‘१२ दुर्वासा’ को मञ्चन सकियो

समाधान संवाददाता २०८० माघ १५ गते १२:२६

पोखरा ।
पोखरामा नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकिएको छ । पुस २६ गतेबाट सुरु भएको यो नाटक १९ सो मञ्चन भएको पोखरा थिएटरले जनाएको छ ।


यसअघिका नाटकभन्दा केही फरक भएकाले नाटक हेर्न गन्धर्व नाटकघरमा पुगेका दर्शकले यसलाई रुचिपूर्वक हेरेका थिए । कलाकार समेतले यो नाटकबाट भिन्न खालको अनुभव संगाल्न पाएकोमा उत्साहित छन् ।


नाटक मञ्चन सफल भएको भन्दै पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले सबैप्रति आभार प्रकट गरे । थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार भएको नाटकमा उनीसहित १३ जना कलाकारले अभिनय गरेका थिए । नाटकमा रमेशबाबु तिमल्सिना, अनुषा परियार, रवीन्द्र मल्ल, सुशन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुषाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सना विश्वकर्मा र रोहित पौडेलको अभिनय थियो ।

Advertisement


अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको यो नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका थिए । यस नाटकका लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिएको थियो । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएको संस्थापक सदस्य गुरुङ बताउँछन् ।


‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रीत छ । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरुको विचारमा देखिने विविधता र संर्घष नै नाटकको विषयवस्तु हो ।

Advertisement


यो विषयवस्तुलाई प्रभावकारी बनाउँदै निष्कर्षमा पुग्न कलाकारले गरेको अभिनयात्मक बहस तारिफयोग्य थियो । उनीहरूको रोचक बहसले दर्शकलाई एकटकले स्टेजतर्फ ध्यान तान्न सफल भएको थियो ।


सन् २०५४ मा टेलिप्ले (टेलिभिजन सिरिज) का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो । विश्वका विभिन्न भाषामा यसको फिल्म नाटक निर्माण भएका छन् । यो नाटकले वर्गीय,जातिय, क्षेत्रिय, लैंगिक समाजको चित्रण गरेको छ ।


लगातार विद्यार्थी केन्द्रीत नाटक मञ्चन भइरहेको समयमा त्यसभन्दा भिन्न खालको स्वाद पस्कन गरेको प्रयास सफल भएको निर्देशकसमेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । यो नाटकबाट उनी अभिनयको क्षेत्रमा समेत पुनः फर्किएका थिए । नाटक मञ्चनलाई भव्य बनाउन सहयोग गर्ने सबैप्रति उनले आभार समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया