स्थानीय उत्पादन र पर्यटन प्रवर्धन गर्न महोत्सव

समाधान संवाददाता २०८० पुष ९ गते १०:५१

पोखरा ।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि युनाइटेड क्लब पोखराले १२ औं संस्करणको पोखरा महोत्सव २०८० गर्न लागेको छ । ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ अघि बढेको क्लबले पुस २६ देखि माघ ८ गतेसम्म अमरसिंह माविको खेल मैदानमा महोत्सव गर्न लागेको अध्यक्ष राजु श्रेष्ठले बताए ।


उनले स्थानीय उत्पादन बजारीकरण तथा पर्यटनको प्रवद्र्धनका अलवा आर्थिक समृद्धिका लागि गरिने महोत्सवको आम्दानीबाट १८ सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापाना एवं शैक्षिक सामग्री वितरण गरिने जनाए । यस्तै, ग्रामीण क्षेत्रहरुमा निशुल्क स्वास्थ्य शिविरसमेत गर्ने क्लबले जनाएको छ ।


पोखरामा खुला चिडियाखानाको अवधारणाअघि बढाएकोक्लबले महोत्सवबाट भएको बचतलाई सेती नदी संरक्षणमा खर्च गर्दै आएको छ । श्रेष्ठका अनुसार यस पटकको महोत्सवबाट बचत भएको रकम लेखनाथको अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवासीय छात्रावास निर्माणका लागि १५ प्रतिशत रकम छुट्टाउने योजना छ ।

Advertisement

पोखरा महोत्सवबाट १ करोड १७ लाख आम्दानी र सवा करोड खर्च भई ३४ लाख बचत हुने अनुमान


अध्यक्ष श्रेष्ठले खुला चिडियाखाना निर्माणको अवधारणा अन्तर्गत पोखराको लेखनाथमा निर्माणाधीन पोखरा जुलोजिकल पार्कमा हालसम्म ५८ लाख ८५ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको उल्लेख गरे । पोखरा जुलोजिकल पार्क अहिले गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशको गौरवको योजना अन्तर्गत जिल्ला डिभिजन वन कार्यालय कास्कीमार्फत निर्माणको कामअघि बढिरहेको छ । क्लबले ११ औं संस्करणको महोत्सवबाट यसका लागि बजेट विनियोजन गर्न छोडेको छ ।

Advertisement


महोत्सवको आम्दानीबाट बचत हुने रकम शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा खर्च गर्ने क्लबको योजना छ । महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इन्डष्ट्रिज प्रालिको बेटर होम एप्लाएन्सेस रहेको प्रचारप्रसार संयोजक दिनेश सुनारले बताए ।


महोत्सवमा २ सय ३० देखि २ सय ५० स्टल रहने छन् । महोत्सवका लागि आइतबारदेखि स्टल बुकिङ खुला गरिएको छ । महोत्सवमा २ देखि २ लाख ५० हजार दर्शकको अनुमान गरिएको छ । महोत्सवबाट १ करोड १७ लाख ५० हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खच भई ३४ लाख २५ हजार बचत हुने अनुमान छ ।


क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले महोत्सवले गण्डकी प्रदेशको पर्यटकीय स्थलका बारेमा अवगत गराएर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्थानीय उत्पादनको बजारीकरण गर्न महोत्सवले सहयोग पुग्ने जनाए ।


नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले महोत्सवको सफलताको कामना गरे ।

तपाईको प्रतिक्रिया