कविता प्रतियोगितामा सचिन पहिलो

समाधान संवाददाता २०८० फागुन १६ गते १३:३०

पोखरा ।
लायन्स क्लब अफ पोखरा समर्पणले मंगलबार सामुदायिक विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गरेको छ । ५ कक्षादेखि ७ कक्षामा अध्ययनरत विद्यार्थीबिच भएको प्रतियोगितामा ईन्द्रराज्यलक्ष्मी माविका सचिन पौडेल प्रथम भएका छन् ।


चण्डिका प्राविका आशिका सुनार द्वितीय, बाल मन्दिर माविकी आयुष्मा पोख्रेलले तृतीय र लीला आधारभूत विद्यालयका सुस्मिता बस्नेतले सान्त्वना पुरस्कार पाए । प्रतियोगितामा बालमन्दिर माविका अनुजा बराल र कन्या माविका रितिका शेर्पालीले प्रोत्साहन पुरस्कार पाए ।


विजेतालाई रिजन चियर पर्सन जगदीशप्रसाद अधिकारी, क्लबका अध्यक्ष शर्मिला श्रेष्ठ, सचिव अम्बु कर्माचार्य र कार्यक्रम संयोजक धु्रव श्रेष्ठले नगद, प्रमाणपत्र र आकर्षक पुरस्कार प्रदान गरे । प्रतियोगितामा २४ विद्यार्थी सहभागी थिए ।

Advertisement


समारोहमा रिजन चियर पर्सन जगदीशप्रसाद अधिकारीले जसरी कक्षाकोठामा प्रत्येक शिक्षकका अध्यापनका तरिका फरक हुन्छन्, विद्यार्थीको क्षमता र प्रतिभा पनि फरक हुने धारणा राखे ।प्रतियोगिताका निर्णायक असफल गौतमले प्रतियोगितामा सहभागिता जनाउनु नै पहिलो सफलता भएको बताउँदै एउटा कविताका लागि निर्णायकले तय गरेका मापकका आधारमा विद्यार्थीमा अन्तरनिहित समग्र प्रतिभाको मूल्याङ्कन नहुने विचार राखे ।


धुव्र श्रेष्ठ कार्यक्रम संयोजक रहेको प्रतियोगितामा असफल गौतम र डागर स्मृति प्रतिष्ठानका संस्थापक रमा पराशर निर्णायक थिए । क्लबका अध्यक्ष शर्मिला श्रेष्ठले क्लबले सामुदायिक विद्यालय स्तरीय धेरै कार्यक्रम गरे तापनि बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि पहिलो पटक बालअधिकार विषयक कविता प्रतियोगिता राखिएको सुनाइन् ।

Advertisement

तपाईको प्रतिक्रिया