महोत्सवमय पाेखरा

समाधान संवाददाता २०८० पुष १२ गते १७:१५
पाेखरा ।

‘महोत्सवको पनि महोत्सव’ भनिने लेखनाथ महोत्सव आठ दिनदेखि पोखरामा जारी छ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित उक्त महोत्सव १९औँ संस्करणसम्म आइपुगेको हो ।

अंग्रेजी नयाँ वर्ष २०२४ को छेकोमा पोखरास्थित फेवा किनारमा आजदेखि सडक महोत्सव सुरु भएकाे छ । रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आयोजना गरेको २५औँ संस्करणको उक्त महोत्सव पाँच दिनसम्म चल्नेछ । पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलाले आफ्नो ३२औँ संस्करण हालै पूरा गरेको छ ।

दुई वर्षअघिसम्म कोभिड–१९ महामारीले मेला–महोत्सव ठप्प थिए । महामारी अन्त्यपछि मेला–महोत्सवको लहर नै चल्न थालेको हो । यस्ता मेला–महोत्सवको अगुवाइ गर्नेमा व्यवसायी र पर्यटनसम्बद्ध संघसंस्था, स्थानीय क्लबलगायत छन् । स्थानीय उत्पादन, खेल, कला, संस्कृति, पर्यटन र व्यवसाय प्रवद्र्धनको ध्येय राखेर महोत्सव हुने गरेका छन् ।

Advertisement

मुलुक आर्थिकमन्दीको मारमा परिरहेका बेला मेला–महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने गरेको व्यावसायिक क्षेत्रका अगुवा बताउँछन् । महोत्सवमा हुने किनमेल र बन्द व्यापारले थोरै भए पनि व्यवसायीले राहतको महसुस गर्न पाएका छन् । पोखरा महोत्सवको आयोजक युनाइटेट क्लबका अध्यक्ष राजु श्रेष्ठले पर्यटन प्रवद्र्धनका साथै आर्थिक गतिविधिमा मेला–महोत्सवले टेवा पुर्याउने बताए ।

“महोत्सवले स्थानीय अर्थतन्त्र चलायमान हुन्छ, दर्शकले पनि स्वस्थ मनोरञ्जनको लाभ लिन पाउँछन्”, उनले भने, “कोरोना महामारी र आर्थिकमन्दीले थलिएको व्यवसाय क्षेत्रलाई थोरै भए पनि राहत पुगेको छ ।” महोत्सवबाट नाफाघाटा मात्र नसोचेर आयोजकले सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको उनले बताए ।

Advertisement

विगतका महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, चिडियाखाना निर्माण र पर्यटन प्रवद्र्धनमा खर्च गरेको क्लबले यसपालिको महोत्सवबाट बचेको रकमलाई न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्रावास निर्माणमा खर्च उद्देश्य लिएको छ ।

लेखनाथ महोत्सवको प्रचारप्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदीले बुधबारसम्ममा उक्त महोत्सवमा झण्डै रु पाँच करोड दस लाख बराबरको कारोबार भएको बताए । यही पुस ५ गतेदेखि चलिरहेको महोत्सवलाई हालसम्म दुई लाख १५ हजार बढी दर्शकले अवलोकन गरेको उनको भनाइ छ । आयोजकले महोत्सवबाट रु ९० लाख आम्दानी गर्ने र खर्च कटाएर रु दश लाख बचत गर्ने लक्ष्य लिएको छ ।

महोत्सवमा औद्योगिक उत्पादनको प्रदर्शनी, घरेलु तथा हस्तकला सामग्रीको प्रदर्शनी एवं बिक्री, शैक्षिक प्रदर्शनी, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्री कक्ष राखिएको छ । महोत्सवमा तीन सय ३४ व्यावसायिक कक्ष रहेको संयोजक सुवेदीले जानकारी दिनुभयो । जातीय वेशभूषा, संस्कृति झल्काउने मौलिक झाँकी तथा नाच प्रस्तुत गर्ने गरिएको छ ।

महोत्सवमा दैनिकरुपमा कलाकारको सांगीतिक प्रस्तुति भइरहेको छ । रमाइलो बाल उद्यान, प्रतिभा पहिचान, हाँस्यव्यङ्ग्य प्रहसन, कविता प्रतियोगिता, लोकदोहोरी प्रतियोगितालगायत लेखनाथ महोत्सवका आकर्षणका रुपमा रहेका छन् । यस्तै ‘रेवान’ पोखराले आयोजना गरेको सडक महोत्सवलाई लक्ष्य गरी फेवा किनारलाई सिँगारेर चिटिक्क पारिएको छ ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने आदर्श वाक्यसहित सुरु भएको सो महोत्सवलाई करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिए । विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारको प्रदर्शन, लोकदोहोरी प्रतियोगिता, सडक नाटक, झाँकी प्रदर्शन, रात्रिकालीन ‘कन्सर्ट’लगायत महोत्वका मुख्य आकर्षण हुन् ।

पोखराको पर्यटन विकास, प्रवद्र्धन र परिवर्तित समयमा पोखराको पर्यटनमा देखिएका अवसर र चुनौतीको विषयमा बहस कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ । स्वदेशी हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पतिलगायत कृषिउपजको प्रदर्शनीलाई पनि महोत्सवमा समेटिएको संयोजक पौडेलले बताए ।

तपाईको प्रतिक्रिया