भ्रष्ट हुनु वा नहुनुले आम मान्छेलाई खास प्रभाव नपार्न सक्छ तर परिबर्तन र क्रान्ति प्रति आम मान्छेमा उत्पन्न हुने भाबनात्मक संवेदनालाई भने माओवादी आन्दोलनको बिसर्जनले चिरकालसम्म नकारात्मक प्रभाव पारिरहन्छ । क्रान्ति किन गर्नु – किन लड्न जानु जबकि क्रान्ति वा परिबर्तन वा सत्ता साझेदारीबाट हुने लाभ हामी जनतालाई आउने होइन , उनै नेताले हसुर्ने हुन भन्ने मनोबैज्ञानिक भास्य जन जनको मनमा जन्मिन थाल्यो भने देश लामो समयसम्म यथास्थितिबादीहरुको हातमा जानेछ र परिबर्तन आम जनताका लागि टाढाको फल साबित हुनेछ ।

परिबर्तनको एजेन्डा बोकेर आन्दोलन – क्रान्तिको नेतृत्व गरेको पार्टी यदि असमयमै मृत्युशैयामा पुग्छ भने त्यसको असर केहि नेता – कार्यकर्तालाई मात्र पर्ने होइन , सामाजिक रुपान्तरणको प्रक्रियालाई नै अबरुद्ध पार्छ । त्यस हिसाबले हेर्दा माओवादी पार्टी एक समयको क्रान्तिकारी पार्टी त हो नै , यसले आफ्नो लक्ष्यलाई बीच बाटोमै बिसर्जन गरिदिदा त्यसको असर नेपालका मुक्तिकामी जनताको जिबनमा पर्न गयो र देशब्यापी आम निराशाको मनोबिज्ञान बिकास हुनुमा माओवादी आन्दोलनले समातेको गलत बाटो प्रमुख कारक हो ।

डाक्टरले जब रोग पत्ता नलगाई बिरामीलाई औसधि दिन्छ र त्यसले रोग निको पार्नुको साटो झन बल्झाउछ र बिरामी झारफुकका लागि झाक्रीको खोजीमा निस्कन्छ र झन बढी ठगिन्छ । अहिले यस्ता विभिन्न झाक्रीहरु मिसन २०८४ को मन्त्र बोकेर निराश जनताका भाग्यबिधाता भएको डन्का पिट्दै हिडेका छन । मुक्तिको सपना देखाएर समाजलाई गरिबीको दलनमा पिसिराख्ने र आफू नयाँ सम्भ्रान्त बर्गका रूपमा स्थापित हुने अराजनीतिक – अपराधिक माओवादी चरित्रका कारण देश दिन प्रतिदिन निराशाको खाडलमा जाकिदै गएको छ ।

अझै समय घर्किसकेको छैन , माओवादी नेतृत्वले आफुलाइ सुधारोस र wrong side मा रोकिराखेको नेपाली क्रान्तिको गाडिलाइ गन्तब्यमा पु-याओस । क्रान्तिका नाममा लाखौं मान्छेका सपनालाई अलपत्र पार्ने अधिकार कसैलाई छैन । जसको तातो रगतमाथी टेकेर सत्तामा पुगेउ र सुखको साम्राज्य भोग गरिरहेका छौ , भोलि त्यही रगतमा चिप्लिएर माटो चाट्ने दिन नआओस् ।

तपाईको प्रतिक्रिया