प्रधानाध्यापक शिवकुमारलाई ३ वर्ष कैद

समाधान संवाददाता २०८० माघ ८ गते १०:४२

पोखरा ।
विशेष अदालतले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई ३ वर्ष कैद सजाय तोकेको छ । एकै दिन चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रधानाध्यापक साहलाई विशेष अदालतले आइतबार कसुर निर्धारण गरेको हो ।


विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु श्रेष्ठको इजलासले उनलाई १३ लाख ३२ हजार रुपैंया बिगो कायम राख्दै त्यति नै थप रकम जरिवाना गर्ने फैसला गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।


चौथो मुद्दामा साढे २ वर्षदेखि ४ वर्षसम्म कैद हुनसक्ने भएकाले विगो र कसुर निर्धारणका आइतबार सुनुवाइको मिति तोकिएको थियो । विशेष अदालतले २४ पुसमा उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण गरेको थियो । तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको थियो ।

Advertisement


विद्यालयका लागि निकासा भएको रकम हिनामिनाका चार फरक मुद्दामा उनलाई दोषी ठहर गरेको हो । ३ मुद्दामा उनलाई करिव १६ लाख विगो र त्यति नै जरिवानाको फैसला भएको थियो ।


प्रधानाध्यापक साहले जिल्ला शिक्षा कार्यालयबाट ट्रस भवन निर्माण बापतको रकम दुरुपयोग गरेका थिए । झुटा प्रतिवेदन र बिल बनाई रकम दुरुपयोग गरेको आरोप उनीमाथि थियो । विद्यालयमै ल्याब बनाउने र शैक्षिक सामग्री खरिदको रकम दुरुपयोग गरेको अर्को मुद्दा थियो । विद्यार्थीले पाएको छात्रवृत्ति, पोशाक, झोलाको रकम समेत फर्जी कागजातका आधारमा दुरुपयोग गरेकोमा पनि मुद्दा चलेको थियो ।

Advertisement


अनि छात्रा शौचालयको रकम समेत दुरुपयोग गरेको भन्दै थप मुद्दा परेको थियो । उनले विद्यालय व्यवस्थापन समितिको समेत नक्कली निर्णय बनाएको आरोप थियो ।

तपाईको प्रतिक्रिया