रत्न मन्दिर हेर्न पुगेका भन्छन्–दरबारको भन्दा घरकै गार्डेन राम्रो

सञ्जय रानाभाट २०८० मंसिर ५ गते १०:३४

सञ्जय रानाभाट, पोखरा ।
तनहुँका गोपाल थापा एक महिने नेपाल बसाइको एक दिन छुट्याएर शनिबार पोखरा घुम्न निस्के । लेकसाइडको हल्लनचोक ओर्लिएपछि सीधै फेवाताल नियाले । यसपछिको अर्को गन्तव्य थियो–लेकसाइडकै रत्न मन्दिर । तनहुँको आँबुखैरेनी घर भएका थापा परिवारका लागि लेकसाइड र फेवाताल नौलो थिएन । ५ वर्षपछि फेवाताल पुगेका उनले खास भिन्नता पाएनन् । यसपछि सोझिएका थिए– रत्न मन्दिर ।


मन्दिरको प्रवेशद्वारमा प्रतिपरिवार सय रुपैयाँ तिरेर प्रवेश गरे पनि मन्दिर खास नलागेको थापा बताउँछन् । ‘जुन उद्देश्यले रत्न मन्दिर आएर टिकट काटियो । भित्र आएपछि बेकार जस्तो भयो । मन्दिर त फोटोमै देखिएको थियो । यही गाडेन हेरौं । मन्दिर (दरबार) भित्र के छ रहस्य नै रह्यो । टिकटमा खर्च गरिएको पैसा किन खर्च गरियो जस्तो भयो । यस्तो गार्डेन सबैको घरमा हुन्छ । मेरो घरमा यो भन्दा पनि छ,’ उनले भने ।


रत्न मन्दिर पुगेका प्रायः सबैले गुनासो यस्तै हुन्छ । कतिपयले त भित्र सुरक्षामा रहेका नेपाली सेनाका सेक्युरिटी गार्डसँग झगडा गर्छन् । ‘यस्तो बस्न नमिल्ने, मन्दिर (दरबार) भित्र प्रवेश गर्न नमिल्ने भएपछि केका लागि टिकट शुल्क लिएको ? भन्दै हामीसँग झगडा नै गर्छन्,’ ती नेपाली सेनाका सुरक्षाकर्मीले भने । टिकट काट्दा जसरी सहज भएर भित्र छिर्छन् ।

Advertisement

बाहिर आउँदा तथानाम गाली गर्दै स्वदेशी र विदेशी पर्यटक फर्केने गरेको कर्मचारी नै बताउँछन् । उनका अनुसार कतिपय पर्यटकले गेटमा राखिएको गुनासो पेटीमा खानेपानी र बस्ने ठाउँको अभाव रहेको भन्दै आक्रोश पोख्ने गरेका छन् । रत्न मन्दिरका इकाइ प्रमुख मीनप्रसाद लामिछाने पनि मन्दिरको ढोका नखुल्दा गुनासो आउने गरेको बताउँछन् ।

रत्न मन्दिरको मूल दरबार भवन अझै बन्द छ, बगैंचा पनि आकर्षक छैन

Advertisement


‘मन्दिरभित्र प्रवेश गर्ने संख्या पनि दिन प्रतिदिन घट्दो छ । सुरुका तीन महिना राम्रो भएपनि अहिले कुनै दिन त शुन्य पर्यटक हुने गरेका छन्,’ प्रमुख लामिछानेले भने । सुरुआती महिनामा आउने संख्या र अहिले महिनाभर आउने पर्यटकको संख्या उस्तै भएको उनले सुनाए ।


‘हाम्रो नेपाल ट्रस्टको केन्द्रीय कार्यालयबाटै आएर अनुगमन गर्नुभएको थियो । हामीले पनि त्यहाँ आएका सुझावहरु संकलन गरेर प्रत्येक महिना प्रतिवेदन पनि बनाएका छौं । प्रतिवेदनमा यहाँ आएका सुझाव, गर्नुपर्ने काम लगायत सबै छन् । तर, अहिले मन्दिरभित्र प्रवेश गर्न सबै तयारी भएको जस्तो लाग्दैन, केन्द्रबाट खोल्ने निर्देशन पनि छैन,’ उनले भने । यसअघि पोखरा महानगरपालिकालाई स्वामित्व दिएर मन्दिर प्रवेश खोल्ने भनिएपनि त्यो प्रक्रिया अगाडि बढ्न नसकेको उनले सुनाए ।


पर्यटन तथा नागरिक उडड्यन मन्त्री सूदन किराँतीको प्रमुख आतिथ्यतामा जेठ १५ गतेदेखि सर्वसाधारणलाई खुला गरिएको थियो । राजा महेन्द्रले रानी रत्नका लागि उपहारस्वरूप २०१५ सालमा रत्न मन्दिर बनाएका थिए । गणतन्त्र स्थापनापछि राजाको उक्त दरबार नेपाल ट्रस्टको स्वामित्वमा ल्याइएको थियो । काठमाडौंको नारायणहिटी राजदरबार सर्वसाधारणका लागि खुलिसक्दा पनि रत्न मन्दिर बन्दै रहँदा आलोचनासमेत भएको थियो ।

पोखरेली पर्यटन व्यवसायीले रत्न मन्दिर खुलेपछि पर्यटक बढ्न अपेक्षा गरेका थिए । तर, पर्यटन व्यवसायीले सोचे अनुरुप रत्न मन्दिर हेर्न पुग्ने संख्या ज्यादै न्यून छ । अझ ट्रस्टका कर्मचारी भन्छन्–पर्यटक शून्य छ भन्दा फरक पर्दैन । आफूहरु दिनभर टहलिएर दिन जाने गरेको कर्मचारी सुनाउँछन् । इकाइ प्रमुख लामिछाने पनि उक्त कुरा स्वीकार्छन् । ‘विदेशी त र्छिदै र्छिदैनन् भन्दा हुन्छ । छिरेका पनि छिमेकी राष्ट्र भारत चीन अर्थात सार्क राष्ट्रका होइनन् । युरोपदेखि घुम्न आएका हुन्छन्,’ प्रमुख लामिछानेले भने ।


२०६७ मंसिर २० गते नेपाल ट्रस्टको स्वामित्वमा ल्याइएपछि उक्त ठाउँको संरक्षण ट्रस्टले नै गर्दै आइरहेको छ । १ सय ७४ रोपनी ४ आना २ दाम रोपनी क्षेत्रफलमा फैलिएको रत्न मन्दिरभित्र साना ठूला १० वटा भवन छन् । सर्वसाधारणका लागि मन्दिरभित्र छिर्न दिँदा भिडिओ फुटेजबाटै देखाउने ट्रस्ट व्यवस्थापले भने पनि त्यो हुन सकेको छैन । मन्दिरभित्रै प्रवेश गर्न दिँदा भौतिक संरचना टुटफुट हुने डर ट्रस्ट संरक्षकलाई छ । दरबार परिसर डुल्न नेपालीले एक सय रुपैयाँ र विदेशीले दुई सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।

‘६ महिनामा १५ हजारले टिकट काटे’
रत्न मन्दिर इकाइ कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो महिना लगातार पर्यटकको संख्या घट्दो छ । २०८० जेठ १५ गते मन्दिर खुलेसँगै केही दिन त नेपाली पर्यटकको घुइँचो नै लाग्यो । जेठ र असार मसान्तमा मात्र ८ हजार ५ सय ६४ पर्यटकले मन्दिर परिसर घुमे । तीमध्ये ५७ जना विदेशी पर्यटक थिए, बाँकी सबै स्वदेशी हुन् । यसपछिका दिनमा रत्न मन्दिर पुग्ने पर्यटक शिला खोजे जस्तो खोज्नुपर्ने अवस्था भएको व्यवस्थापक बताउँछन् ।


कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार साउन महिनामा ३ हजार ६ सय ९९ जना पर्यटकले मन्दिर प्रवेश गरेका छन् । तीमध्ये १० जना विदेशी पर्यटक हुन् । भदौ महिनामा यो संख्या ह्वातै घट्यो । ८ सय ४९ जनाले मात्र मन्दिर हेर्न पुगे । तीमध्ये १४ जना विदेशी हुन् । असोज महिनामा पर्यटकको संख्यामा केही सुधार भएपनि त्यो संख्या पनि न्यून छ । असोजमा १ हजार ५८ जना पर्यटक मन्दिर हेर्न पुगे । तीमध्ये ४७ जना पर्यटक हुन् । कात्तिक महिनामा ६ सय ६६ जना पर्यटक पुगे । तीमध्ये ३० जना पर्यटक हुन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया