कोरला सडकमा सकियो पौने ७ अर्ब

सुन्दरकुमार थकाली २०८० पुष २३ गते १०:४३

जोमसोम ।
कालिगण्डकी करिडोर (बेनी जोमसोम कोरला) सडक आयोजनामा हालसम्म ६ अर्ब ८३ करोड खर्च भएको छ । आर्थिक वर्ष २०७३/०७४ देखि सुरु भएको सडकका ३७ वटा योजनामा यो बजेट खर्च भएको आयोजनाले जनाएको छ ।


राष्ट्रिय गौरवको कोरला सडक राजमार्ग अन्तर्गत ३७ वटा सडक तथा पुलपुलेसाका लागि विभिन्न चरणमा १० अर्ब ८८ करोड लागत स्टिमेट गरिएको थियो । जसअन्तर्गत विभिन्न निर्माण कम्पनीसँग ३७ योजनाका लागि ७ अर्ब ३५ करोड ५१ लाख लागतमा ठेक्का सम्झौता भएको थियो । आयोजना सुरु भएको ६ वर्षमा सम्झौता रकमको ७५ प्रतिशत खर्च भएको आयोजनाका सूचना अधिकारी इन्जिनीयर विष्णु चापागाईले जानकारी दिए ।


सरकारले भारतीय नाकाबन्दीपछि २०७३/०७४ मा उत्तरी चीन जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजना सुरु गरेको थियो । सुरुवाती चरणमा कोरला सडक अन्तर्गत बेनी जोमसोम ७६ किमी सडक ४ खण्डमा कालोपत्र र जोमसोम—कोरला १ सय १० किमी ग्राभेल सडक ७ खण्डमा सडक स्तरोन्नति थालिएको थियो ।

Advertisement


जसका लागि ६ अर्ब विनियोजन भएको थियो । आयोजना अन्तर्गत हालसम्म २१ पुलपुलेसा, ८ सडक कालोपत्र, ७ ग्राभेल सडक र १ कन्टक्सन अफ फेन्सिङ एट मार्फा गरी ३७ योजना कार्यान्वयनमा आएको आयोजनाका सूचना अधिकारी चापागाईले बताए । मुस्ताङको काईंको खोला पुल र लार्जुङ खोला पुलको ठेक्का तोडिएको छ ।

चालु वर्षकाे ६ महिनामा २४ कराेड अर्थात ३५ प्रतिशत वित्तीय प्रगति

Advertisement


प्राकृतिक विपद्का कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ रुप्से खोला पुल र मुस्ताङको खहरे खोला पुल बन्दाबन्दै बाढीले क्षति गरेको छ । २१ पुल, पुलेसामध्ये मुस्ताङको स्याङ खोला पुल, लुप्रा—पान्डा खोला पुल र उपल्लो मुस्ताङमा लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोला पुल निर्माण भईसकेका छन् । म्याग्दीको राहुघाट खोला पुल, बेनीमा १ बेलिब्रिज र दानाको खट्टे खोला पुल पनि बनिसकेका छन् ।


आयोजनाको म्याग्दी बेग खोलाको पुल, छात्ताङ खोला पुल र नरसिंह खोलाका पुल अन्तिम चरणमा रहेको चापागाईले बताए । गएको साउन २८ गतेको बाढीले क्षति भएको कागबेनीमा अर्को पुल निर्माण गर्न अध्ययन भइरहेको छ ।


कोरला सडक अन्तर्गत ८ कालोपत्र सडक योजना सञ्चालन भएकोमा बेनी—जोमसोम तेस्रो खण्ड अन्तर्गत मुस्ताङको कैकु खोलादेखि कोवाङसम्मको १६ किमी कालोपत्र र म्याग्दीको बेनी—गलेश्वर ३ किमी कालोपत्र सडक कालिगण्डकी करिडोरलाई हस्तान्तरण भइसकेका छन् । पर्वतको मालढुंगा बेनी १३ किमी सडक, बेनी—जोमसोम ३ खण्ड कालोपत्र सडक र जोमसोम—कागबेनी १३ किमी कालापत्र सडक निर्माणाधीन छन् ।


कागबेनीदेखि छुसाङसम्मको सडकमा थप कालोपत्र योजनाअघि बढाउनसमेत माग गरिएको छ । जोमसोम—कोरला १ सय १० किमी ग्राभेल सडकमध्ये ६ वटा ग्राभेल सडक कालिगण्डकी करिडोर बेनी—जोमसोम—कोरला सडकलाई हस्तान्तरण भएका छन् । यहाँ उपल्लो मुस्ताङको चराङ—छुसाङ २५ किमी ग्राभेल सडक अन्तिम चरणमा छ । यहाँको निर्माण कम्पनीको ढिलासुस्तीले सडक निर्माणको काम रोकिएको हो ।


यो सडक आयोजनाका लागि चालु आर्थिक वर्ष ७२ करोड ८२ लाख विनियोजन भएको छ । चालु वर्षको विनियोजित बजेटमध्ये ६ महिनामा २४ करोड १० लाख अर्थात ३५ प्रतिशत वित्तीय प्रगती भएको आयोजनाका सूचना अधिकारी चापागाईले उल्लेख गरे । चालु वर्ष सडकतर्फ ७० करोड विनियोजन भएकोमा २२ करोड ४० लाख अर्थात ३२ प्रतिशत वित्तीय प्रगति देखिन्छ ।

पुलपुलेसातर्फ २ करोड ८२ लाख बजेट विनियोजन भएकोमा १ करोड ५० लाख अर्थात ५३ प्रतिशत वित्तीय प्रगति भएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा कोरला सडक आयोजनालाई सडक तथा पुलपुलेसातर्फ १ अर्ब १० करोड बजेट विनियोजन भएकोमा ५५ करोड बजेट अर्थात ५० प्रतिशतमात्र वित्तीय प्रगति भएको थियो ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया