साढे १० हजार झोलुंगे पुल

सञ्जय रानाभाट २०८० कार्तिक २२ गते १०:४६

पोखरा ।
लेकसाइडको बाराहीघाट पुगेका पर्यटकले मंगलबार फेवातालमात्र हेरेनन्, नेपालमा झोलुंगे पुलको विकास र अहिलेको अवस्थाबारे समेत बुझ्ने मौका पाए । पूर्वाधार विकास निर्देशनालयको आयोजनामा बाराही घाटमा राणाकालदेखि हालसम्म बनेका झोलुंगे पुलको विकासक्रम फोटोमार्फत प्रदर्शन गरिएको हो ।


दैलेखको अमल्तात्ल्यामा तुइनमा विद्यार्थीले खोला तरिरहेको दृश्यले धेरैको ध्यान तान्यो । त्यहीँ फोटोको तल भएको अर्काे फोटो थियो–फलामे झोलुंगे पुलमाथिबाट विद्यार्थी खोला तरिरहेको । लुम्बिनी प्रदेशको मैलानालामा बनेको काठे पुल पनि प्रदर्शनीमा समेटिएको छ । त्यो पुल अहिले भाँच्चिएको छ । सोही पुलको माथि बनेको छ, आधुनिक झोलुंगे पुल, त्यहाँबाट यात्रु हिँडिरहेका छन्, साइकल गुडाइरहेका छन् ।


स्याङ्जा, गुल्मी र पाल्पालाई जोडेको रिडी पुलको तस्बिर पनि प्रदर्शनीमा थियो । पुलमाथि २ महिला टिकटक बनाइरहेका थिए । अर्काे आकर्षण हो, बागलुङ–पर्वत जोड्ने ५ सय ६७ मिटर लामो झोलुंगे पुल । यो पुलले पनि पर्यटकीय गतिविधिमा सहयोग पुर्‍याएको छ । पुल हेर्नमात्र पर्यटक पर्वत र बागलुङ पुग्ने गरेको तथ्य तस्बिरले प्रष्ट गरेको थियो ।

Advertisement


प्रदर्शनीमा राणकालीन समयमा नेपालको भौगोलिक क्षेत्रमा रहेको दृश्य पनि देखाइएको थियो । सुदुरपश्चिम प्रदेशमा रहेको काठको साँघुभन्दा पनि धराप जस्तो देखिने तस्बिरमा पनि धेरैका आँअखा रोकिए । भारी बोकेर त्यो त्यही धरापबाट वारपार गर्नुपर्ने वाध्यताले दर्शकको मन तान्यो ।


‘आधुनिक पुलको विकास बागलुङबाट भयो’
स्विस विकास सहयोग नियोगको सहयोगमा नेपालका ग्रामीण क्षेत्रलाई लक्ष्य गर्दै साढे १० हजार झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिइएको थियो । सोही लक्ष्य पूरा भएको खुसीयालीमा पूर्वाधार विकास निर्देशनालयले फेवा किनारामा प्रदर्शनी गरेको टिबिएसयुका गण्डकी प्रदेश व्यवस्थापक नवराज मोक्तान बताउँछन् ।

Advertisement


उनले नेपालले लिएको १० हजार पुल निर्माण गर्ने लक्ष्यलाई प्रदर्शनीमा देखाउन खोजिएको सुनाए । मोक्तानले पहिलो झोलुंगे पुल सन् १९ सयदेखि बन्न थाले पनि आधुनिक पुल बन्न भने १९६४ देखि बनेको उल्लेख गरे । ‘गत आर्थिक वर्षमा १० हजारभन्दा बढी पुल निर्माण भएकोमा खुसीयाली मनाइएको छ । नेपालमा झोलुंगे पुल निर्माणअघिको अवस्था कस्तो थियो, अहिले कस्तो छ, त्यहीँ देखाइएको छ,’ उनले भने, ‘त्यो बेला सिमेन्ट प्रयोग हुँदैनथ्यो । चुना र काठ प्रयोग गरेर पुल बनाइन्थ्यो । सांग्लो पुल, फलामे पुल र काठेपुल थिए, काठे पुल भए पनि अहिलेको जस्तो अनुसन्धान गरेर बनाइँदैनथ्यो । काठमाथि ढुँगा बिछ्याइन्थ्यो ।’
नेपालमा आधुुनिक पुलको विकास बागलुङबाटै भएको उनले दाबी गरे । ‘जब बागलुङका एक स्थानीय मान्छे इण्डिया पुगे । आधुनिक प्रविधि सिकेर उनले पहिलो पटक बागलुङमा पुल बनाए । त्यसअघि बिना डिजाइन बनाइन्थ्यो,’ उनले भने । झोलुंगे पुलअघि नेपालमा तुइनबाटै खोला तर्ने र दुई डाँडा जोड्ने गरिएको जनाए ।


नेपालमा १० हजार ४ सय ९ वटा पुल बनिसकेका छन् । तीमध्ये गण्डकीमा ४ सय पुल छन् । मोक्तानले झोलुंगे पुल निर्माण भएपछि १० लाखभन्दा बढी व्यक्तिलाई व्यवसाय र रोजगारीमा सहयोग भएको दाबी गरे । ‘अहिले नेपालमा झोलुंगे पुलको सुविधा उपयोग गर्नेहरु प्रति १ सयमा २८ जना विद्यार्थी वा शिक्षक छन् । विद्यालय मजाले चल्छ, हिउँद होस् या वर्षा,’ उनी भन्छन् ।


देशको सातै प्रदेशमा सञ्चालनमा रहेको यो कार्यक्रम झोलुंगे पुल रणनीति २००६ तथा झोलंगे पुल निर्देशिका २०१० ले प्रबन्ध गरे अनुरुप कार्यान्वयनमा भइरहेको छ । सन् १९५० को दशकमा स्वीस विज्ञ सल्लाहकार टोली नेपालको विकास योजनाले सहयोग पु¥याउँदै आएकोमा अब बाहिरिनेछ । यद्यपि नेपालमा अझै धेरै ठाउँमा झोलुंगे पुल निर्माण गर्न बाँकी छ ।


स्वीस विकास आयोजना बाहिरिए पनि अत्यावश्यक ठाउँमा पुन निर्माण हुने उनको भनाइ छ । ‘पुलको आवश्यकता अहिले फेरिएको छ । अब झोलुंगे पुल भन्दा पनि मोटरेबल पुल र केबलकारलाई जोड दिनुपर्ने अवस्था छ,’ उनले भने ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया