काेरला नाका खुल्यो, व्यापार सुरु

सुन्दरकुमार थकाली २०८० मंसिर ७ गते १०:४९

जोमसोम ।
उपल्लो मुस्ताङको लोमान्थाङ ३ ठिंगरका कर्मा सम्टुक गुरुङ यतिखेर जोमसोममा चाइनिज सामान बेच्न व्यस्त छन् । उनले जोमसोम बजारको पुरानो काठेपुल नजिकको सडक छेउमा उत्तरी कोरला नाका हुँदै ल्याएका चाइनिज सामान फुटपाथ व्यापारी जस्तै फिजाएका छन् ।


उनले कोरला नाकाको व्यापारिक स्थलबाट जुत्ता, चप्पल, ज्याकेट, ट्राउजर, मोजा, ब्ल्याङेकट, सोफासेटमा राख्ने फर्म, थर्मस लगायतका सामान बिक्रीमा राखेका छन् । गुरुङले यसपालि कोरलाबाट ३ खेप सामान ल्याइसकेका छन् ।


यी सामान सकिएपछि फेरि सामान लिन कोरलानाका जाने उनले सुनाए । जोमसोमबाट कोरलाको दूरी १ सय १० किमी छ । घरबाट बिहानै हिडे नाका पुगेर सामान लोड गरी जोमसोम आइपुग्न सकिन्छ । नाका केही दिनअघि मात्रै खुलेकाले चिनियाँ उत्पादनको माग बढी भएको गुरुङको भनाइ छ ।

Advertisement


‘ढुवानी खासै धेरै लाग्दैन, भन्सार पनि सस्तै छ,’ व्यापारी गुरुङले भने, ‘थोरै थोरै नाफा खाएर धेरै सामान बिक्री गर्नेतर्फ लागेको छु । सामान सकिएमा लिन जान कुनै समस्या छैन् । ठिङ्गरका कर्मा जस्तै उपल्लो मुस्ताङका धेरै स्थानीय व्यापारी अहिले चिनियाँ बजार लिजीबाट सामान ल्याएर तल्लो मुस्ताङमा बेच्न व्यस्त छन् ।

खेतीपाती र चाडपर्व सकिएलगत्तै बेंसी झर्ने उनीहरु यसपालि चिनियाँ सामान ल्याएर तल्लो मुस्ताङमा बेच्न व्यस्त छन्

Advertisement


नाका खुलेपछि स्थानीयको वैकल्पिक रोजगारी सुरु भएको हो । अहिले जोमसोममा दिनहुँ जसो हुलका हुल चिनियाँ सामान बिक्री गर्न उपल्लो मुस्ताङी आएका छन् । नाका खुलेपछि आफूहरुलाई व्यापार गर्न सजिलो भएको लोमान्थाङका व्यापारी पेमा आङ्गेल गुरुङले सुनाए ।


उनले चिनिया सामान लिन जाँदा स्थानीय उत्पादन लिएर जाने गरेको उल्लेख गरे । कोभिड तथा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै चीनले ४ वर्षअघि एक पक्षीय रुपमा बन्द गरेको नेचुङ—लिजी नाका बाह्रै महिना खुला भएसँगै स्थानीयलाई वैकल्पिक राजगारीको ढोका खुलेको हो । नाका खुलेपछि मुस्ताङका पसलदेखि फुटपाथसम्म चिनियाँ उत्पादन देखिन थालेका छन् ।


कोरला बोर्डरको लिजीमा फुटकर तथा होलसेल पसल पनि रहेको व्यापारी आङ्गेल गुरुङको भनाइ छ । घरायसी प्रयोजनमा सामान किन्नेले फुटकर र बिक्रीका लागि सामान किन्न जानेले होलसेल व्यापारीसँग सम्पर्क गर्ने गरेका छन् । सीमापारिबाट खाद्यान्न, किनारा, कस्मेटिक, लत्ता कपडा, निर्माण सामग्री, विद्युतीय उपकरणका साथै भेडाच्यांग्रासमेत आयात ल्याउने गरिएको थियो ।


विगतमा अधिकांश उपल्लो मुस्ताङी कात्र्तिकअगावै जाडो छल्न बेसी झरिसक्थे । उपल्लो मुस्ताङमा खेतीपाती, यार्तुङ र तिजी पर्व सकिएलगत्तै जाडो छल्न बेसी झर्ने चलन थियो । तर, यस वर्ष नाका खुल्ने भेउ पाएपछि अधिकांश उपल्लो मुस्ताङी गाउँमै छन् । उनीहरु अहिले चिनियाँ सामग्री ल्याउँदै बिक्री गर्न व्यस्त छन् ।


जिल्लामै वैकल्पिक आम्दानी गर्ने मार्ग भेटेपछि उनीहरु बेंसी नझरेका हुन् । बेसीमा घुम्ती व्यापार, व्यवसाय गरी उनीहरु गर्मी सुरु भएपछि वैशाखमा घर फर्किन्थे । तत्कालका लागि उपल्लो मुस्ताङका २ गाउँपालिकाका नागरिकलाई मात्र सीमापार पासका आधारमा कोरला नाकाको ढोका खुला भएको छ ।


नाकाबाट आयात गरिने चिनियाँ सामानको सोमबारदेखि भन्सार उठाउन सुरु गरिएको छ । मुस्ताङ भन्सार कार्यालयले चिनियाँ सामानको राजस्व संकलन गर्न ३ कर्मचारी खटाएको छ । भन्सार कार्यालयमा नायब सुब्बा होमबहादुर बिष्ट, कम्प्युटर अपरेटर दीलिप कुँवर र कार्यालय सहयोग टसीनर्बु गुरुङ छोसेर स्थित नेचुङ भन्सार कार्यालयमा खटिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख डालेश्वर अर्यालले जानकारी दिए ।


सोमबार पहिलो दिन ८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । नाका खुलेसँगै चिनिया बजारमा गएर सामान किन्न दैनिक ५० देखि सय मुस्ताङी जाने गरेका छन् । ठूला व्यापारी भने दर्जनमात्र रहेको भन्सारमा खटिएका नायव सुब्बा बिष्टले उल्लेख गरे । स्थानीय व्यापारीलाई करको दायरामा ल्याउन कर शिक्षा दिने तयारी भएको छ ।


‘हामी कहाँ प्लान क्वारेन्टाइनमात्र छ, पशु क्वारेन्टाइन छैन,’ उनले भने, ‘पशु क्वारेन्टाइन र खाद्य परीक्षण क्वारेन्टाइनको व्यवस्थापन आवश्यक देखिन्छ ।’ हाललाई चिनियाँ बजारबाट आयात गरिएका सामानको मूल्य सूची हेरेर राजस्व संकलन गर्ने गरिएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया