विद्यालयस्तरीय क्रिकेट ९ गतेबाट

समाधान संवाददाता २०८० फागुन ३ गते १२:०९

पोखरा ।
पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुँदै छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा प्रतियोगिता हुनेछ ।


पोखराका १२ विद्यालय सहभागी हुने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले जानकारी दिए । बुधबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विद्यालय स्तरमा क्रिकेटका गतिविधि शून्य भएकाले प्रतियोगिता आयोजना गरेको ढुंगानाको भनाइ छ ।


‘अहिले नेपालको राष्ट्रिय टिमले विभिन्न प्रतियोगिता लगातार खेलिरहेको भए पनि विद्यालय स्तरमा क्रिकेट गतिविधि शून्यप्रायः छ’, ढुंगानाले भने, ‘त्यसैले प्रथम पोखरा कप विद्यायल स्तरीय क्रिकेट प्रतियोगिता गर्न लागेका हौं ।’ यो प्रतियोगिता टि–२० ढाँचामा खेलाइनेछ । १२ कक्षासम्मका विद्यार्थीले खेल्न पाउनेछन् । १२ विद्यालयलाई ४ समूहमा विभाजन गरी लिग चरणका खेल खेलाइनेछ । समूह विजेताले सेमिफाइनलमा स्थान पक्का गर्ने छन् ।

Advertisement


प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किट, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त संयोजक ढुंगानाले जानकारी दिए । उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल प्रदान गरिनेछ । उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउने छन् ।


प्रतियोगिताको पहिलो संस्करणलाई एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता गर्न १० लाख ७५ हजार रुपैयाँ लाग्ने अनुमान छ । बि–बग इभेन्टका अध्यक्ष विशाल सुवेदीले पोखरामा विद्यालय तहबाटै क्रिकेटको विकास गर्ने प्रयासमा लागेको बताए । ‘धेरै समय अगाडिबाट विद्यालय स्तरमा क्रिकेटको टुर्नामेन्ट नभएको अवस्थामा क्रिकेट कल्चर विकास गर्ने सपना लिएका छौं’, उनले भने । पोखरेलीको सहयोग लिएर क्रिकेट खेलाडी उत्पादनमा लाग्ने योजना बनाएको सुवेदीले सुनाए ।

Advertisement


प्रतिभा माविका प्रचार्य किरण आचार्यले पोखरामा विद्यार्थी लक्षित क्रिकेट प्रतियोगिताको आवश्यकता पूर्ती भएको बताए । विद्यार्थीमाझ क्रिकेट खेल लोकप्रिय भए पनि प्रतियोगिता आयोजना हुन नसकेको उनको भनाइ छ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिस पोखराका अपरेसन म्यानेजर रमेश बाँस्तोलाले क्रिकेटको विकासमा साथ दिने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया