गण्डकीबाट ४ महिनामा २९ हजार रोजगारीका लागि विदेशिए

समाधान संवाददाता २०८० पुष १० गते ८:३२

पोखरा ।
गण्डकी प्रदेशबाट मात्र वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक (साउन—कात्तिक)सम्म २८ हजार युवाले देश छाडेका छन् । वैदेशिक रोजगार विभागले पहिलो चौमासिकमा २८ हजार १ सय १४ जनाले रोजगारीका लागि देश छाडेको जनाएको छ । विभागका अनुसार यो संख्या श्रम स्वीकृत लिएर देश बाहिरिएको मात्र हो । अझ अवैध बाटोबाट रोजगारीका लागि विदेश जानेहरुको तथ्यांक विभागसँग छैन । यसमाथि विद्यार्थी भिसामा बाहिरिने तथ्यांक झनै डर लाग्छ । त्यो यसमा सामेल छैन ।


वैदेशिक रोजगारीमा पुग्नेमा महिलाभन्दा पुरुष बढी छन् । विभागका अनुसार पहिलो चौमासिकको संख्यामध्ये २४ हजार ८ सय ६८ जना पुरुष हुन् भने बाँकी सबै उमेर समूहका महिला हुन् । गण्डकीका ११ वटा जिल्लामध्ये देश छाडेर रोजगारीमा जानेमा तनहुँ जिल्ला अगाडि छ । तनहुँबाट ४३ सय ६६ जना युवा वैदेशिक रोजगारीमा निस्केका छन् । जसमा ४ सय ५३ जना महिला हुन् भने बाँकी पुरुष हुन् । वैदेशिक रोजगारीमा निस्कने सबैभन्दा कम संख्या मनाङको हो । मनाङबाट ३९ जना पुरुष र ९ जना महिलाले रोजगारीका लागि देश छाडेका छन् ।


बागलुङबाट ३६ सय ७१ जना, गोरखाबाट ३३ सय ५८ जना, नवलपरासी पूर्वबाट ३७ सय १३जना, लमजुङबाट २३ सय ५८ जना, कास्कीबाट ३३ स ३७ जना, मुस्ताङबाट ७२ जना, पर्वतबाट १६ सय ९२ जना, स्याङ्जाबाट ४१ सय ६७ जना र म्याग्दीबाट १३ सय ३९ जना गरी २८ हजार १ सय १४ जनाले रोजगारीका लागि देश छाडेका हुन् । यसरी अन्य वर्षको पहिलो चौमासिकको तथ्यांकसँग तुलना गर्ने हो भने चालु आर्थिक वर्षको तथ्यांक डर लाग्दो छ ।

Advertisement


गण्डकी प्रदेशबाट गत आर्थिक वर्ष २०८९/०८०मा श्रम स्वीकृत लिएर रोजगारीका लागि बाहिरिनेको संख्या झण्डै १ लाख थियो । त्यस बेला ८३ हजार ४६ जना पुरुष र ८ हजार ३ सय ५७ गरी कुल ९९ हजार ८ सय ३ जना बाहिरिएका थिए । त्यसवर्ष पनि तनहुँबाट १५ हजार २ सय ८४ जना पुरुष बाहिरिए भने, ११ सय १५ महिला थिए । सबैभन्दा कम मनाङकै थिए । मनाङबाट त्यसवर्ष १ सय ९८ महिला र २ सय ३९ पुरुष थिए ।

  • सबैभन्दा धेरै तनहुँबाट मात्रै ४३ सय ६६ जना युवा वैदेशिक रोजगारीमा निस्केका छन्
  • पुरुष बाहिरिँदा महिलामा जिम्मेवारी परिवर्तन तथा कार्यबोझ वृद्धि


यसरी प्रत्येक वर्ष आप्रवासमा जानेको संख्या बढ्दा बालबालिका र ज्येष्ठ नागरिकहरुमा नकारात्मक असार परेको सुरक्षित आप्रवासन परियोजना (सामी)की प्रदेश कार्यक्रम व्यवस्थापक उमा शर्माले जानकारी दिइन् । वैदेशिक यात्रामा निस्कँदा सहरी जनसंख्या र ग्रामीण जनसंख्यामा असमानता देखिएको पनि बताइन् । ‘युवा जनशक्तिको अभावले उत्पादनशील भूमि बाँझो भएको छ । हाम्रो सामाजिक परिवेशनमा नैराश्यता बढेको छ । साथै मानव बेचबिखन र मानव तस्करका दलालहरुको बसंख्या बढ्दो छ,’ उनले भनिन् ।

Advertisement


समुदायमा पनि आप्रवासकको प्रभावले पारिवारिक बेमेल तथा घरेलु हिंसा वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । यसरी पुरुष बाहिरिँदा महिलामा जिम्मेवारी परिवर्तन तथा कार्यबोझ बढेको समेत भएको शर्माले जानकारी दिइन् ।


वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार अदक्ष हुँदा पनि समस्या आएको उनको भनाइ छ । जसले गर्दा जोखिमपूर्ण कार्य नर्गुपरेको साथै ठगी तथा अलपत्र पर्नुका साथै कानुनी सहायताको लागि आवश्यक प्रमाण नभएको उल्लेख छ ।


वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीले गण्डकीमा साउनयता औसतमा महिनाको १५ जनाको दरले मृत्युका घटना आइरहेको जानकारी दिए । उनले साउनदेखि कात्तिकसम्म ६५ जनाको मृत्यु भएको तथ्यांक आइपुगेको रेग्मीको जानकारी दिए । ‘प्रतिमहिना गण्डकीका मात्रै औसतमा १५ जनाको वैदेशिक रोजगारीमा मृत्यु भइरहेको छ’, रेग्मीले भने, ‘त्यो भन्दा ठूलो संख्यामा अंगभंग र बिरामी बनेर फर्केका छन् ।’


देशभरको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७५/०७६ मा ७५३ र २०७६/७७ मा ६८० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा मृत्यु हुनेको संख्या बढेर १ हजार २७५ पुगेको छ । २०७८/०७९ मा १ हजार ५०९ र आर्थिक वर्ष २०७९/८० मा १ हजार २०८ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।


वैदेशिक श्रम गन्तव्यमा जाँदा उत्पन्न गरेको जटिलता पनि विभिन्न किसिमको भएको रेग्मीको भनाइ छ । मृत्यु सम्बन्धिका ६५ वटा, बेपत्ता उद्धार सम्बन्धीका ५१ वटा तथा स्वास्थ्य समस्या भएका १८ वटा केस विभागमा आएको रेग्मीले जानकारी दिए । जसमध्ये अप्ठेरो परिस्थितिमा परेकालाई सामीले पनि सहजीकरण गर्दै आएको उनको भनाइ थियो । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्र पारिवारिक उपचार खर्चमा ५१ वटा केस प्राप्त भएको उनले जानकारी दिए । ठगीका १ सय ६३ वटा र केस आएको उनले सुनाए ।

तपाईको प्रतिक्रिया