पोखरामा रगत अभाव

समाधान संवाददाता २०८० कार्तिक १५ गते १४:४९

पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ ।
रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थालेपछि अस्पतालहरूमा उपचाररत बिरामीलाई तत्काल रगत अभाव हुन नदिन सोमबार आकस्मिक रक्तदान कार्यक्रम आयोजनासमेत गरिएको छ । पोखरा ५ जिरो किमीमा गरिएको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए ।

‘दसैँका समयमा विभिन्न संघ, संस्थाले गर्ने रक्तदानका कार्यक्रम नियमित हुन सकेनन् । अहिले रगत अभाव भएपछि सबैलाई सहयोग गर्न आग्रह गरेका छौँ । आकस्मिक कार्यक्रम गरेर अभाव टार्ने प्रयास गरेका हौं,’ उनले भने ।
रक्त सञ्चार केन्द्रले अहिले रगत छैन भनेपछि सबैबाट सहयोग प्राप्त भएको जनाएको छ । सहज आपूर्तिका लागि दैनिक कार्यक्रम हुनुपर्ने प्रमुख ज्ञवालीले जनाए । प्रदेशको राजधानीसमेत रहेकाले पोखरामा दैनिक ७० देखि ७५ युनिट रगत आवश्यक पर्ने केन्द्रले जनाएको छ ।

प्रदेशका अन्य जिल्लाबाट समेत यहाँका अस्पतालमा बिरामी उपचारका लागि सिफारिस भएर आउने भएकाले पोखरामा रगतको माग उच्च हुने गर्दछ । आकस्मिक रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनबहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वतःस्फूर्त सहभागिताप्रति आभार व्यक्त गरे ।

Advertisement

‘मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति कास्की प्रहरी सदैव जनताको साथमा छ । प्रहरी जनताकै सेवाका लागि रहेको हुँदा जनताको सुरक्षाका साथै जनसेवाका कार्यमा प्रहरी सधैं साथमा रहन्छ’, उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया