घरपझोङ अध्यक्ष लालचन र पर्यटक प्रहरी वनबरियालाई सम्मान

सुन्दरकुमार थकाली २०८० माघ १४ गते १३:०१

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र पर्यटक प्रहरी प्रहरी सहायक निरीक्षक चन्द्रेश्वर वनबरिया सम्मानित भएका छन् । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, पर्यटन विभाग अन्तर्गत पर्यटक प्रहरीको ४५ औं स्थापना दिवसको अवसरमा पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपले उनीहरुलाई विशेष सम्मान गरेको हो ।


पर्यटक प्रहरी दिवसका अवसरमा विभिन्न व्यक्ति र पर्यटक प्रहरीलाई सम्मान गर्ने क्रममा घरपझोङ अध्यक्ष लालचन र पर्यटक प्रहरी बनबरियालाई पनि सोही समारोहमा सम्मान गरिएको पर्यटक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । दिवसमा पर्यटक प्रहरी सेवामा समर्पित र योगदान दिने विशिष्ट व्यक्तिलाई प्रमाणपत्रले सम्मानीत गरिएको हो ।


मुस्ताङ सडक सञ्जालले जोडिएसँगै २०७० सालदेखि पर्यटक प्रहरी कार्यालय स्थापना गरिएको थियो । हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकहरुको सेवाका लागि स्थापना भएको पर्यटक प्रहरी कार्यालय लामो समय देखि व्यक्तीको भाडाको घरमा बसेर कार्यालय सञ्चालन गरिएको थियो । पर्यटक प्रहरीको आफ्नै भौतिक संरचना नहुँदा विभिन्न समस्या र चुनौती थिए ।

Advertisement

यसैका कारण पर्यटक प्रहरी कार्यालय मुस्ताङको भौतिक संरचना निर्माण गर्नका लागि जग्गा उपलब्ध गराउने, आवश्क समन्वय र सहकार्य गरी पर्यटक प्रहरीलाई सहयोग गरिएको भन्दै घरपझोङका अध्यक्ष लालचनलाई विशेष सम्मान गरिएको हो ।


यसैगरी पर्यटक प्रहरी कार्यालयका लागि जग्गा उपलब्ध गराउन कार्यालयको तर्फबाट उल्लेखनीय योगदान पुर्‍याएवापत पर्यटक प्रहरी बनबरियालाई पर्यटक प्रहरीको प्रधान कार्यालयले विेशेष सम्मान गरेको हो ।

Advertisement


मुस्ताङ सदरमुकाम जोमसोममा पर्यटक प्रहरी कार्यालयको भौतिक संरचना निर्माणका लागि एक रोपनी जग्गा उलब्ध गराइएको छ । स्थानीय तह, प्रशासन, मालपोत, नापी लगायतका कार्यालयको संयुक्त पहलमा कार्यालयका लागि नेपाल सरकारको नाममा लालपुर्जा समेत प्राप्त भइसकेको छ । अब सो जग्गा लिज प्रक्रिया मार्फत पर्यटक प्रहरी कार्यालयले भोगचलन गर्ने छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया