सम्पादकीयः खाँचो विशेषज्ञ अस्पतालको

समाधान संवाददाता २०८० माघ २५ गते ११:४५

गण्डकी प्रदेशको राजधानी पोखरा । राजधानी विशेषता जोडिए पनि तदअनुरुपका सुविधाको भने यहाँ खाँचै छ । जस्तो कि सुविधासम्पन्न अस्पताल । विशेषज्ञ अस्पताल अर्थात क्यान्सर, मुटु र फोक्को वा मस्तिष्क सम्बन्धी जटिल रोगहरुको पनि विशेष उपचार हुने ठाउँ । बालबालिकाको मात्रै उपचार गर्ने अस्पताल । महिलाका रोगहरुको उपचार गर्ने अस्पताल । यस्तै धेरै विशेषज्ञ सेवाको खाँचो छ पोखरामा । त्यसमध्ये मुटुको उपचारचाहिँ पोखरामा गर्ने व्यवस्था झनै बढी खट्किएको विषय हो । हृदयघातका सामान्य समस्यामा पनि पोखरेलीहरुलाई हेलिकोप्टर चढाएर काठमाडौं लैजानुपर्ने अवस्थाको अन्त्यको खाँचो हो । अचेलको जमानामा हृदयघात हुँदा बेलामा औषधोपचार नपाएर ज्यान जानु बिडम्वना हो । मस्तिष्कघातकै समस्यामा पनि हेलिकोप्टरको खोजी गरी काठमाडौं नै धाउनुपर्छ ।


मिर्गाैला प्रत्यारोपण केही समयअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु हुनु सुखद हो । तर त्यो नियमित हुनुपर्छ । र यहीं सबै मानवसंसाधन तयार हुनुपर्छ । काठमाडौंबाट मानवसंसाधन अर्थात विशेषज्ञ डाकेरमात्रै प्रत्यारोपण साध्य हुने कुरा होइन । मिर्गाैलाको कुरा गर्दा डाइलाइसिस गर्न पनि बिरामीलाई अनेक सास्ती छन् । महिनौंसम्म पालो कुर्दाकुर्दा बिरामीको ज्यानै पनि जान्छ । निजी अस्पतालको महँगो सेवा सामान्य नेपालीले थेग्न सक्दैन । सरकारी सबै अस्पतालमा र त्यो पनि जिल्लाजिल्लामा डायलाइसिस सेवा हुनुपर्छ । केही प्रयास गण्डकी प्रदेशमा भएको छ, तर त्यो पुग्दोमात्रामा छैन । डायलाइसिस मेसिन र आवश्यक स्वास्थ्यकर्मी पर्याप्त भएका छैनन ।


नेपालमै भर्खरै कलेजो प्रत्यारोपणको जुन सफलता मिलेको छ, त्यस्तो सुविधा पोखरामा किन सुरु नगर्ने ? गर्नुपर्छ । क्यान्सरका लागि त चितवनै पुग्नुपर्छ । पोखरामा पनि क्यान्सर उपचार गर्ने विशेषज्ञ सेवा हुन जरुरी छ । सानातिनादेखि ठूला, दीर्घ र असाध्य रोगको पनि उपचार हुने सेवा भएमात्रै प्रदेश राजधानी हुनुको सार्थकता पोखराले पाउँछ । गण्डकी प्रदेशका सबै जिल्लावासीले आफ्नै प्रदेशमा सेवा पाउनु पनि पर्छ ।

Advertisement

घरआँगनको अर्थात नजिकको सरकार प्रदेश सरकार हो, त्यसमा पनि प्रदेशलाई स्वास्थ्यको दायित्व र अधिकार छ । उसले आफू मातहतका जिल्ला अस्पतालहरुलाई सेवासुविधा सम्पन्न पार्नुपर्छ । पोखरामा विशेषज्ञ सेवा उपलब्ध गराउन सक्नुपर्छ । विश्वविद्यालय पनि आफ्नै रहेको प्रदेश सरकारले चिकित्साशास्त्रको पढाइ चलाउन सक्छ, चलाउनुपर्छ । अनि विशेषज्ञ उत्पादन पनि गर्ने र सेवा पनि दिने गर्नु जनताका लागि भलाइको काम हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया