इमेज सहकारी अध्यक्षका १८ घर र ४४ कित्ता जग्गा

समाधान संवाददाता २०८० मंसिर ६ गते १०:३५

पोखरा ।
बागलुङमा केन्द्रित भई पोखरामा पनि सञ्चालित इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली सम्पर्कविहीन भएको ६ महिनापछि उनको धारणा र सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनी सहकारी समस्याग्रस्त भएपछि सम्पर्कविहीन थिए । मंगलबार फेसबुक लाइभबाट उनले एक अपिल सार्वजनिक गरेका छन् । सहकारीका बचतकर्ताहरुलाई आफ्नै नामको घरजग्गासमेत हस्तान्तरण गर्न तयार रहेको भन्दै अध्यक्ष नेपालीले व्यक्तिगत सम्पत्ति विवरण पनि सार्वजनिक गरेका छन् ।

३ अर्बभन्दा बढीको त्यो सबै सम्पत्ति सहकारीबाट नभई आफैले कमाएको उनले बताएका छन् । तर बचतकर्ताहरुको बचतवापत फिर्ताका लागि आफू र श्रीमतीका नामको सम्पत्ति हस्तान्तरण गर्न तयार रहेको उनको भनाइ छ । ‘हामी आफैले कमाएको सम्पति हो तर यो सम्पति करिब ३ अर्बभन्दा बढीको सम्पति हो भन्ने कुरा सबैलाई जानकारी गराउन चाहान्छु,’ उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘तर सहकारीका बचतकर्ताहरुको समस्या समाधानका लागि सम्पूर्ण बचतकर्ताहरुको नाममा मेरो र मेरो श्रीमतीको नामको घरजग्गा विभिन्न मालपोत कार्यालयमा गई हस्तान्तरण गर्नका लागि चाहन्छु ।’ बचतकर्ताहरुलाई फिर्ताका लागि आफ्नो सम्पत्ति बिक्री वितरणको वातावरण मिलाइ दिन राजनीतिक दल, कानुनी निकाय, पत्रकार, नागरिक समाज र सरोकारवालालाई उनले आग्रह गरेका छन् ।

सहकारीमा समस्या आएपछि सबैलाई एकैचोटि बचत फिर्ता गर्न नसकेको र ६ महिनाको समय माग्दा पनि केहीले पर्खन नसकेको उनको गुनासो छ । ‘घरमा आई डर, धम्कीसमेत गर्नुभयो । त्यस कारण घरमा बस्ने वातावरण भएन,’ उनले भनेका छन्, ‘अर्को कुरा केही साथीहरूको अगुवाइमा मुद्दा दर्ता गर्ने काम पनि भयो । त्यस कारण म बाहिर निस्केर काम गर्ने अवस्था भएन । त्यसैले ६ महिनाभित्र हाम्रो सम्पति घरजग्गाहरु बिक्री वितरण गर्ने वातावरण नभएको सबैलाई जानकारी गराउँदछु ।’

Advertisement

बचतकर्ताहरुका नाममा हस्तान्तरण गर्ने आश्वासन

अध्यक्ष नेपालीले आफू र श्रीमतीको नाममा बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा ४५ कित्ताहरुमध्य बुर्तिबाङमा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर र ४४ वटा कित्ताहरुमा जग्गा भएको उल्लेख गरेका छन् । अनि भनेका छन्, ‘तर यी सम्पतिहरु इमेजको पैसाले जोडेको हो भन्ने नसोच्नु होला ।’

सहकारी समस्या परेपछि घरमा हतियारसहित आई आफू, श्रीमती अनी सानी छोरीको ज्यान मार्ने धम्की समेत दिइएको, ६ लाख बचत भएको व्यक्तिहरुले ५ करोडको घरजग्गा पास गरिदिने भनेर दबाब दिएको कारणले केही समयका लागि घर बाहिर बस्न बाध्य भएको अध्यक्ष नेपालीले बताएका छन् ।

Advertisement

बचतकर्ताहरुलाई रकम फिर्ता गर्न ढिला भएकोमा सबै बचतकर्ता, शुभचिन्तकसँग उनले क्षमा मागेका छन् । ‘सबैलाई थाहा भएको कुरा हो हामी घरजग्गा सम्पति नभएको मान्छे हैनौं । हामीहरुले चल अचल सम्पति नुनदेखि सुनसम्म त्यहाँ नई राखी छोडेको छौं,’ उनले भनेका छन्, ‘हामी केही पनि लिएर हिँडेका छैनौं । यस विषयमा सबै शुभचिन्तकलाई जानकारी गराउँछौं ।’
७ वर्षदेखि ढोरपाटन नगरपालिकाको मेयर रहेका नेपालीले सोही जिम्मेवारीका कारण बुर्तिबाङमा बस्ने भएकाले सहकारीमा समय दिन नसकेको कारण र सबै बचतकर्तालाई एकैपटक बचत फिर्ता माग्न आउँदा सहकारीमा समस्या भएको बताएका छन् ।

‘सबैलाई जानकारी छ कि एकैचोटि बचत फिर्ता लिन जाने हो भने बैंकहरुमा पनि समस्या हुन्छ यो पनि सबैले बुझेकै कुरा हो,’ उनले भनेका छन् । उनी अध्यक्षताको इमेज सहकारीले झन्डै २ अर्ब रुपैयाँ अपचलन गरेको आरोप छ । तर नेपालीले भने त्यतिका रकम नभएको र कतिपयले भएभन्दा धेरै बढी भनिरहेको उल्लेख गरेका छन् । बचतको ९० प्रतिशत ऋण स्वरुप लगेकाले पनि पूरै बचत फिर्ता माग्ने गरेको नेपालीको दाबी छ ।

बचत फिर्ता लगिसकेकाले नि नलगेको दाबी गरेको र ऋण लिएकाले नतिरिरहेको उनको भनाइ छ । बागलुङमा १ अर्ब ३८ करोड र पोखरामा ६४ करोड रुपैयाँको दाबी बचतकर्ताहरुबाट प्रहरीमा उजुरी परेको छ । ढोरपाटन नगरपालिकाका जनतालाई मेयर नेपालीले अमूल्य भोटको कदर गर्दै सेवाका लागि छिटै आउने प्रतिबद्धता गरेका छन् ।

तपाईको प्रतिक्रिया