‘अँध्यारोमा कविले शब्दको टुकी बाल्छ’

समाधान संवाददाता २०८० फागुन ७ गते ११:३१

पोखरा ।
कविताले भावमात्र लेख्दैन । क्रान्ति लेख्छ, पोख्छ । कविताले प्रहार गर्छ शब्दमार्फत । यी आयाम फेरिदै छन् । गद्य, छन्दबाहेक कविता लेख्ने आफ्नै शैली बनेका छन् । आजकल कवितामा शब्दमा मात्र पोखिदैन । संगीतको धुनमा कविताको लय साटिन्छ । प्रस्तुतिका शैली फेरिएका छन् ।


तर पनि बेला बेला नेपाली कविताले आलोचना खेपिरहन्छ । भूपि शेरचन र बैरागी काइँलाको पेरिफेरिमा नेपाली कविता पोखिएको आरोप लाग्छ । नयाँ फरक शैली र ढंगमा कविले स्वाद पस्कन नसकेको बहस बेला बखत भइरहन्छन् ।


यावत आलोचना खेपिरहेका कविता क्षेत्रका विषयमा फरक धारण राख्छन् कविहरु । नेपाली कविता शैली फैलिएकोमा सन्तोष रहेको सुनाउँछन् कवि नवराज लम्साल । विविधता रहेको नेपाली कविताले आजक मुद्दाह उठाइरहेको उनको भनाइ छ । पहिलेको समय प्रेमभाव कोरिने शब्द अहिलेको समयसम्म आइपुग्दा विद्रोह लेख्न थालेको विचार राख्छन् उनी ।

Advertisement


‘हिजो कविता प्रेमको खोलासँग मात्र सीमित थियो, त्यो प्रेमको फैलावाट छ । आफनो अधिकारका निम्ति लडिरहेका, अधिकार मागिरहेको पहिचान खोजिरहेको जमातसँग छ । वर्षौँदेखि दासत्व शोषण छुवाछुत र अमानवीय व्यवहार भोगिरहेका मानवहरुको विद्रोहसँग छ । नेपाली कविता फैलिएको छ । आजको कविता सन्तोषका साथ अघि बढेको छ,’ नवराजले सुनाए ।


सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन भएको ‘कविताका आयाम’ सत्रमा सहजकर्ता शकुन्तला जोशीको प्रश्नको जवाफ दिँदै नवराजले सो बताएका हुन् । उनको यो विचारमा सहमत छन् तीर्थ श्रेष्ठ । नेपाली कविता संकुचित भएर बसेको आफूलाई नलाग्ने उनको विचार छ ।

Advertisement


‘कविता राजनीतिक व्यवस्था जस्तो परिवर्तन हुने कुरा पनि होइन । तर, कविता कविहरुपिच्छे बेग्लाबेग्लै ढंगले प्रस्तुत पनि हुन्छ । नेपाली कविता संकुचित भएर बसेको भन्ने लाग्दैन । नेपाली कविता भूपि र वैरागी काइलो सेरोफेरोमा बसेको छ भन्ने मलाई लाग्दैन । त्यसमा जति चर्चा परिचर्चा हुनुपर्ने हो त्यो नभएको हो,’ उनले सुनाए ।


कविताका आयाम विषयमा चर्चामा अर्की वक्ता थिइन् सुमिना । पछिल्लो समय बागी स्त्रीको आत्मकथा कविता संग्रह प्रकाशित गरेकी उनलाई प्रश्न थियो, ‘बागी हुन हामीलाई केले प्रेरित गरेको छ ?’


लेखनका अनेक विधामा आफनो मनलाई घत लाग्ने विषयमा कलम चल्ने सुनाउँछिन् सुमिना । सामाजिक परिवेशले नै बागी बनाएको सुमिनको भनाइ छ । ‘हामीलाई बागी बनाउने भनेको सामाजिक परिवेश नै हो भन्ने लाग्छ । विभेद, हिंसाका श्रृखंला देख्छौँ । त्यति बेला हामीसँग विकल्प नै हुँदैन कि हामी बागी न बनौँ । र्निविकल्प विकल्प नै विद्रोही आवाज लाग्छ, त्यसलाई मैले चाहिँ कवितामा प्रस्फुटन गरिराखेको छु,’ उनले सुनाइन् ।


कविले शब्दमार्फत अँध्यारो समयमा टुकी जलाउने काम पनि गर्नुपर्ने बताइन् । वैचारिक जागरणका लागि कविताले भूमिका खेल्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया