१४ करोडको शवदाह गृह: बनेको ६ महिनासम्म ताला

समाधान संवाददाता २०८० फागुन २० गते १०:४१

पोखरा ।
एक त सुरुमै निर्माण थाल्दा अवरोध, अहिलेचाहिँ बनिसकेपछि तालाबन्दी । रामघाटमा विद्युतीय शवदाह गृहले यी दुवै नियति बेहोर्नुपरेको छ, जस्तो कि नेपालमा अधिकांश परियोजनाले बेहोर्दै आएका छन् । शवदाहगृह अपवाद बन्न सकेन ।


निर्माण पूरा भएर सञ्चालनका लागि ठिक्क परेको विद्युतीय शवदाह गृहमा ताला लागेको छ । गएको भदौ दोस्रो साता निर्माण सकिएको शवदाह गृह हस्तान्तरण नहुँदा अलपत्र परेको हो । निर्माण थाल्दा स्थानीयको विरोध थियो, पूरा भइसकेपछि भने सरकारी अकर्मण्यताको सिकार शवदाह गृह बनेको छ ।


निर्माण कम्पनी सिनर्जी बिल्डर्स प्रालिले गएको भदौ १८ गते निर्माण सकिएकाले अन्तिम बिल भुक्तानी गर्न र शवदाह गृह हस्तान्तरणका लागि संघीय आयोजना कार्यान्वयन इकाइलाई पत्राचार गरेको थियो । इकाइले भने अझैसम्म पोखरा महानगरलाई हस्तान्तरणका लागि पत्राचार गरिसकेको छैन ।

Advertisement


सहरी विकास मन्त्रालयले पोखरा–१०, रामघाटमा बनाएको शवदाह गृहको परीक्षणसमेत भइसकेको छ । १४ करोड १३ लाख ५० हजार ३ सय ६७ लागतमा बनेको आधुनिक शवदाह गृह १० रोपनीमा फैलिएको छ । राजधानी काठमाडौंबाहिर यो नै पहिलो विद्युतीय शवदाह गृह हो ।


०७३ मा शवदाह गृह निर्माणका लागि ठेक्का सम्झौता भए पनि स्थानीयको विरोध, कोभिड महामारीका कारण कामअघि बढ्न सकेको थिएन । २ वर्ष कानुनी झमेला र स्थानीयको अवरोधले रोकिएको शवदाह गृह बनिसकेपछि पनि हस्तान्तरण नहुँदा अहिले पात, पतिंगरले कुरुप बनेको छ ।

Advertisement

शवदाह गृह बनिसकेपछि पनि हस्तान्तरण नहुँदा अहिले पात, पतिंगरले कुरुप बनेको छ


निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ईन्द्र खनालले काम सकिएको ६ महिनासम्म हस्तान्तरण नहुँदा ठूलो नोक्सानी र झन्झट सहनुपरेको सुनाए । ‘म हस्तान्तरणका लागि पोखरा महानगर १५÷१६ पटक धाएँ, यत्रो गौरवको आयोजना बनिसकेर पनि सञ्चालनमा नआउनु दुःखद् हो,’ खनालले भने । निर्माण कम्पनीले डेढ करोड भुक्तानीसमेत पाउन बाँकी छ ।


शवदाह गृह बनेको जग्गा पोखरा महानगरको हो । संघीय आयोजना कार्यान्वयन इकाइले अब शवदाह गृह महानगरलाई हस्तान्तरण हुने जनाएको छ । इकाइका इन्जिनियर वीरबल सुनारm् शवदाह गृह बनेर परीक्षणसमेत सफल भइसकेको जानकारी दिए । इकाइले पोखरा महानगरलाई स्वामित्व लिइदिन पत्रचारसमेत गरेको छैन ।


महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले हस्तान्तरण प्रक्रिया सुरु भएको उल्लेख गरे । ‘नजिकै रहेको बौद्ध अर्घाैं सदनले पनि चलाउने इच्छा देखाएको छ, हस्तान्तरण भएपछि कसरी चलाउने भन्ने निर्णय गर्छाैं,’ उनले भने ।


यो शवदाह गृहमा शव दहन गर्ने ३ मेसिन राख्ने स्थान ठाउँ भए पनि अहिले २ मेसिन राखिएका छन् । ४५ मिनेटदेखि बढीमा १ घन्टाभित्र एउटा मेसिनले एउटा शव दहन गर्छ । शवदाह गृहभित्र अन्तिम श्रद्धाञ्जली दिने स्थानसमेत छ । फराकिलो भवनको परिसरभित्रै हिन्दू धर्मावलम्बीहरुका लागि मन्दिर र बौद्ध धर्मावलम्बीहरुका लागि गुम्बा निर्माण गरिएको छ ।


राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका अध्यक्ष सुनील पाण्डे ठूलो रकम खर्चेर बनाइएको आधुनिक शवदाह गृह चलाउन र हस्तान्तरणमा ६ महिनासम्म ढिलाइ हुनु क्षम्य नभएको बताउँछन् । ‘करोडौं खर्चेर बनेको आधुनिक शवदाह गृह सरकारी निकायबिचमै समन्वय नहुँदा छ महिना बन्द रह्यो । अब ढिलो गर्नुहुन्छ,’ उनी भन्छन् ।


पोखराका रामघाट, शक्तिघाट, मदौरेघाट, सीतापाइला घाट जस्ता सेती किनारका घाटमा शव दहन गर्ने गरिएको छ । दाउराले शव जलाउँदा प्रदूषण हुन्छ र अर्काेतिर वन विनाशलाई पनि मद्दत पुग्छ । दाउराबाट शवदहन गर्दा पानी पर्दा मलामीले कठिनाइ भोग्नुपर्छ भने शवदहन गर्न दाउराले हिर्काउनुपर्ने हुन्छ । बाँकी रहेको फोहोरसमेत नदीमा बगाउनुपर्दा पानी प्रदूषित हुन्छ ।


विद्युतीय शवदाह गृहमा प्रदूषण हुँदैन । विद्युतीय शवदाह गृहमा शव दहन गर्दा निस्किने धूँवासमेत निर्मलीकरण गरी चिम्नीबाट निकालिनेछ । शव दलन गर्दा गन्धसमेत बाहिर नआउने निर्माण कम्पनीको दाबी छ । दैनिक सञ्चालन हुँदा इलेक्ट्रिक शवदहन मेसिन ७/८ वर्ष राम्रोसँग चल्ने प्रोजेक्ट म्यानेजर खनाल बताउँछन् ।

तपाईको प्रतिक्रिया