रेन्बो माविमा आइडलको खोजी

समाधान संवाददाता २०८० फागुन १ गते १२:३३

पोखरा ।
पोखरा–१५ मा रहेको रेन्बो एकेडेमिक होम्स माविले सोमबार सांगीतिक कार्यक्रम आयोजना गरी तह अनुसार रेन्बो आइडल घोषणा गरेको छ । नृत्य र गायनतर्फ तीन तहमा आइडल खोजी गरिएको हो ।


कक्षा ४ देखि ६ सम्म गायनतर्फ निस्मा पुन आइडल बनिन् । प्रतियोगितामा द्वितीय आयुष विक र तृतीय सारिया मल्ल बने । सोही समूहको नृत्यतर्फ स्नेहा थापा आइडल बन्दा सदिच्छा गुरुङ दोस्रो र अरबिन गुरुङ तेस्रो भए ।


यस्तै, कक्षा ७ देखि १० सम्म गायनतर्फ प्रथम अर्निम केसी, द्वितीय जानुका श्रीष र तृतीय प्रिना गुरुङ ठहरिए । सोही समूहको नृत्यतर्फ प्रथम प्रकृति छन्त्याल, द्वितीय कुसुम गुरुङ र तृतीय आरआर ओली बने ।

Advertisement


प्रतियोगिताको कक्षा १ देखि ३ सम्म नृत्यमा आरोसी गुरुङ आइडल घोषित हुँदा मोनिका राना दोस्रो, सम्पदा नेपाली तेस्रो र सिद्धान्त श्रेष्ठ चौथो बने । गायनमा सरुन गुरुङ आइडल, दोस्रो अन्सा गुरुङ र तेस्रो सोनिका पौडेल भएका छन् ।


प्रतियोगितामा गायनतर्फ २८ र नृत्यतर्फ ४४ विद्यार्थीले भाग लिएका थिए । कार्यक्रममा विद्यार्थीले राष्ट्रभक्ति एवं सामाजिक भावना बोकेका गीत गाउनुका साथै नृत्य प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीलराज पराजुलीले विद्यालयले गरेका यस्ता कार्यक्रमले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने र उनीहरुले व्यक्तित्व विकासको उचित मौका पाउने उल्लेख गरे ।

Advertisement


सँगसँगै, यस्ता कार्यक्रमले भाषा, संस्कृति, परम्परा संरक्षण र विकासमा समेत टेवा पुग्ने उनको भनाइ छ । विद्यालयका प्रधानाप्रध्यापक बाबुराम बरालले विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटन गराउन यस्ता कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गरे ।


‘यस्ता क्रियाकलापबाट विद्यार्थीको पढाइसँगै अतिरिक्त ज्ञान दिने एवं भविष्यको लक्ष्य निर्धारणमा पनि सहयोग पुग्छ,’ उनले भने । प्रतियोगितामा प्राविधिक संयोजन म्युजिसियन रविन गुरुङले गरेका थिए । निर्णायकमा गायिका उषा गुरुङ र नृत्य निर्देशका माया गुरुङ थिए । कार्यक्रममा विद्यालयका कोअर्डिनेटर सञ्जीव कुँवरले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया