सरकारी लापरवाहीले संकट

फडिन्द्र अकिञ्चन २०८० माघ ४ गते १०:२९

पोखरा ।
अबको छ महिनाभित्रै देशकै दोस्रो ठूलो खानेपानी आयोजनाबाट पोखरेलीका घर घरमा पानी पुर्‍याइँदै छ । डिसेम्बरसम्म ९५ प्रतिशत काम सकिएको पोखरा खानेपानी सुधार आयोजनाबाट अन्यत्र पानी पुग्ने निश्चित भए पनि महानगरका ४ वटा वडामा भने समस्या हुने देखिएको छ ।


वडा नम्बर १०, १४, १५ र १७ का करिब ३५ हजारलाई खानेपानी वितरण गर्ने कोलपाटनको ओभरहेड टंकी अलपत्र परेपछि आयोजना कार्यान्वयनमै शंका उब्जिएको हो । २०७६ कात्तिकमा निर्माण सुरु भएको यो टंकीको काम ०७८ असारदेखि रोकिएको छ । ३१.८ मिटर अग्लो हुुँदा दुई हजार घनमिटर पानी अटाउने टंकीको २० मिटर बनिसकेको छ । अहिलेसम्म यो टंकी बनाउन जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) को १४ करोड खर्च भइसकेको छ ।


योजनामुताबिक बनाउँदा यसको लागत २५ करोड पुग्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), पोखरा महानगरपालिका, खानेपानी संस्थान र जाइकाबिच समन्वय नहुँदा अहिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र खानेपानी योजना दुबै सङ्कटमा परेका छन् । विमानस्थलको धावनमार्गबाट पश्चिमतर्फ १.४५ किलोमिटर टाढा यो टंकी छ ।

Advertisement


क्यानले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि टंकी काटेर १५.५७ मिटर बनाउनुपर्ने अडान लिएको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल टंकी अहिलेकै अवस्थामा रहँदासमेत हवाई सुरक्षामा गम्भीर असर पर्ने दाबी गर्छन् । ‘अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्ड अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्छ । यसमा सम्झौता गर्न सक्ने विन्दु छैन । महानगरले हटाउनु पर्छ, कसै नभए उड्डयन ऐन प्रयोग गरी हामीले नै मापदण्ड अनुरुप बनाउनुपर्ने हुन्छ’ उनी भन्छन् ।

टंकी नभत्काए अन्तर्राष्ट्रिय विमानस्थल संकटमा, भत्काउँदा खानेपानी योजना अलपत्र

Advertisement


विमानस्थलको अब्स्ट्याकल लिमिटेसन सर्फेसभित्र पर्ने देखिएको भन्दै क्यानले २०७८ साउन ४ गते पत्र पठाएर टंकीको उचाइ १५ दशमलव ५७ मिटरमा झार्न निर्देशन दिएपछि निर्माण रोकिएको थियो । २० मिटर अग्लो ट्यांकीको उचाइ १५.५७ मिटर बनाएर उपयोग गर्न मिल्ने बनाउन थप ६४ करोड रुपैयाँ खर्च हुने एक अध्ययनले देखाएको छ ।


खानेपानी संस्थान पोखराका प्रमुख इन्जिनियर आशीष कार्की यो टंकी उपयोगबारे अध्ययन गरी हालै विभिन्न विकल्प मन्त्रालयमा पेश गरिएको र चाडै मन्त्रालयले उचित समाधान निकाल्ने बताउँछन् । उनी भन्छन्, ‘पहिलो विकल्प अहिलेकै अवस्थामा राख्ने, त्यसो नभए क्यानले भने अनुसार काटेर प्रयोग गर्ने अरु चार विकल्पको अध्ययन गरी प्रतिवेदन पठाएका छौँ, चाडै मन्त्रालयले उचित निर्णय लेला ।’


कार्कीले मन्त्रालयले उचित निर्णय चाडै लिने बताए पनि यो त्यति सजिलो देखिएको छैन । जाइकाले टंकी काट्ने, फेरि उपयोग गर्ने कुरामा सहमति दिएको छैन । केही महिनाअघि जापान भ्रमणमा जाँदा जाइकाका प्रतिनिधिले सबै समस्या सुनेको तर प्रतिक्रिया नदिएको सुनाउँछन् पोखरा महानगर प्रमुख धनराज आचार्य । ‘जापानी जनताको करको पैसा खेर जाने भो भन्ने उहाँहरुको कुरा छ,’ आचार्यले भने ।


टंकी काट्ने निर्णय लिँदा भविष्यमा भ्रष्टाचार मुद्दा खेप्नुपर्ने भय कर्मचारीहरुमा देखिएको छ । खानेपानी मन्त्रालयले पटक पटक अध्ययन समिति बनाएको छ, विज्ञहरुसँग छलफल गरिसकेको छ, तर निर्णय लिएको छैन ।


यो खानेपानी आयोजना र टंकीबारे सरोकारवाला निकायका सबैजसो प्रमुख जानकार छन् । तत्कालीन समयमा विमानस्थल आयोजनाका प्रमुख रहेका प्रदीप अधिकारी अहिले क्यानका महाप्रबन्धक छन् । ट्यांकी बनाउन थाल्दा यसको उचाइले विमानस्थललाई असर गर्नै कुरै उठेको थिएन ।


खानेपानी आयोजनाले भने विमानस्थल आयोजनालाई जानकारी दिएरै काम थालेको दाबी गर्ने गरेको छ । जाइकाको अनुदानमा बनिरहेको करिब साढे चार अर्बको खानेपानी आयोजनाको म्याद छ महिना थप्ने तयारी भएको छ । टंकी विवाद नसुल्झिए एकातिर चार वडाका स्थानीयले खानेपानी सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था आउनेछ भने अर्कातिर विमानस्थलको सुरक्षा खतरा पनि रहिरहन्छ ।

फडिन्द्र अकिञ्चन

अकिञ्चन समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् । 

तपाईको प्रतिक्रिया