पर्यटकीय सिजनसँगै मुस्ताङमा बजार अनुगमन

सुन्दरकुमार थकाली २०८० फागुन १८ गते १०:५९

जोमसोम ।
हिउँद यामको जाडो मौसम सकिएर पर्यटकीय चहलपहल बढेसँगै मुस्ताङमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । म्याद गुज्रिएका खाद्य पदार्थले जिल्ला भित्रिने पर्यटक तथा स्थानीय नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले सदरमुकाम जोमसोममा प्रशासन, प्रहरी र पत्रकारको रोहबरमा बजार अनुगमन गरिएको हो ।


जिल्ला प्रशासन कार्यालय मुस्ताङ, पर्यटन तथा उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङ, घरपझोङ गाउँपालिकाका कार्यालय, जिल्ला प्रहरी कार्यालय मुस्ताङ र पत्रकारको संयुक्त टोली मुस्ताङको जोमसोम बजार क्षेत्रमा बिहीबार अनुगमन सुरु गरेको हो । अफसिजनपछि सिजन सुरु भएसँगै पहिलो चरणमा जोमसोम बजार क्षेत्रमा सञ्चालित दुई दर्जनभन्दा बढी किराना पसलमा अनुगमन गरिएको हो ।


मुस्ताङमा जाडो कम भएसँगै पर्यटकीय गतिविधिसमेत विस्तारै बढ्न थालेको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले हिउँद यामपछि मुस्ताङमा नियमित बजार अनुगमनलाई निरन्तरता दिइएको जानकारी दिए ।

Advertisement


बजार अनुगमन टोलीले व्यवसायीले पसलहमा साईनबोर्ड राखेको/नराखेको, व्यवसाय दर्ता तथा नवीकरण, मूल्य सूचि राखेको वा नराखेको, लगबुक रजिस्ट्रार राखेको/नराखेको, खरिद बिल तथा उपभोक्तालाई दिइने बिल, सरसफाइ, मदिराको मूल्य अभिवृद्धि करको प्रमाणपत्र दर्ता तथा नवीकरण गरे/नगरेको, स्वदेशी तथा विदेशी र स्थानीय मदिराको पेय पदार्थमा अन्तशुल्क स्टिकर राखेको वा नराखेको, खाद्य सामग्रीको लेबल चेकजाँच, नापतौल चेकजाँच र व्यवसायले पान वा भ्याट बिल प्रयोग गरेको वा नगरेको लगायत अनुगमन गरेको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले जानकारी दिए ।


दुई दर्जन बढी पसलमा छड्के अनुमगन गरिएको हो । टोलीले व्यवसायीको पसलमा भेटिएका अखाद्य तथा पेय पदार्थ खाल्डो खनी पुरेको छ । टोलीले व्वसायीलाई आफ्नो पेशा, व्यवसाय सञ्चालन गर्न चाहिने आवश्यक कागजात राख्न, नवीकरण गर्न, सरसफाइ र बिल प्रयोग गर्न सुझाएको छ ।

Advertisement


अखाद्य तथा म्याद गुज्रिएका पेय पदार्थले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउने भएकाले सामान खरिद बिक्री गर्दा सचेत हुन आग्रह गरिएको छ । दोस्रो र तेस्रो चरणमा होटल तथा रेस्टुरेन्ट र डिस्टिलरी कम्पनीसँगै बजार अनुगमन गरिने जनाइएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया