पुतली र नेपाललाई पूरै जीवन

सञ्जय रानाभाट २०८० कार्तिक १९ गते १०:२४

पोखरा ।
कसैको नामले कर्म सम्झाउँछ, कसैलाई कर्मले नै नाम दिन्छ । कुनै बेलाको विश्वकै शक्तिशाली वेलायतमा जन्मिएका कलिन फिलिप स्मिथलाई कर्मले नाम दियोः पुतली बाजे । कालान्तरमा धेरैले चिन्ने र सम्झिने नाम यही बन्न पुग्यो ।


३० वर्षको लक्का जवान हुँदा नेपालीलाई पढाउन आएका विदेशी शिक्षक स्मिथ कालान्तरमा नेपाली नै बने । मानार्थ नेपाली नागरिकता पाउनुभएका अद्वितीय प्रतिभा पुतली बाजेलाई हामीले गुमाएका छौँ ।


लामो समयदेखि हरियो खर्क अस्पताल पोखरामा उपचाररत उनको शनिबार बिहान ३ बजे ८७ वर्षको उमेरमा निधन भएको हो । सोमबार बिहान शवयात्रासहित उनको अन्त्येष्टि गरिने भएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्य नेपालमा उनको अद्वितीय योगदान रहेको बताए । ‘उहाँले पुतलीलाई वातावरणसँग सम्बन्धित थुप्रै पुस्तक लेख्नुभएको छ । नेपालमा मात्र पाइने पुतलीका प्रजातिबारे बुझाउनुभएको छ । सुख, सयल नभनी मातृभूमि नै छाडेर पुतली र नेपालका लागि उहाँले गरेको योगदान कहिल्यै बिर्सन सकिँदैन ।’

Advertisement


प्रमुख आचार्यकै अगुवाइमा पुतली बाजेलाई सन् २०१७ मा रथारोहण गराइएको थियो । त्यो बेला प्रदान गरिएको राष्ट्रिय झन्डा आकृतिको सल र झोला पुतली बाजेले हिड्न सकुन्जेल छाडेनन् । उनका मामालाई पुतली मन पथ्र्याे । मामासँगै खेतमा गएर रङ्गीचङ्गी पुतली देखेका उनको मन पुतलीले यसरी आकर्षित गर्‍यो कि सास रहेसम्म यो लगाव रहिरह्यो ।

प्लस टु नसक्दै पासपोर्ट बनाउन हतारिने हामीले उहाँबाट जीवनमा एउटा उत्कृष्ट लक्ष्य लिन र त्यो लक्ष्यमा पुग्न अनेक अभाव, प्रतिकूलता झेलेर पनि संघर्ष गर्नुपर्छ भन्ने पाठ सिक्नुपर्छ ।

Advertisement


विस १९९३ मंसिर ९ गते लण्डन नजिकै जन्मिएका स्मिथ एमएस्सी पास गरेपछि २०२२ साल माघमा पोखरा आएका थिए । उनले विभिन्न ठाउँमा गणित र विज्ञान पढाए । पुतली बाजेका विद्यार्थी पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई त्यो बेला पनि समय मिल्यो कि पुतली समाउने दौडने गुरुलाई सम्झन्छन् ।


पुतली बाजेले नेपालका गाउँ गाउँ डुली पुतली संकलनसमेत गरेका थिए । पोखरा पृथ्वीनारायण क्याम्पसभित्र पुतली सङ्ग्रहालय नै छ । कर्मभूमिकै नागरिक बनेर मर्ने उनको धोको जीवनको उत्तराद्र्धमात्र पूरा भयो । हरेक वर्ष भिसा थप्दा लाग्ने शुल्कबाट बाच्न उनले नेपाली महिलासँग विवाहसमेत गर्नुभयो तर उनले सोचेजस्तो वैवाहिक सम्बन्ध चल्न सकेन ।


नेपाल सरकारले दिने वृद्ध भत्ता र बेलायत सरकारबाट पाउने पेन्सन मासिक १ सय २५ पाउन्डले उनको जीवन चलिरहेको थियो । भूकम्पमा करिब डेढ सय नेपाली गुमाएकै दिन उनलाई समेत हामीले गुमाएका छौँ ।


पुतली बाजेले पुतलीबारे दर्जनौं अनुसन्धानात्मक कृति लेखेका छन् । पुतली र झ्याउँकिरीसम्बन्धी ३० भन्दा बढी किताब प्रकाशित छन् । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपाने पुतली बाजेको जीवनबाट नेपालीले पाठ सिक्नुपर्ने बताउँछिन् । ‘प्लस टु नसक्दै पासपोर्ट बनाउन हतारिने हामीले उहाँबाट जीवनमा एउटा उत्कृष्ट लक्ष्य लिन र त्यो लक्ष्यमा पुग्न अनेक अभाव, प्रतिकूलता झेलेर पनि संघर्ष गर्नुपर्छ भन्ने पाठ सिक्नुपर्छ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया