प्रतिभा मावि र नेपाल भारतमैत्री विद्यालयको जित

समाधान संवाददाता २०८० फागुन ११ गते ११:०८

पोखरा ।
पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा प्रतिभा माध्यमिक विद्यालय र नेपाल भारतमैत्री विद्यालय विजयी भएका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा प्रतिभाले सगरमाथा माध्यमिक विद्यालय र नेपाल भारतमैत्रीले एसओएस हर्मन माइनर विद्यालयलाई पराजित गरेका हुन् ।


पहिलो खेलमा प्रतिभाले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको सगरमाथाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २१ रनमात्र बनाउन सक्यो । सगरमाथाका किर्बिन श्रेष्ठले सर्वाधिक ३७ रन जोडे । प्रतिभाका स्वागत अधिकारीले सर्वाधिक ४ विकेट लिए ।


यसअघि पहिला ब्याटिङ गरेको प्रतिभाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । प्रतिभाका रोशन पौडेलले सर्वाधिक ४९ रन बनाएका थिए । रोहन ठकुरीले ३६ र कुशल अधिकारीले १९ रनको योगदान दिएका थिए । स्वागत अधिकारी प्लेयर अफ द म्याच चुनिए ।

Advertisement


बिहीबारको दोस्रो खेलमा डिएलएस मेथर्डबाट नेपाल भारतमैत्रीले एसओएसलाई ३५ रनले पराजित गरेको हो । एसओएसले दिएको ९४ रनको लक्ष्य पछ्याएको नेपाल भारतमैत्रीले पानी पर्नुअघि ११ ओभर ३ बलमा १ विकेट गुमाएर ८२ रन बनाएको थियो ।


वर्षा नरोकिएपछि नेपाल भारतमैत्री डिएलए मेथर्डबाट ३५ रनले विजयी भएको हो । नेपाल भारतमैत्रीका अंकित ठकुरीले सर्वाधिक ३३ रनको अविजित इनिङ खेलेका थिए ।

Advertisement


यसअघि एसओएस १८ ओभर ३ बलमा ९३ रनमा समेटिएको थियो । एसओएसका दीक्षित रेग्मीले १६ र कपिल पौडेलले १५ रन बनाएका थिए । नेपाल भारत मैत्रीका विवेक शाहले ३ र अलोक गुप्ताले २ विकेट लिए । नेपाल भारत मैत्रीका विवेक शाह प्लेयर अफ द म्याच घोषित भए ।


बि–बग इभेन्टको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगिता फागुन १६ गतेसम्म चल्नेछ । प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।


उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल, उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउने छन् ।

तपाईको प्रतिक्रिया