कबड्डीमा विद्यार्थी आकर्षित

राकेश शर्मा २०८० पुष २३ गते ११:१५

म्याग्दी ।
म्याग्दीमा पछिल्लो समय विद्यार्थीहरु कबड्डी खेलमा आकर्षित भएका छन् । स्थानीय तहमा हुने राष्ट्रिपति रनिङ सिल्ड र अन्य खेलकुद प्रतियोतिमा कबड्डी खेल आयोजना हुन थालेपछि यो खेलप्रति आकर्षण बढेको हो ।


बेनीको खुलामा मञ्चमा नवौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा दर्शकको ध्यान कबड्डी खेलले तानेको थियो । पछिल्लो समय स्थानीय सरकार, विद्यालयहरुले आयोजना गर्ने खेलकुद प्रतियोगितामा कबड्डी हुन थालेपछि यस खेलप्रति विद्यार्थीको आकर्षण बढेको कबड्डी संघ म्याग्दीका अध्यक्ष तथा प्रशिक्षक राजकुमार परियारले बताए ।


प्रत्येक वर्ष पालिका स्तरमा आयोजना हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका कारण पनि विद्यालय स्तरमा कबड्डी खेलप्रति आकर्षण बढेको परियारको भनाइ छ । पालिका स्तरमा आयोजना भएका प्रतियोगिताहरूले पछिल्लो समय लोप हुन लागेको खेलमा आकर्षण बढेको हो ।

Advertisement


विद्यालय स्तरमा कबड्डी खेल हुँदा प्रतिभाशाली खेलाडी उत्पादन भएका छन् । कबड्डी संघले पछिल्लो समय विद्यालय स्तरमा खेलाडीलाई तालिम र प्रशिक्षण उपलब्ध दिने गरेको छ ।


जिल्लामा तीन वर्षअघि पहिलो पटक खुला प्रदेश स्तरीय कबड्डी प्रतियोगिता भएको थियो । जिल्लाबाट प्रदेश तथा राष्ट्रिय स्तरमा छनोट हुन सकेमा यस खेलमा अझै आकर्षण बढ्ने कबड्डीका प्रशिक्षक तथा रेफ्री कर्ण प्रधानले बताए ।

Advertisement


‘गाउँगाउँमा हुने मेला, पर्व र नियमित रूपमा आयोजना हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भलिबलको खेलाडी उत्पादन गर्ने माध्यम बनेको छ,’ उनले भने । शनिबार मंगला र मालिका गाउँपालिकाबिच भएको छात्रा कबड्डी प्रतियोगितामा ३९ का विरुद्ध ४६ अंक लिदै मालिका प्रथम भएको छ भने छात्र कबड्डी प्रतियोगितामा अन्नपूर्णलाई २४ का विरुद्ध ३५ ले हराउँदै बेनी नगरपालिका प्रथम भएको छ ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया