विमान चार्टर गरेर चिनियाँ धावक पाेखरा आउँदै

सञ्जय रानाभाट २०८० मंसिर ३ गते ११:०५

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पहिलोपटक असार ६ गते अन्तर्राष्ट्रिय चार्टर उडान भएको थियो । विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि चीनको छेन्दु–तियान्फुबाट अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ पर्यटक र खेलाडी लि एरसिचुवान एयरलाइन्सको चार्टर विमान अवतरण गरेको थियो ।


त्यसबेला फेवातालमा ‘नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट फेस्टिभल’का लागि १ सय ३० जना चिनियाँ पर्यटक तथा खेलाडीहरुलाई चार्टर उडानबाट ल्याइएको थियो । हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ४ अन्तर्राष्ट्रिय विमान अवतरण गरेका छन् । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ यात्रु लिएर ड्रुक एयरले भदौ २३ गते पोखरामा दोस्रो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसपछि कात्तिक २२ गते एकै दिन दुई अन्तर्राष्ट्रिय विमान पोखरामा अवतरण भए ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिपछि चीनले नेपाललाई दिएको राहत लिएर चिनियाँ सेनाका २ कार्गो विमान विमानस्थलमा अवरतण भएको थियो । त्यसपछि पोखरामा अन्तर्राष्ट्रिय विमान पोखरामा अवतरण गरेका छैनन् । तर, छिट्टै पोखरामा अर्को अन्तर्राष्ट्रिय विमान अवतरण गर्ने भएको छ । चिनियाँ धावक सहितको टोली मंसिर ७ गते अर्को विमानमार्फत पोखरा विमानस्थलमा अवतरण गर्ने भएको छ ।

Advertisement


नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चाइनिज राजदूतावासको आयोजना र होटल संघ पोखरा, युनाज माउन्टेनियरिङ एसोसिएसनको संयोजनमा पोखरादेखि हुन लागेको ‘वार हर्स पोखरा–माउण्टेन क्रस क्रन्टी कम्पिटिसनमा’ सहभागी हुन १ सय ४ जनाको चिनियाँ धावकसहितको टोली चार्टर विमानमार्फत पोखरा आउने भएको हो । जसमा ७३ जना खेलाडी, केही डाक्टर, प्राविधिक तथा चिनियाँ पर्यटक हुनेछन् ।


पोखरा माउण्टेन क्रस क्रन्टी प्रतियोगितमा ४ इभेन्ट हुनेछन् । प्रतियोगितामा टुरिजम पर्यटनलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ । चार इभेन्ट मध्ये टिम, इन्डिभिजुअल, ह्यापी रन र स्टुडेन्ट रन हुने कार्यक्रमका संयोजक विश्वशंकर पालिखेले बताए । प्रतियोगितमा चिनियाँ, नेपालीसहित ६ सय जना खेलाडी सहभागी हुने पालिखेले सुनाए । ‘यो प्रतियोगिता मात्र नभएर नेपालको उत्तर र दक्षिण र समग्र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य हो,’ पालिखेले सुनाए । लेकसाइडको बाराही घाटबाट सुरु हुने प्रतियोगिता मंसिर ९ गते साढे ७ बजेबाट सुरु हुनेछ ।

Advertisement

टिम इभेन्टतर्फ २० टोलीबिच प्रतिस्पर्धा हुनेछ । जसमा ६० जना प्रतियोगी सहभागी हुनेछन् । यसमा दौड, साइक्लिङ र रोइङ गर्दै ४० किलोमिटर पार गर्नुपर्ने हुन्छ । यस्तै, इन्डिभिजुअल इभेन्टतर्फ ३८ किलोमिटरमा १ सय ४० जना प्रतियोगीबिच प्रतिस्पर्धा हुनेछ । यस्तै, ह्यापी रनतर्फ कति प्रतियोगी सहभागी हुने यकिन नभएको पालिखेले बताए । यो दौड ५ किलोमिटर हुनेछ । यस्तै, स्टुडेन्ट रनमा २ सय जना पुरुष प्रतियोगि सहभागी हुनेछन् । १ सय जना महिला प्रतियोगी सहभागी हुनेछन् । जुन ५ किलोमिटर मात्र हुनेछ ।


टिम र इण्डिभिजुअलतर्फ बाराही घाटबाट सुरु हुँदै स्टाटिङ पोइन्ट, सेदी चोक, राष्ट्रीय वाणिज्य बैंक, होटल केसी, ड्यामसाइड, पार्दी पुल, डेभिज फल्स फुर्से खोलामा गएर साइकल चेन्ज हुनेछ । यसपछि कमेरे राम्दी, मट्टीखान रिसोर्ट रामकोट, कुभिन्डे भञ्ज्याङमा गएर साइकल ड्रप गर्नुपर्ने छ । यसमा उल्लेरी, खरीखानी हुँदै गौरी प्राइमरी स्कुल लिचीबाटमा गएर बोट चेञ्ज गर्नुपर्छ । फेवातालमा बोट रेस हुनेछ । यस्तै, ह्याप्पी रन र स्टुडेन्ट रनमा बाराही घाटबाट सुरु भएर सेदी हुँदै राष्ट्रवाणिज्य बैंक बिरौटाबाट रिर्टन हुनेछ ।


टिम इभेन्टको प्रथम पुरस्कार ३ लाख ६० हजार, दोस्रो पुरस्कार २ लाख ८८ हजार, तेस्रो पुरस्कार २ लाख १६ हजार, चौथौ पुरस्कार १ लाख ४४ हजार र पाँचौं पुरस्कार ९० हजार छ । यस्तै, इन्डिभिजुअलतर्फ प्रथम १ लाख ४४ हजार, दोस्रो १ लाख ८ हजार, तेस्रो ५४ हजार, चौथौं १८ हजार र ९ हजार छ ।


यस्तै, स्टुडेन्टतर्फ हुने महिला तथा पुरुष प्रतियोगितमा प्रथम हुनेले २५ हजार, दोस्रो २० हजार, तेस्रो हुनेले १५ हजार, चौैंथोले १० हजार र पाँचौंले ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि १८ लाख ३३ हजार खर्च हुने संयोजक विश्वशंकर पालिखेले सुनाए । उनका अनुसार कार्यक्रम गर्न ७० देखि ८० लाख खर्च हुने अनुमान छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया