फेवाताल किनाराका जलारी भन्छन्: ‘फेवातालमा माछा सकिएझैं जलारी पनि सकिनुपर्ने हो ?’

सञ्जय रानाभाट २०८० मंसिर २० गते १०:४०

पोखरा ।
‘फेवातालमा माछा र तालको सम्बन्ध टुट्दै छ । तालमै आश्रित हामी जलारी समुदायले अब के गर्ने होला । गुजारा कसरी चलाउने भन्ने कुराले पिरोलिरहन्छ,’ संसदीय पत्रकार मञ्च गण्डकीले मंगलबार फेवातालको किनारा खपौदीमा गरेको नागरिक सुनुवाइमा स्थानीय शैलेन्द्र जलारीले गुनासो पोखे ।


‘पुस्तौंदेखि बसोबास गर्दै आइरहेका छौं । राज्यले कायम गर्ने भनेको ६५ मिटरको मापदण्डले पनि त्रसित छौं । अहिले परम्परागत पेशाबाट पनि टाढिरेहका छौैं । अब गुजारा कसरी चलाउने ?’ मत्स्य व्यवसायी संघका पूर्व अध्यक्ष शैलेन्द्रले प्रश्न गरेपछि ताली परर आयो । ताली पिट्ने सबै जलारी समुदायका हुन् । यसरी आफ्नो दुख पोख्ने शैलेन्द्र जलारी मात्र होइनन्, नागरिक सुनुवाइमा १० जनाभन्दा बढी स्थानीयले सर्वोच्च अदालतले फेवालतको विषयमा गरेको फैसला, अबको जलारी पेसा र दैनिक जीवनमा भोगिरहेको खानेपानी समस्या दुख गण्डकी प्रदेश सभाका समितिका सभापति, पूर्व मन्त्री, सांसद र वडाध्यक्षसँग बिसाएका थिए ।


स्थानीय रामचन्द्र जलारीले पुस्तौंदेखिकै आयआर्जनको बाटो जलारी भएपनि ०३२ सालपछि ताल पुरिँदै आउँदा अहिले माछा हराउन थालेको सुनाए । ‘फेवातालमा १० वटा डोजर चले । त्यसबेला फेवाताल पुरियो । विस्तारै आर्यआर्जन पनि हरायो । अहिले आर्यआजन जिरो जस्तो छ,’ उनले भने, ‘त्यसबेला पोखरामा माछा बेच्न नसकेर काठमाडौं लगेरसम्म बेचियो । तर, अहिले दिनभरि लागे पनि १ किलो मार्न सकिन्नँ ।’

Advertisement


फेवातालमा प्रत्येक वर्ष अध्ययन विना हालिने माछाका भुराले पनि तालका रैथाने माछा हराउन उनले सुनाए । ‘एउटा प्रजातिको माछाले अर्को प्रजातिलाई खाइदिँदा पनि माछा लोप भए,’ उनले भने । अब तालमा कसरी माछा बढी उत्पादन गर्न सकिन्छ, त्यसतर्फ सोचिदिन उनको आग्रह थियो । नेता सांसदलाई उनले चुनाव आएका बेला मात्र नसम्झन आग्रह गरे । ‘चुनावका बेला त घरघरमा धारा ल्याइदिन्छौं भन्नुभएको थियो । खोइ त ? त्यसपछि त फर्केर आउनु भएन नि,’ उनले भने ।


स्थानीय हिमकला जलारी पनि आफू र आफ्नो पुस्ता तालमै आश्रित भएको र पछिल्लो समय ताल संरक्षण नभएकोप्रति चित्ता व्यक्त गरिन् । उनले भनिन्, ‘हामी तालमै आश्रित जलारी समुदाय हो । अहिले फेवातालसँगै माछा नासिँदै छ । के फेवालतामा माछा सकिए झै जलारी समुदाय सकिनुपर्ने हो ? जलारी समुदायलाई बचाउने इच्छा छैनन्, तपाईंहरुसँग ?’

Advertisement


शान्ति जलारीले आफूलाई पाठेघरको समस्या भएका सुनाइन् । उनले आफू जस्तै जलारी समुदायमा पाठेघरको समस्या धेरै महिलामा भएकाले तीनै तहका सरकारलाई उपचारका लागि सहयोग गर्न यचना गरिन् । आफ्नो समुदायलाई केन्द्रित गरेर स्वास्थ्य सम्बन्धि सचेतनामुलक तालिमको खाँचो रहेको उनका माग थियो । कायक्रममा बोल्दै ग्रीस जलारी र पूर्णखर तिमिल्सिनाले हिजो के भयो भन्दा पनि अब जलारी समुदायको उत्थानमा के गर्ने भनेर लाग्न सांसदहरुसँग माग गरे ।

जलारी समुदायको समस्या सुन्न पुगेका सांसद प्रकाश बरालले आफूले पनि ताल किनारामै जवानी बिताएको सुनाए । ‘फेवातालबाट माछा हराउनुमा अँधेरी खोलाबाट आएको कमेरो माटो हो । ताल पुरिँदा माछा लोप हुँदै गए । प्रदेश सभामा निर्वाचित भएपछि त्यसतर्फ मरो ध्यान गएको छ । गण्डकी प्रदेश सरकारसँग समन्वय गरेर जलारी समुदायको जीवन रक्षा गर्छौं,’ उनले भने ।


सांसद देवका पहारीले तालमा जलारी समुदायलाई केज राख्न सहज गराउने प्रतिवद्धता जनाइन् । जलारी समुदायमा भइरहेको खानेपानीको समस्यालाई अहिले पोखरा महानगर र वडाहरुले नै योजना अगाडि बढाएको पहारीको भनाइ थियो । ‘पानीको व्यवस्था गर्न अहिले स्थानीय सरकारले पनि थुप्रै योजना बनाएको छ । अहिलेसम्म फेवातालको किनारामा बसेर पानी भएन भन्नु दुभाग्य हो,’ उनले भनिन् ।


सांसद विन्दुकुमार थापाले सर्वोच्चले फेवातालको विषयमा गरेको फैसलामा अहिले बोल्न नमिल्ने बताए । उनले अदालतले कुनै लेखाजोखा नगरी फैसला गरेको सुनाए । जलारी समुदायलाई केन्द्रित गरेर आउँदा दिनमा धेरैभन्दा धेरै माछा राख्न सहयोग गर्ने उनको भनाइ थियो । ‘जलारी समुदायलाई सबैभन्दा बढी प्रताडित खानेपानी लगायत विषयले बनाएका रैछन् । अब आवश्यकता र प्रथामिकतालाई ध्यानमा दिएर अगाडि बढ्र्छौैं ।’


गण्डकी प्रदेश सभाका सामाजिक विकास समितिका सभापति फणीन्द्र देवकोटाले भर्खर मात्र समितिको निर्वाचन भएर काम गर्न सुरु गरेकाले जलारी समुदायको समस्या छिट्टै सम्बोधन गर्ने बताए । उनले भने, ‘तपाईंहरुकै समस्या सुन्न गोरखाबाट राति १२ बजे पोखरा आएँ । अब यी समस्या समितिमा छलफलका विषय हुनेछन् ।’


सांसद नन्दकला दमै नेपालीले आफूले महिला हिंसाका विषयमा लामो समय काम गरेको हुँदा प्रदेश सभामा यस्ता कुरालाई जोड दिएको बताइन् । ‘भान्सामा खानेपानी नहुनुको अवस्था, पाठेघरमा देखिएको समस्यालाई म बुझन सक्छु,’ उनले भनिन् ।


पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले वडामा खानेपानी समस्या बढ्दै गइरहेकाले बन्दै गरेका आयोजनालाई पुरा गर्न बजेट पारिदिन अनुरोध गरे । ‘हाम्रो वडामा २७ सय घरधुरी छौं । त्यसमध्ये जलारी समुदाय त छँदै छ । अन्य १५ सय घरधुरीमा पनि खानेपानी समस्या छ । बन्दै गरेका आयोजना पनि बजेट अभावले अगाडि बढ्न अप्ठेरो भएको छ,’ उनले भने । नागरिक सुनुवाइमा सहजीकरण पत्रकार गोविन्द खड्काले गरेका थिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया