उमेर ३८, सन्तान ३०

फडिन्द्र अकिञ्चन २०८० पुष २३ गते १२:१३

पाेखरा ।

सजीव होस् वा सृष्टिको उद्भव, अस्तित्वको बहसमा मातृत्व छुट्दैन । पूर्वीय दर्शन हुन् वा पश्चिमी सभ्यता, आदिवासीका मिथक हुन् कि आधुनिक दर्शनशास्त्र, आमाको भूमिका बिना पूरा हुन सक्दैनन् । यही सत्य हृदयङ्गम गरी विख्यात साहित्यकार रुडयाड किप्लिङले लेखेका छन्, ‘भगवान सबैतिर पुग्न सक्दैनन्, त्यसैले उनले आमाको सृष्टि गरे ।’ अधिकतर महिला आफैँ सन्तान जन्माएर हुर्काउँछन्, भविष्य सन्तानकै लागि समर्पित गर्छन् । केही विरल आमाहरु छन्, जो आफ्नो सुख, सुविधा र जीवनको पर्वाह गर्दैनन्, असहाय बालबालिकालाई मातृत्व दिन्छन्, भविष्य निर्माण गरिदिन्छन् । यस्तै विरल र नमुना आमा हुन्, कमला पराजुली ।


३८ वर्षीया कमलालाई अझै बिहे गर भन्ने प्रस्ताव र सुझाव आउँछन् । अचेल उनी जवाफ दिन्छिन्, ‘मेरा ३० जना छोराछोरी छन्, अब बिहे केका लागि ?’ पराजुली नेतृत्वको अमोर सेवा नेपालले स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. १ मा बालगृह चलाएको छ । १२ वर्षअघि स्थापित बालगृहको अवस्था र मान्छेको हेर्ने दृष्टिकोणमा यो अवधिमा ठूलो परिवर्तन आएको छ । भनिन्छः बाह्र वर्षमा खोलो फर्किन्छ । पराजुलीले नजिकैको आँधीखोला फर्किएको त देखेकी छैनन्, शायद त्यसको भावार्थ जस्तै परिवर्तन भने भोगेकी छन् ।

Advertisement


फेदीखोला १ को घरबाट उहाँ पोखराको पृथ्वीनारायण क्याम्पस दैनिक गाडीमा ओहोरदोहोर गर्थिन् । बाटामा कतै टिनका झुपडी थिए, कतै बसबाट गगनचुम्बी महल देखिन्थे । किशोरी हुँदा नै पराजुलीको ध्यान भने न कुनै लक्का जवानले खिच्न सके, न कुनै भौतिक सुख, सुविधाले तान्यो ।


बाटोमा सडक छेउछाउ बेबारिसे बालबालिका देखिन्थे । बाआमा छाड्न नसकेर उनी घरबाटै जानेआउने गर्नुहुन्थ्यो । उनको मनमा आयोः यति ठूली हुँदा त म बाआमा छाड्न सक्दिनँ, यी ससाना भाइबहिनी कसरी बाच्दा हुन् ?

Advertisement


दैनिक देखिने यस्ता विडम्बनापूर्ण दृश्यले उनलाई पिरोलिरहे । महँगा गाडीमा मालिकसँगै कुकुर, बिराला हुइकिन्थे, सडक पेटीका बालबालिका भने त्यही गाडीको धूँवा र धूलोमा छोपिन्थे । एक, दुई जना त म हुर्काउन सक्छु भन्ने लाग्थ्यो उहाँलाई । त्यसैगरी अरुले पनि पालिदिए कोही सडकमा हुनुपर्दैथ्यो भन्ने तर्कना आउथ्यो । गाउँमा कसैका बच्चा जन्मिए काखमा लिइहाल्नुपर्ने, त्यसरी लिन नपाए रोइहाल्ने स्वभाव थियो उनको ।

महँगा गाडीमा मालिकसँगै कुकुर, बिराला हुइकिन्थे, सडक पेटीका बालबालिका भने त्यही गाडीको धूँवा र धूलोमा छोपिन्थे ।
३८ वर्षीया कमलालाई अझै बिहे गर भन्ने प्रस्ताव र सुझाव आउँछन् । अचेल उनी जवाफ दिन्छिन्, ‘मेरा ३० जना छोराछोरी छन्, अब बिहे केका लागि ?’


परिवारकी साहिली छोरी कमलाका एक भाइ थिए । कोभिड महामारी संसारभर आयो, एउटा बज्रपात उनीमाथि पनि प¥यो । कोभिडले भाइलाई लिएर गयो । अरु ३ दिदीबहिनीको बिहे भइसकेको छ, सबैको गृहस्थी जीवन राम्रै चलेको छ । कमलाको काँधमा भने ३० छोराछोरीसहित बाआमा पाल्ने जिम्मेवारी आएको छ । अनेक दुःख झेल्दै अघि बढ्ने कमलामाथि करिब १ वर्षअघि अर्काे दुःख थपियो । असाध्य रोग क्यान्सरले आक्रमण गरेछ । भलै, आधुनिक उपचार पद्धतिका कारण अहिले उनी निको भइसक्नुभएको छ ।


असहाय र सडकमा रहेका बालबालिकालाई मातृत्व दिने उनको उत्कट इच्छाले आकार लिएकै थिएन । उनी ०६७ तिर दिदी भिनाजुलाई भेट्न काठमाडौं जानुपर्ने भयो । त्यहाँ पनि उही कुरा आयो बिहेको । कमलाले लक्ष्य सुनाएपछि केही बेर वातावरण शान्त रह्यो । उनका भिनाजु रामप्रसादले भने, ‘बूढानीलकण्ठमा मेरी एक जना साथी छिन् । उनले तिमीले भनेको जस्तै काम गरेकी छन् । त्यहाँ गएर बुझ ।’


बूढानीलकण्ठमा लक्ष्मी तामाङले किका फाउन्डेसनमार्फत् बालगृह चलाएकी थिइन् । त्यो बालगृह र लक्ष्मी तामाङ कमलाका लागि पाठशाला बनिदिए । लक्ष्मीको सुझाव थियोः आफैँ ल्याएर पाल्छु भन्नेतिर नलाग्नू, संस्थागत प्रयास गर्नू । कानुनी रुपमा बलियो भइन्छ, सञ्चालन गर्न पनि सजिलो हुन्छ ।


उकालोमा खस्रिइरहेका कमलाका खुट्टाले भर्‍याङ पाए, उत्साह दोब्बर भयो । किकाको बालगृह वरिपरि हरियाली थियो, तरकारी लहलह थिए । कमलाको मनमा चित्र बन्योः म पनि यसरी नै व्यवस्थित गर्ने छु । आफ्नो अठोट साकार पार्न उनी ठाउँ ठाउँका बालगृहहरु हेर्न र बुझ्न गइन् । ०६८ सालमा अमोर सेवा नेपाल दर्ता भयो । भाडाको घरमा कार्यालय राखियो । पछि भवन बनेपछि ०७१ बाट मात्र बच्चा राख्न थालिएको हो । कमला त्यत्तिकै हक्की र साहासी बनेकी होइनन् । पाइला पाइलामा बेहोर्नुपरेका हन्डरले सिकाएका हुन् ।


संस्था दर्ता गर्ने बेलैदेखि अनेक उल्झन आए । कोही जग्गा उपयुक्त छैन भन्थे, कोही यो ठिटी एक, दुई वर्षपछि बिहे गरेर जान्छे, बालबालिकाको बेहाल हुन्छ भन्थे । कसैले फेदीखोलाको ग्रामीण भेगमा किन बालगृह चाहियो पनि भने । कमलाको सपना साकार पार्ने जग बनिदिए उनका बाआमा । संस्थाको नाममा कटुञ्जेस्वाँराको १३ आना जग्गा दिए । अनेक सास्ती झेल्दै बालगृह दर्ता भयो । त्यही जग्गामा अहिले २ वटा भवन छन् । अचेल कमलाका बाआमालाई बालगृहका बालबालिका नातिनातिना जस्तै प्रिय भएका छन् ।


उनी कहिलेकाँही बाआमाको दृष्टिकोण बुझ्न भन्नुहुन्छः अब म बिहे गर्छु । कमलाको चलाखी नबुझ्ने बाआमा हिम्मत थप्छन्ः यत्रो काम गरेपछि पछि हट्नु हुँदैन । जति दुःख परे पनि हामी साथ दिन्छौँ । कहिलेकाँही मनमा आउने तर्कना पनि कर्कलाको पातका पानी झैं हराउँछन् ।


सुरुआतमा सर्केटारीमा भाडामा घर लिएर अफिस सुरु गरिएको थियो । संस्थाले दानमा पाएको जग्गामा ०७० सालमा पहिलो भवनको तल्लो तला बन्यो । सुरुमा ११ बच्चा राखियो । बेला बेलामा सरकारले बालगृहका मापदण्ड बदल्दै गयो । सँगसँगै फेरिँदै गए अमोरका भवन र व्यवस्था पनि । बच्चाहरु थपिए, भवनका तला थपिए ।


पूर्वाधार र बालबालिका थपिएसँगै स्थानीय र संघ सरकारको साथ पनि मिल्दै गयो । मुठी दानबाटै बालगृह चलिरहेको छ । विदेशी सहयोग अहिलेसम्म लिइएको छैन । भवनका पूर्वाधारमा राज्यको करिब १ करोड लगानी भएको छ । बाहिरी सहयोग करिब २५ लाख जुटेको छ । कमलाले मातृत्व दिएका अधिकांश बालबालिका बाआमा नभएका छन् । कोही आमा अर्काेसँग गएको, सम्पर्कमा नरहेका, अलपत्र परेका छन् । तीमध्ये २६ जना दामगाडे माविमा पढ्छन् । यो स्कुल बालगृहबाट २५ मिनेटमा पुगिन्छ । चार जना सिद्धार्थ माविमा प्लस पढ्छन् ।


बालगृहमा हुर्किइसकेका बालबालिकालाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु अर्काे चुनौति भएको छ । कमला भन्छिन्, ‘दुई जनाले त विदेश जान्छु भन्न थालिसके । पाँच, छ जना बच्चाको जन्मदर्ता छैन । राज्यले सजिलो कुरा गर्छ तर काम गर्दा अप्ठेरो परिरहन्छ ।’ उनले हुर्काएका सबै बालबालिका अहिलेसम्म सबै बालगृहमै छन् । स्वतःस्फूर्त ती बालबालिकामध्येबाटै कसैले बालगृह सम्हालिदिए हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ । बालबालिकालाई विदेश जाने होइन, लोकसेवा पढ्न उत्प्रेरणा दिने गरिएको छ ।


दुई जना बच्चाले नागरिकता पाए । अब एक जनाको निकाल्ने बेला भएको छ । प्रशासनले नै सिफारिस गरेका बच्चाको पनि नागरिकताका लागि प्रशासनिक हैरानी व्यहोर्नुपरेको उनको गुनासो छ । अचेल गाउँहरु वृद्धाश्रम जस्ता भएका छन् । बाआमा घर कुर्छन्, त्यहाँ न छोराछोरी छन्, न नातिनातिना । कमलाको योजना छः दिवा ज्येष्ठ नागरिक सेवा केन्द्र चलाउने । जहाँ बालगृहका बालबालिकालाई गाउँका बाआमाले छोराछोरी नातिनातिनाको माया दिऊन् र संस्कार सिकाऊन्, उनीहरुको समय पनि सहज रुपमा बितोस् ।

फडिन्द्र अकिञ्चन

अकिञ्चन समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् । 

तपाईको प्रतिक्रिया