पोखरामा दन्तरोगको अन्तर्राष्ट्रिय सम्मेलन

समाधान संवाददाता २०८० मंसिर १७ गते ११:१३

पोखरा ।
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन नेपालको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय मुख तथा दन्त स्वास्थ्य सम्मेलन पोखरामा भएको छ । सम्मेलनमा नेपाल र वंगलादेशका गरी १ सय ५० जना सहभागी थिए ।


कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सामाजिक विकास र स्वास्थ्य क्षेत्रमा बराबरी बजेट विनियोजन गरी जनस्वास्थ्यमा केन्द्रीत हुन खोजेको सुनाइन् । उनले सर्वसाधारणको दन्त तथा मुख स्वास्थ्यका समस्या समाधान गर्न र डेन्टल हाइजिनिस्टका माग सम्बोधन गर्न मन्त्रालय गम्भीर भएको सुनाइन् ।


‘म प्रदेशका अस्पतालहरुमा जाँदा दन्त उपचार सेवा रहे÷नरहेको सोध्ने गरेकी छु । चासोले मात्र समस्या समाधान हुँदैन । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबाट यसलाई सम्बोधन गर्ने प्रयास गर्ने छु,’ उनले भनिन् ।

Advertisement


एसोसियसनका केन्द्रीय अध्यक्ष माइकल देवकोटाले दन्त स्वास्थ्यबारे अगुवा बनेर काम गर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरे । उनले विद्यालय तहबाटै दन्त रोगबारे जानकारी र कमसेकम पालिका स्तरका अस्पतालमा दन्त उपचार गर्न सक्ने जनशक्ति पु¥याउन सके सर्वसाधारणले ठूलो राहत महसुस गर्ने उल्लेख गरे ।


बंगलादेश डेन्टल टेक्नोलोजिस्ट एसोसियसनका अध्यक्ष इक्रम हुसेन बाबुले नेपालको डेन्टल हाइजिनिस्टको संस्थासँग ४ वर्षदेखि सहकार्य हुँदै आएको जनाउँदै आगामी वर्ष आफूहरुले यस खालको सम्मेलन आयोजना गर्ने जनाए ।

Advertisement


एसोसियसनका गण्डकी अध्यक्ष युवराज(अर्जुन) पौडेलले डेन्टल हाइजिनिस्टहरुको व्यवस्थापनमा सरकारले ध्यान नदिएको गुनासो गरे । तीन वर्षको औपचारिक शिक्षा लिएका डेन्टल हाइजिनिस्टहरुहरुको दरबन्दी सिर्जना, पदपूर्ति, मान्यता प्रदान लगायतका क्षेत्रमा अझै सरकार उदार नभएको उनको गुनासो छ ।


कार्यक्रममा संस्थाका केन्द्रीय प्रवक्ता सरोज अधिकारी लगायतले बोलेका थिए । सम्मेलनमा गिजारोग विशेषज्ञ डा दिलीप कुँवर, वरिष्ठ डेन्टल सर्जन विश्वदीप खरेल र एनेस्येसियोलोजिस्ट अनिलकुमार यादवले विभिन्न विषयमा प्रस्तुति राखेका थिए । सम्मलेनका सहभागीले नेपालमा दन्त रोगका समस्या, सरकारी पक्षको उदासिनता, चाल्नुपर्ने कदम, डेन्टल हाइनिनिस्टहरुका समस्या आदिबारे गहन छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया