एभरेस्टको रक्तदान ९ गते

समाधान संवाददाता २०८० मंसिर ३ गते १२:५१

पोखरा ।
पोखराबाट प्रसारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले मंसिर ९ गते शनिबार रक्तदान कार्यक्रम गर्ने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गर्न लागेको हो ।
दसैंतिहार, नेपाल सम्वत र छठ पर्वका कारण अन्य संघसंस्थाले नियमित रक्तदान नगर्दा पोखरामा रगतको अभाव भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गर्न लागेको रेडियोले जनाएको छ ।


‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाजका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने उनले बताए । ‘एफएमले आफ्नो वार्षिक तालिका अनुसारै रक्तदान कार्यक्रम गर्न लागेको हो ।

चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा हुनसक्ने रगतको अभाव पूर्ति गर्न पनि यो कार्यक्रम सहयोगी हुनेछ भन्ने हाम्रो विश्वास हो,’ उनले भने । रक्तदान कार्यक्रमको तयारी सुरु भएको रेडियोले जनाएको छ । रेडियोले ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित रक्तदान कार्यक्रमको क्याम्पेनिङ पनि शुरु गरिसकेको सम्पादक श्रेष्ठले बताए ।

Advertisement


यसअघि रेडियोले अघिल्लो वर्ष गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन गरेर गण्डकी प्रदेशकै सर्वाधिक रगत संकलकको रुपमा पुरस्कृत भएको थियो । पहिलो वर्ष गरेको रक्तदान कार्यक्रममा १८८ युनिट रगत संकलन गरेको थियो । एभरेस्ट मिडिया हाउसले एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकम सञ्चालन गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया