वीरेठाँटी आधुनिक स्वरुपमा

समाधान संवाददाता २०८० माघ २ गते १०:२६

पोखरा ।
होटल, लजको व्यवस्था नहुँदा भोट नून लिन जाने तथा मुक्तिनाथ दर्शनका लागि जाने आउने यात्रु र साधु, सन्तको बसोबासका लागि अन्नपूर्ण ८ दाङसिङ मोहरियाका वीरे गुरुङ (म्हिगी कोने)ले विस १७७६ सालमा ठाँटी घर बनाए । मोदी र भुरुम्दी नदीको दोभानमा बनेको ठाँटीकै नामबाट कालान्तरमा आएर यो क्षेत्र प्रसिद्ध बन्यो ।


यसको नाम रह्योः वीरेठाँटी । जुन ठाँटीको नामबाटै अहिले वीरेठाँटी बजारलाई चिनिन्छ । उनै वीरे गुरुङको परिवारले ३ सय ४ वर्षपछि सुरुको बेलाको झल्को दिने गरी वीरे पुननिर्माठाँटी निर्माण गरेको छ ।


सो ठाँटीको १९९२ मा जानी गुरुङले जिर्णोद्वार गरेका थिए । २ खोलाको दोभानमा रहेको ठाँटी जोखिममा परेपछि १७ माघ २०४७ मा चीनबहादुर गुरुङको नेतृत्वमा ठाँटी छहरेकुनामा पुनर्निर्माण गरी १ माघ २०४८ मा उद्घाटन गरियो । सोही ठाँटी निर्माण गरेका वीरे गुरुङको सामाजिक क्षेत्रको योगदानलाई चीरस्थायी बनाउन परिवारले वीरे म्हिगी कोने गुठी स्थापना गरेर जिल्ला प्रशासन कार्यालय कास्कीका दर्ता गरेका छन् ।

Advertisement


समाज कल्याण परिषदमा आबद्ध भएको गुठीले वीरे गुरुङले सुरुमा ठाँटी निर्माण गरेको ठाउँ अन्नपूर्ण ८ मा वीरेठाँटी बजारमा वीरेको ठाँटी घर बनाएको अध्यक्ष चन्द्रबहादुर गुरुङ (सीबी) बताउँछन् । अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले नवनिर्मित वीरेठाँटी सोमबार औपचारिक रुपमा उद्घाटन गरे ।

१७७६ मा तीर्थयात्री र नून लिन जानेहरुको बासका लागि बनाइएको ठाँटीसँग निर्माताको नाम जोडिएर वीरेठाँटीले प्रसिद्ध छ

Advertisement


गुठीका उपाध्यक्ष अर्जुनकुमार गुरुङले विगतमा भोटमा नून लिन तथा मुक्तिनाथ जान आउने भक्तजनलाई लक्षित गरी बनाएको वीरेको ठाँटीलाई पुरानो झल्को दिन गरी बनाएको सुनाए । ‘ठाँटीलाई दिगो रुपमा संरक्षण गरी पुख्र्यौली थलो रुपमा विकास गर्ने योजना छ,’ उनले भने, ‘ठाँटीलाई पिता पुर्खाले गरेको योगदान शाखा सन्तानले जान्ने, बुझने स्थानको रुपमा परिणत गरिनेछ ।’


कोने परिवारका सदस्यसमेत रहेका अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष विजय गुरुङले आफ्नो नाममा रहेको जग्गा ठाँटीका लागि दान गरेका छन् । उपाध्यक्ष गुरुङले खोलाको दोभानमा जोखिममा परेर अन्यत्र सारिएको ठाँटीलाई साबिकै स्थानमा सारिएको जनाए ।


ठाँटी उद्घाटनसँगै गुठीले आयोजना गरेको ३७ औं वार्षिक कुल पूजा, ज्वाइ, चेलीबेटी, भाञ्जा भाञ्जी भेटघाट कार्यक्रममा उपाध्यक्ष गुरुङले कोने परिवारको पुख्यौली थलो तथा चेलीबटीको माइती स्थल भएको बताए ।


कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष केसीले पिता पुर्खाको योगदानको कदर नगर्ने व्यक्ति असल सन्तान हुन नसक्ने बताए । उनले वीर गुरुङको स्मरणमा गर्व गर्न लायक सामाजिक काम गर्न परिवारजनमा आग्रह गरे ।


पूर्वमन्त्री प्रकाशबहादुर गुरुङले वीरे गुरुङले कास्कीको उत्तर पश्चिम क्षेत्रको सामाजिक क्षेत्रमा ठूलो योगदान पुर्‍याएको बताए । लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले दाङसिङ मोहरियाबाट बेसीमा झरेर वीरेको ठाँटी निर्माण भएपछि क्रमशः माताठाँटी, वनठाँटी बनाइएको उल्लेख गरे ।


सुरुमा हुलाक, प्रहरी चौकी, राष्ट्रिय वाणिज्य बैंक स्थापना भएको थकाली समुदायको व्यापारिक केन्द्र अहिले पनि सबै पदमार्गमा जाने पर्यटकका लागि केन्द्र नै हो । शेरचनले राम्रो डिजाइनमा आधुनिक तरिकाले बनाएको ठाँटी होटल जस्तो सुविधा सम्पन्न भएको दाबी गरे ।


नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्री सुरेन्द्र गुरुङले पैदल हिंडेर जाँदा मुक्तिनाथ जाने एकमात्र प्रवेशद्वार वीरेठाँटी भएको बताए । कोने गुठीका सल्लाहकार रामकाजी कोनेले परोपकार जस्तो पुण्य काम अरु केही नभएको उल्लेख गरे ।


कार्यक्रममा ज्येष्ठ नागरिक, ठाँटीका परिकल्पनाकार चीनबहादुर गुरुङ (मरणोपरान्त), जग्गादाता विजय गुरुङ, कुलबहादुर गुरुङ, आर्किटेक्चर स्वरुप गुरुङ, निर्माण व्यवसायी खड्गबहादुर मगर, डा सुमिन गुरुङ, डा जीवन गुरुङ, इन्जिनियर अनवरत गुरुङ, दिग्विजय गुरुङ, प्रतीक गुरुङ, अरवीन गुरुङ र सम्पन्न गुरुङलाई सम्मान गरिएको थियो ।


गुठीका लागि ५० हजारभन्दा बढी दान गर्ने व्यक्तित्वलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङ, इन्जिनियर देउकाजी गुरुङ, समाजसेवी दीपक गुरुङ, अन्नपूर्ण बुद्ध विहारका सचिव खुसीमान गुरुङ, बुद्धिबहादुर गुरुङ लगायतले वीरेठाँटीको ऐतिहासिक पक्षबारे चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया