९० वर्षीया चन्द्रकुमारी श्रीसको दसैं अनुभव

पहिले दुख पनि धेरै, रमाइलो पनि धेरै

प्रमिला कुँवर २०८० कार्तिक ३ गते ११:४२

प्रमिला कुँवर
पोखरा
घटस्थापनापछि दसैंको चहलपहल बढेको छ । गलकोट ११ रिघाकी ९० वर्षीया चन्द्रकुमारी श्रीस पनि दसैंको प्रतीक्षामा छिन् । १० वर्षपछि बल्ल टीका लगाउने मौका जुरेकाले उनी उत्साहित छिन् ।


‘जुठो परेर टीका नलगाएको र नलगाइदिएको १० वर्ष भएको थियो । बल्ल मौका जुरेको छ, जमरा पनि राखेकी छु । नातिनीलाई टीका लगाइदिन आतुर छु,’ श्रीषले भनिन्, ‘अन्तिमपल्ट नातिनी ६ वर्षको हुँदा टीका लगाइदिएको, अहिले १६ वर्षकी भइसकी । उसले टीकाको अनुभव नै गर्न पाएकी छैन ।’


यसपालिपछि कहिल्यै दसैंको टीका लगाउन नपाउने पो हो हुँ कि भन्ने उनको त्रास छ । उनी भन्छिन् ‘श्रीमान्को मृत्य भएदेखि टीका लगाएकी छैन । मभन्दा ठूला कोही छैनन्, कसको हातबाट टीका थाप्नु ?’ चन्द्रकुमारीको दसैं अनुभव यहाँ प्रस्तुत छः
पहिलेकै दसैं रमाइलो

Advertisement

अहिलेको भन्दा पहिलाकै दसैं मन पर्छ । नयाँ लुगा लगाउन दसैं कुर्नपथ्र्याे, नयाँ लुगा पाउँदा रमाइलो लाग्थ्यो । अहिले त नयाँ लुगा जहिल्यै लाउन पाइन्छ । पहिला दुख पनि धेरै थियो, रमाइलो पनि धेरै । पिङ खेल्ने, मेला हेर्न जाने, पूजा गरेर भेडाच्यांग्राको मासु खाने, निकै रमाइलो हुन्थ्यो । लाहुर गएका दाइभाइ घर आउँथे ।
दसैंले काम दोब्बर
मलाई दसैं भन्ने बित्तिकै बाल्य कालमा दसैंका बेला हुने कामका दुःखको सम्झना आउँछ । चाडवाड आराम र मीठो, मसिनो खानको लागि भए पनि तयारी र व्यवस्थापनका लागि काम दोब्बर हुन्थ्यो । खेतबारीको काम कहिल्यै गरेर नसकिने । कोदो गोड्ने, मकै भित्र्याईसकेर दसैंका बेलामा दाउरा जम्मा गर्ने, गहुँ छर्ने काम हुन्थ्यो ।


दिनभरी बारीमा काम ग¥यो, राति दसैंका लागि आवश्यक पर्ने खानाको जोहो गर्नुपथ्र्याे । अरु बेलामा कोदो, मकै खाए पनि दसैंमा चामल हुन्थ्यो । राति अबेरसम्म ढिकीमा धान कुट्थ्यौं । हातभरी फोका उठ्थे । बिहान सबेरै उठेर फेरि बारीमै जानुपर्ने ।
दसैंमा रातो माटोले घर लिपिन्थ्यो । माटो लिन जाँदा दिनभरी लाग्थ्यो । जाँदा ओरालो सजिलो भए पनि फर्किदा भारीसँग उकालो हिँड्दा बडो सकस हुन्थ्यो । साथीसँगी मिलेर खाजा लगेर जान्थ्यौं, टाढा र गाह्रो भए पनि हाँस्दै, बोल्दै, गाउँदै हिड्दा बाटो कटेको पत्तै हुन्थेन ।

Advertisement


सुँगुरको मासु खान दसैंको पर्खिन्थ्यौं
मलाई सुँगुरको मासु खान निकै मन पर्थ्यो तर हाम्रो गाउँमै सुँगर पाल्न त के, सुँगुरको मासुसमेत लैजान रोक थियो । गाउँमा दुर्गादेवीको मन्दिर थियो, दुर्गादेवीले सुँगुर सहन्नन्, अनिष्ट हुन्छ, बाघले लान्छ भन्ने विश्वास थियो । कान्छा बाको घर अर्काे गाउँमा थियो, त्यहाँ सुँगुर पाल्न, खान कुनै रोकतोक थिएन । कान्छा बाले पनि सुँगर पालेका थिए ।


दसैंमा टीका लगाउन जाँदा सके जति सुँगुरको मासु खान पाइन्थ्यो । सुँगुरको मासु खान पाइने लोभले घरमा टीका लगाउनेबित्तिकै हतारिदैँ कान्छा बाको घर जान्थें म । सुँगुरको मासु खाएपछि नुहाएर, लुगा धोएर, जौं, तिल पानीले छर्केरमात्र घर फर्किन्थे ।


एक पटक गाउँको मुखिया सुँगुरको मासु खाएर नचोखिकन घर गएछन् । त्यसपछि धेरै दिनसम्म बाघ घरमै आएर घेरा लाएर बस्यो रे । देवीको मन्दिरमा गएर पूजा गरेर माफी मागेपछि बल्ल बाघ आउन छोडेको थियो । दसैंमा दक्षिणा दिने चलन थिएन । आशीर्वाद दिन्थे, खान दिन्थे ।


दसैं लखेट्ने चलन
दसैंमा ल्याउने फूलपाती, घर घरमा जमरा
आउँदै गरे संगी र साथी माया नमारे
झ्यामझ्याम परेली आँखैमा गाजलु सम्झिने कोइ छैन

डाँडैमाथी देवीको मन्दिर टुप्पैमा गजुर
संगी र साथी नाच्दै आयौं यो ठाउँमा हजुर
ए आमा, सानीमा
फूलको थुँगा खस्यो पानीमा
दसैंको पूर्णिमाका दिन दसैं लखेट्ने चलन थियो । रातभरी नाँच्दै, गाउँदै, बाजा बजाउँदै, घर घरमा गएर जमरा उठाएर खोलामा गएर सेलाउने चलन थियो । यो चलन कहिले र कसरी सुरु भयो, थाहा छैन । त्यस दिनमा गाइने गीत अरुभन्दा फरक छ । यो गीत अरु बेला गाउन पनि मिल्दैन । रातभरी मेला हेरेर बिहान त बारीको काम गर्न जानैपर्ने ।


घरमा मेला हेर्न जान छुट थियो तर आफ््नो भागमा परेको काम जसरी पनि सक्नुपथ्र्याे । रातभर अनिदो भए पनि दिनभरी काम गर्न सक्थें, न निन्द्रा लाग्थ्यो, न थकाइ । बुढापाकाले जति सुत्यो, उति निन्द्रा, जति बस्यो उति अल्छी, जति काम ग¥यो, त्यति जाँगर भन्थे ।


बिहेपछिको दसैं
श्रीमान् भारतीय सेनामा हुनुहुन्थ्यो । उहाँ लाहुर गएपछि घरमा म एक्लै भएँ । घर, खेतबारी, कुखुरा चल्ला, गाईवस्तु स्याहार्ने जिम्मा ममाथि पर्‍यो । गाउँमा पानीको साह्रै दुःख थियो । बिहान ३ बजे उठेर पानी भर्न गएन भने पानी नै पाइन्थेन । मान्छेलाई पनि मुस्किलले पुग्ने पानी डिगालाई पनि खुवाउनुपर्ने । बिहेपछि त झन् कहिल्यै फुर्सद भएन ।


दसैं, तिहार काम गरेर जान्थ्यो । ४/५ वटा भैंसी, ७/८ वटा गाई र २०÷२२ वटा बाख्रा हुन्थे । उनीहरुलाई घाँस पानी एक्लैले गर्नुपर्ने । उनीहरुको मायाले यताउता जान पनि सकिनँ । माइत टीका लगाउन गएर लाउनेबित्तिकै फर्किन्थे ।
तिहार
शिरै लाउने शिरफूल एसै राजाले बेची खाए, यसैमा राजाको आश मलाई छैन
चली जाऊ माइतीको देश
हे…बाबियोको खर जैसो हे… सोरठी रानीको चुलठी
यसैमा चुलठी हेरीमा हेरी मनै मेरो धार भयो ।


दसैंमा भन्दा तिहारमा बढी चहलपहल हुन्थ्यो । पुरुषहरु औंसीको दिनदेखि तिहारको भोलिपल्टसम्म पासा खेल्थे । खाने, बस्ने ठेगान नै त्यही हुन्थ्यो । महिलालाई घरको कामले हत्ते हुन्थ्यो, उता पुरुषहरु तास र पासा खेल्नमै भुल्थे । जित्नेहरु खुसी हुँदै फर्किन्थे, हार्नेहरु निन्याउरो अनुहार पार्दै । एक जनाले त घोडासमेत हारेका थिए पासामा ।


सोरठी पनि नाच्थें । सोरठी गीत सुन्दा, नाच हेर्दा आनन्द आउथ्यो । आजकल पासा खेल्न छाडे, सोरठी अझै पनि नाच्छन् तर पहिलाको जस्तो नाच गीत हुँदैन ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया