मफलरलाई पुरस्कार, विश्वप्रेमलाई सम्मान

समाधान संवाददाता २०८० माघ १० गते १२:४०

पोखरा ।
नेपाली लेखक संघ कास्कीले प्रदान गर्ने लेखक कृति पुरस्कार २०७९ गजलकार प्रदीप रोदनको कृति ‘मफलर’लाई प्रदान गरिने भएको छ । संस्थाको हालै बसेको कार्यसमिति बैठकले पुरस्कार छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै सो निर्णय गरेको हो ।


कार्यसमितिले २०७९ मा गण्डकी प्रदेशभित्रका लेखकद्वारा प्रकाशित कृतिहरू अध्ययन गरी प्रारम्भिक चरणमा उत्कृष्ट ६ कृति छनोट गरी गत महिना पुरस्कार छनोट समितिलाई हस्तान्तरण गरेको थियो । प्रारम्भिक चरणमा छनोटमा परेका कृतिहरू दिलीप ढकालको उपन्यास ‘छलाङ’, अशोक थापाको कथासंग्रह ‘सन्तापको धून’, प्रदीप रोदनको गजलसंग्रह ‘मफलर’, जनार्दन दाहालको लघुकथासंग्रह ‘भुवा’, मिलन समिरको कवितासंग्रह ‘प्रिय दुश्मन’ र सुरज उपाध्यायको बाल कवितासंग्रह ‘साइकल’ थिए ।


छनोटमा परेका कृतिहरूमध्ये विषय, शिल्प, संवेदना, नवीनता एवम् विविध आधारमा ’मफलर’ कृति छनोटमा परेको छनोट समितिका संयोजक डा. भूमिराज बस्ताकोटीले जानकारी दिए । पुरस्कार छनोट समितिमा डा. भूमिराज बस्ताकोटी, सञ्जीव पौडेल, रीतादेवी कँडेल र पदेन सदस्यमा संस्थाका अध्यक्ष र सचिव थिए ।

Advertisement


मफलर रोदनको पहिलो कृति हो । यसमा गजलका साथमा फर्दहरू पनि छन् । कृतिले यस वर्ष प्रदान गरिने विभिन्न पुरस्कार प्राप्त गरिसकेको छ । वार्षिक रूपमा संस्थाले गर्ने ‘स्रष्टा सम्मान २०७९’ बाट अग्रज साहित्यिक एवम् सामाजिक व्यक्तित्व विश्वप्रेम अधिकारीलाई सम्मान गरिने भएको छ ।


अधिकारी ६ दशकदेखि अनवरत रूपमा साहित्य साधनामा तल्लीन छन् । कविता, गीत, गजल, निबन्ध, कथा जस्ता विविध विधामा कलम चलाउँदै आएका अधिकारी स्याङ्जा जिल्लाको राङखोलालामा वि.सं.२००३ सालमा जन्मेका हुन् । उनी करिब साहित्यिक पत्रिका ’रजस्थल’को प्रधान सम्पादकसमेत हुन् ।

Advertisement


यही माघ महिनामा एक समारोह आयोजना गरी पुरस्कार प्रदान एवम् सम्मान अर्पण गरिने संस्थाकी अध्यक्ष रीता अधिकारी ’ऋतु’ ले जानकारी दिइन् । संस्थाले यसअघि सरोज अर्यालको उपन्यास ’दिव्याञ्जली’लाई २०७५ को, डा. मतिप्रसाद ढकालको ’महाभारतमा के छ ?’ कृतिलाई २०७७को, दीपक समीपको ’अक्षर अक्षरमा देश’ लाई २०७८ सालको लेखक कृति पुरस्कार प्रदान गरिसकेको छ ।

संस्थाबाट हालसम्म स्व. तेजनाथ घिमिरे, केशवराज पराजुली, डा. भूपति ढकाल ‘कमल’ सम्मानित भइसकेका छन् । २०७६ सालको पुरस्कार भने कोभिडका कारणले प्रदान गर्न नसकिएको संस्थाका सचिव प्राञ्जलले बताए ।

तपाईको प्रतिक्रिया