मादी गाउँपालिकाको स्थापना दिवसमा भलिबल स्पर्धा

समाधान संवाददाता २०८० फागुन १० गते १०:३५

पोखरा ।
मादी गाउँपालिकाले प्रथम पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता गर्ने भएको छ । पालिकाको आठौं वर्षगाँठको अवसरमा फागुन २७ देखि २९ गतेसम्म प्रतियोगिता गर्न लागेको अध्यक्ष देवीजंग गुरुङले जनाए ।


‘खेल अभियान पर्यटन र संस्कृतिको पहिचान’ भन्ने नाराका साथ हुने प्रतियोगिताका विजेताले ३ लाख र दोस्रो हुनेले २ लाखसहित मेडल र प्रमाणपत्र पाउने छन् । तृतीय हुने टिमले १ लाख र सान्त्वनाले ५० हजार पाउने छन् ।


विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । सहभागिताका लागि गण्डकी प्रदेशका सबै पालिकालाई पत्राचार गरिने जनाउँदै अध्यष गुरुङले २४ भन्दा बढी टिमले भाग लिने अपेक्षा सुनाए ।

Advertisement


स्थानीय मिलन युवा क्लब भलिबल प्रतियोगिताको सहआयोजक छ । स्थापना दिवसको अवसरमा सबै वडाबाट स्थानीय स्तरमा प्रचलित झाँकी निकाल्ने तय छ । स्थानीय कलाकारका प्रस्तुतिको अलवा जनप्रतिनिधिहरुले स्वागत नृत्य गर्ने छन् ।


पालिकाका ज्येष्ठ नागरिकमध्येबाट ग्राम पिता र मातालाई सम्मान गर्ने तयारी छ । कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबलसमेत हुनेछ । पालिकामा कार्यरत शिक्षकबीच हाजिरीजवाफ प्रतियोगिता हुनेछ । हाजिरीजवाफमा प्रथम पुरस्कार १५ हजार, द्वितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार ५ हजार छ ।

Advertisement


स्थापना दिवसमा उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, स्वास्थ्य स्वंमसेविका, किसान, उपभोक्ता समिति, टोल सुधार समिति, सहकारीका प्रतिनिधिलाई सम्मान गर्ने तय भएको छ । अध्यक्ष गुरुङले पालिकामा उत्कृष्ट कार्य गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र पालिकाका वृहत्तर हितका लागि योगदान दिने व्यत्ति, तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने जनाए ।
स्थापना दिवसको सबै कार्यक्रम सञ्चालन गर्न २० लाख खर्च लाग्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया