टिकटक बन्द हुँदा व्यवसायमा बाधा

प्रमिला कुँवर २०८० फागुन १४ गते ११:१७

पोखरा ।
टिकटकमार्फत मेअकप कक्षा, मेअकपका सामग्री प्रवद्र्धन गरिरहेको ‘द ब्युटी बक्स स्टुडियो’ का सञ्चालक सरकारको अचानकको टिकटिक प्रतिबन्धको निर्णयले स्तब्ध भए । सेल्फ मेअकप कक्षा सञ्चालन गरिरहेका उनीहरुका लागि पछिल्लो समय टिकटकले व्यवसाय प्रवद्र्धन गर्न सहयोग पुर्‍याएको थियो । ३५ हजार फलोअर्स रहेको ‘द ब्युटी बक्स स्टुडियो’ उपभोक्ता माझ लोकप्रिय बनिरहेको थियो ।


मेअकप महँगो हुने भएकाले आफैंले मेअकप गर्ने तरिका हो सेल्फ मेअकप । सधैं ब्युटी पार्लरमा गएर वा मेअकप आर्टिस्टसँग मेअकप गर्न महँगो पर्ने भएकाले ‘द ब्युटी बक्स स्टुडियो’ले सेल्फ मकेअकप गर्न टिकटकमार्फत प्रेरित गरिरहेको स्टुडियोकी इन्चार्ज प्रज्ञा गुरुङले बताइन् । गुरुङ भन्छिन्, ‘सबै नारीहरुमा राम्री र आकर्षक बन्ने संस्कृति बढ्दै गएको अवस्थामा सौन्दर्यप्रति टिकटकले थप प्रोत्साहन गरिरहेको थियो । मेअकपले महिलालाई सुन्दरताका साथै आत्मविश्वास पनि बढाउँछ ।’


टिकटक प्रतिबन्ध समस्याको समाधान नरहेको बताउँदै सरकारले नीति बनाएर टिकटक पुनः सञ्चालन गर्नुपर्ने उनको माग छ । व्यवसायलाई थप उचाईंमा पुर्‍याउन सहयोग गरिरहेको टिकटक सरकारले प्रतिबन्ध गरेपछि व्यवसायमा धक्का लागेको पोखरा जिरोकिलोमिटरका ४००/६००/८००/१००० पसलका सञ्चालकले बताए ।

Advertisement


झन्डै ३ वर्षदेखि टिकटकमार्फत कपडा व्यवसाय प्रवद्र्धन गर्दै आएका फेसबुक पेज र युटुबमार्फत व्यवसायको माकेर्टिङ गरिरहेको भएपनि टिकटक जति प्रभावकारी नभएको उनको अनुभव छ । उपभोक्तासँग जोडिन प्रभावकारी माध्यमको रुपमा रहेको टिकटक बन्द भएपछि व्यापार प्रभावित भएको उनले बताए ।

मार्केटिङलाई फेसबुक र युटुबभन्दा टिकटक प्रभावकारी थियो

Advertisement


टिकटकको प्रयोग स्वदेशदेखि विदेशसम्मै जोडेर नेपालीले गरिरहेका छन् । विदेशमा व्यापार, व्यवसाय गरिरहेका नेपालीहरुले नेपालमै कम्पनी खोलेर, कार्यालय राखेरसमेत व्यवसाय प्रवद्र्धन गरिरहेका छन् । विदेशमा जनशक्ति महंगो हुने, सामग्री तयार गर्न झन्झटिलो हुने र लक्षित वर्गसमेत नेपाली नै हुने खालका व्यवसायमा नेपालमा कार्यालय खोलेर टिकटकमार्फत् व्यवसाय प्रवद्र्धन गर्ने गरिएको छ । त्यसरी नै काम गरिरहेका पोखराका गोविन गिरी अहिले स्तब्ध छन् ।


जापानका व्यवसाय गरिरहेका उनले नेपालबाट व्यवसाय प्रवद्र्धन गर्न फ्लाट नै भाडामा लिएका छन् । सरकारी प्रतिवन्धले उनी अरु सामाजिक सञ्जाल प्रयोग गर्न बाध्य छन् । तर ती सञ्जालबाट गरिएको प्रवद्र्धन प्रभावकारी नभएको उनको ठम्याइ छ । सरकारले विकृति फैलाउनेहरुलाई नियमन र नियन्त्रण गर्ने नीति बनाएर नियन्त्रण गर्नुपर्नेमा टिकटकमै प्रतिबन्ध लगाउनु समस्याको समाधान नरहेको उनको तर्क छ ।


टिकटकले फाइदा भएको थियो भन्नेमात्रै नभई झुक्याएको भन्नेहरु पनि छन् । टिकटकको फाइदासँगै बेफाइदा पनि उत्तिकै भएको सिजन इम्पेक्सका सञ्चालक चोकबहादुर गुरुङले बताए । अरु एकाउन्टले टिकटकमा सामानको मूल्य मनपरि राख्दा व्यवसाय नै खलबलिएका उनले सुनाए ।


गुरुङ भन्छन्, ‘टिकटकमा देखेर कतिजना पसल खौज्दै आउँथे, पसलमा नयाँ सामान आएको ग्राहकलाई जानकारी दिन टिकटकमार्फत सहज भएको थियो, तर टिकटकमा सामानको मूल्य एकाथरी र व्यवहारमा अर्काेथरी हुँदा समस्या परेको थियो । टिकटिकबाट व्यवसाय गर्नेहरुले न कर, न भन्सार न त कोठा भाडा नै तिनुपर्ने त्यसैले उनीहरुको सामान सस्तो पर्ने भयो । हामी कर, भन्सार, भाडा, कर्मचारीलाई तलब दिएर व्यवसाय गर्नेलाई टिकटकबाट बेफाइदा भएको थियो ।’


टिकटकले नेपालका सर्त मान्ने र कार्यालय पनि खोल्ने पनि जनाइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको संसद बैठकमा टिकटक नियमन गर्न सकिने बताएका थिए । टिकटकमाथिको प्रतिबन्धसँगै नेपालमा अभिव्यक्ति स्वतन्त्रता खुम्चिन पुगेको पनि बौद्धिक सर्कलको प्रतिक्रिया छ । टिकटकमार्फत व्यवसाय गर्ने साना व्यवसायीमात्रै नभई ठूला व्यवसायीलाई पनि असर पुगेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले पनि आफ्नो व्यवसायमा असर परेको बताइरहेका छन् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया