सूर्यदर्शन सहकारीका बचतकर्ता: सहकारीले पैसामात्रै खाएन, ज्यानै लियो

सञ्जय रानाभाट २०८० पुष १७ गते ११:२९

सञ्जय रानाभाट, पोखरा ।
सूर्य दर्शन सहकारीमा राखेको पैसा झिक्न २ वर्षदेखि संघर्षरत लमजुङ प्यारजुङ स्थायी घर भएका वीरबहादुर थापामगर पुस १३ गते संसारबाट अस्ताए । घरको दरिलो खम्बा ढल्दा वीरबहादुरको परिवार पोखरा घारीपाटनस्थित भाडाकै घरमा शोकाकुल छ । जीवनभर खाइनखाइ बचत गरेको बचत पैसा सहकारीमा फस्दा किरिया कसरी उम्काउने श्रीमति भगवतीलाई पिरोलिरहेको छ । बेलाबेला उनी छोरातर्फ हेर्दै उनी भक्कानिन्छिन् ।


‘बाँचुन्जेल पनि कुनै दिन सुख पाउनु भएन, कहिले काठमाडौं भन्नुभयो कहिले कहाँ मिटिङ भन्दै जानुभयो । मरेपछि पनि किरिया कसरी उम्काउने हामीलाई धौ छ,’ भक्कानो छाड्दै भगवतीले श्रीमान् सम्झिइन् ।


पुख्र्यौली थलो प्यारजुङमा पहिरो गएपछि ०३९ सालमा पोखरा आएका उनीहरु त्यसयता पोखराका विभिन्न ठाउँमा झाडामै बस्दै आए । पोखरा १७ घारीपाटनकै त्यस घरमा बस्न थालेको ७ वर्ष भयो । ‘श्रीमान १५ वर्ष साउदी जानुभयो । मैले पोखरामै छोराछोरी हुर्काएँ । उहाँले जीवनभर कमाएको पैसा हो—त्यो बचत गर्दा फसेको,’ ५५ वर्षीया भगवतीले भनिन् ।

Advertisement


श्रीमान विदेश हुँदा कमाएको पैसाले पोखरा लेखनाथमा ११ हात मोहोडा भएको घडेरी किनेको भगवती सम्झन्छिन् । त्यहीँ घडेरीमा सानो घर बनाउने श्रीमान श्रीमतीको सोच पनि थियो । तर, अलि सस्तोमा किनेको घडेरीलाई २५ लाख रुपैयाँ दिने मान्छे पाएपछि उनीहरुले बेचे । तर, उस्तै मूल्यमा अर्को घडेरी किन्न सकेनन् ।

‘राम्रो मूल्य पाएपछि उहाँले घडेरी बेच्ने भन्नुभयो । म पनि राजी नै भए । तर, त्यो घडेरी बेचेपछि अर्को घडेरी किन्न सक्ने अवस्था भएन । ह्वात्तै मूल्य बढ्यो,’ भगतवतीले ७ वर्षअघिका ती दिन सम्झिँदै भनिन्, ‘त्यो पैसा के गर्ने भन्ने भयो । केही पैसा बैंकमा राख्यौं । केही आफन्तलाई सापटी दियौं ।’ सामान्य जीवनयापनमै उनीहरुको दैनिकी चलिरहेको थियो । मैकामिलेर सस्तोमा कतै घडेरी किन्न सोच उनीहरुको थियो । तर, भनेजस्तो मन पर्ने र सस्तोमा कहिँ उनीहरुले घडेरी पाएनन् ।

Advertisement


७ वर्षअघिकै कुरा हो । घारीपाटनकै घरमै हुँदा सूर्यदर्शन सहकारीको मार्केटिङका कर्मचारी प्रचार गर्दै वीरबहादुरसम्म पुगे । ती कर्मचारीले वीरबहादुर बस्ने टोलका छिमेकीसँग कुरा गरेर सहकारीमा बचत गराइसकेका थिए । वीरबहादुरलाई थप विश्वास भयो । यसअघि आफन्तले फिर्ता गरेको पैसा र बचतलाई गरेर १० लाख रुपैयाँ सहकारीको मुद्दती खातामा राखे ।


सुरुआती दिनहरुमा ती मार्केटिङ गर्नेले ब्याज पनि घरमै ल्याइदिने गरेको भगवती सम्झन्छिन् । ‘सुरुआती दिनमा घरमै ब्याज पनि ल्याइदिने गर्नुहुन्थ्यो । पछि फेरि पुन पैसा राखे थप ब्याज आउने ती भाइले सुनाउनुभएछ । बैंकमा बचत गरेर राखेको पैसा पनि १५ प्रतिशत ब्याज आउने भएपछि ११ लाख रुपैयाँ थप सहकारीमा लगेर राख्नुभयो यसरी सबै गरेर २१÷२२ लाख रुपैयाँ बचत छ,’ भगवतीले रुँदै भनिन् ।


सहकारीमा बचत गरेर राखेको पैसा पनि आउन छाडेको र श्रीमान पनि बिरामी भएपछि पछिल्लो समय श्रीमानले काम धन्दा गर्न नसकेको भगवतीले सुनाइन् । ‘आजसम्म यस्तो खानलगाउन धौ भएको थिएन । के गर्ने कसरी घर व्यवहार चलाउने समस्या छ । एक वर्ष भयो घरभाडा नतिरेको । घरबेटी पनि सहयोग नभइदिएको भए म कहाँ गएर बस्ने थिएँ होला, धन्न यहाँ नै किरिया गर्न दिनुभएको छ,’ उनले भनिन् ।


दुई सन्तानकी आमा भगवतीकी जेठी छोरी पसलमा काम गर्छिन् भने, छोरा भर्खर गाडी सिक्दै थिए । यता घरमा बज्रपात परेपछि अब भगवतीलाई कसरी गुजारा चलाउने चित्ता छ । ‘मेरो जस्तो आपत कसैलाई नहोस् । दुखीलाई ढाँटेर यस्तो गर्ने,’ उनले भनिन्, ‘मेरो जस्तो आपत कसैलाई नपरोस् । ती फटाहहरुलाई कहिल्यै राम्रो हुँदैन ।’


६२ वर्षीय वीरबहादुरलाई सुगरबाहेक अन्य कुनै रोग थिएन । पछिल्लो समय सहकारीको अन्दोलनमा हिँड्दा उनको स्वास्थ्य क्रमश खराब हुँदै गएको थियो । सुगर चेक गर्न पनि उनए समयसमयमा फलोअप गर्थे । त्यसैको फलोअप गर्दै पुस १२ गते उनी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेका थिए । तर, डाक्टरले वीरबहादुरलाई अक्सिजन दिएर राख्नुपर्ने सुनाए । त्यसका लागि अस्पतालमा बेड खाली नभएकाले अन्यन्त्रै लैजान डाक्टरको सुझाव थियो । छोरा २१ वर्षीय कृष्णले बुबालाई गण्डकी मेडिकल कलेज ल्याए । भर्ना गरे । तर, दोस्रो दिन उनको हटअट्याकबाट मृत्यु भएको परिवारले जनाएको छ । चिन्तैचिन्तामा उनको ज्यान गयो ।


‘अस्पतालमा पनि खाली मेरो पैसा फस्यो मात्र भनिरहनुहुन्थ्यो । आश्वासनबाहेक केही पाउनुभएन,’ कृष्णले भने, ‘त्यस दिन उहाँलाई कुरेर म डरामा फर्कें । बोल्न हिँड्न सबै सक्नुहुन्थ्यो । छोरा अस्पताल पुग्दा डाक्टरले त्यस्तो सुनाउनुभएछ ।’
वीरबहादुर जस्ता १७ हजार ७ सयजना बचतकर्ताको पैसा कुम्ल्याएर सूर्यदर्शन सहकारीका सञ्चालक फरार छन् । दुई जनालाई समातेर कास्की जिल्ला अदालतले पुर्पक्षका लागि धुनामा छन् । यता पोखरा महानगरको छानबिन प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारीमा सर्वसाधारणले बचत गरेको १ अर्ब ३५ करोड रुपैयाँ अपचलन भएको देखाएको छ ।


सूर्यदर्शन सहकारीकी अर्की पीडित हुन्, उदयपुर बेलटारकी २८ विमला नेपाली । उनको आर्थिक अवस्था अझै दयनीय छ । श्रीमान र १० वर्षीय जेठी छोरी मुटु रोगी छन् । जुनसुकै बेला अस्पताल पु¥याउनुपर्ने अवस्था छ । तर, उनले ८ वर्षदेखि नियमित बचत गर्दै जम्मा गरेको १३ लाख रुपैयाँ सहकारीले सञ्चालकहरुले बदमासी गरे । अहिले सहकारी बन्द गरेर सञ्चालक फरार छन् । विवाहपछि पोखराको बगरमा जुत्ता सिलाउँदै आएको उनका श्रीमान श्रीमती पनि सहकारीको झुठमा परे । विमलाले अस्पताल पु¥याउने परे पैसा पनि नभएको सुनाइन् । ‘खाइनखाइ गरेर जुत्ता सिलाएर कमाएको पैसा श्रीमानलाई नभनी सहकारीमा राखे । अहिले श्रीमानले पैसा फसाइस भनेर गाली गर्नुहुन्छ । मैले कसो गरुँगरुँ ?,’ उनले भनिन् ।


सहकारी पीडित कमला गुरुङ पनि विमला सहकारी पीडितहरुले आन्दोलनमा हिँड्दा ढल्ने गरेको सुनाउँछिन् । उनी आन्दोलनमै ढल्दा पोखरा महानगरपालिकाले उपचार गरिदिएको गुरुङ सम्झन्छिन् । सोमबार सहकारीबाट पीडित बनेकाहरु सहकारीका उपाध्यक्ष कुमार दलामीलाई पुर्पक्षका लागि थुनामा पठाउँदा कास्की जिल्ला अदालत पुगेका थिए । ‘मेरो पैसा जसरी पनि उठाइदिन सहयोग गरिदिनु है । कोठा भाडा पनि तिरेको छैन । बच्चाको स्कुल फी पनि तिर्न छ । तुरुन्त अस्पताल लैजान परे । मेरो हालत छैन,’ विमलाले रुँदै भनिन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया