सुरक्षाकर्मीकै बास जोखिमपूर्ण

सुन्दरकुमार थकाली २०८० फागुन २० गते १०:४३

जोमसोम ।
नागरिकको सुरक्षामा घटिने प्रहरीकै बास भरपर्दाे छैन । राष्ट्र, समाज र नागरिकको सुरक्षाका लागि अहोरात्र खटिने प्रहरीहरु हिमाली पारीको जिल्ला मुस्ताङमा जोखिमपूर्ण भवनमा बस्न बाध्य छन् ।


मुस्ताङमा प्रहरीका मुख्य १३ इकाइ छन् । त्यसका अलावा पर्यटक प्रहरी, ट्राफिक प्रहरी, कारागार प्रहरी, नागरिक उड्यन कार्यालयमा खटिने प्रहरी, अदालत र प्रशासन कार्यालयमा खटिने अरु ६ इकाइ छन् । मुस्ताङमा नेपाल प्रहरीको दरबन्दी ३ सय १३ जनाको छ । तर, यहाँ कहिल्यै दरबन्दी अनुसार पदपूर्ति हुँदैन । यहाँ अहिले २ सय ४६ जना प्रहरी कार्यरत छन् ।


२०२२ भदौ ४ गते मुस्ताङमा प्रहरी इकाइ स्थापना गरिएको हो । ३ हजार ५ सय ७३ वर्गमिटर क्षेत्रफलमा फैलिएको मुस्ताङ जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्छ । पश्चिममा डोल्पा, पूर्वमा मनाङ र पश्चिममा म्याग्दी जिल्ला छन् । १४ हजार ४ सय ५२ जनसंख्या रहेको मुस्ताङमा औसतमा १ प्रहरीले १९ दशमलव ४२ वर्गमिटर क्षेत्रफलमा काम गर्नुपर्ने हुन्छ । यहाँको भौगोलिक विकटता, प्रतिकूल मौसम र प्रहरीका लागि पर्याप्त पूर्वाधार तथा स्रोत, साधन नहुँदा मुस्ताङका धेरैजसो प्रहरी इकाइमा कार्यरत प्रहरीका समस्या धेरै छन् ।

Advertisement


नेपाल प्रहरीको आवश्यक पूर्वाधार र स्रोत, साधन जुटाउन सरकारले खासै ध्यान दिएको पाइँदैन । राज्यको कानुन कार्यान्वयनका लागि महत्वपूर्ण सारथि बनेको नेपाल प्रहरी मुस्ताङमा भने कठिन परिस्थिति र चुनौति भोग्न बाध्य छन् । सरकारले अन्धाधुन्ध सडक, भवन, भ्युटावर, बिजुली, सञ्चार, कृषि, पर्यटन लगायतमा पूर्वाधार विकास गरिहेको भए पनि मुस्ताङका दुरदराजमा कार्यरत प्रहरीलाई सहज हुने गरी आश्रयसमेत व्यवस्था गर्न सकेको छैन ।

हिमपात र प्रतिकूल मौसममा पनि बाह्रै महिना खटिने मुस्ताङका प्रहरीहरु संघ, संस्था र व्यक्तिका जीर्ण भवनमा बस्न बाध्य छन्

Advertisement


मुस्ताङका धेरैजसो प्रहरी इकाइ सरकारी विद्यालय, एक्याप, वडा कार्यालय, आमा समूहको समाजघरमा आश्रय लिएर बस्न विवश छन् । यहाँका प्रहरीका १३ इकाइमध्ये ८ प्रहरी इकाइका विभिन्न संघ, संस्थाका जीर्ण भवनमा वर्षौदेखि चलेका छन् ।
जिल्ला प्रहरी कार्यालय जोमसोममा छ । ५ वटा ईलाका प्रहरी कार्यालय र ७ वटा प्रहरी चौकी छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पर्याप्त भौतिक संरचना बनिसकेको छ । इलाका प्रहरी कार्यालय लेते, प्रहरी चौकी घाँसा र इलाका प्रहरी कार्यालय लोमान्थाङका पनि आफ्नै भवन बनिसकेका छन् ।


इलाका प्रहरी कार्यालय मुक्तिनाथको भवन निर्माणधीन अवस्थामा छ । प्रहरी चौकी छोसेरले जग्गा प्राप्ति गरेको छ भने प्रहरी चौकी कागबेनीको जग्गा प्राप्तिको प्रक्रियामा छ । यसबाहेक अन्य प्रहरी इकाइको न त जग्गा छ, न भवन ।


जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रहरी चौकी छोन्हुप, प्रहरी चौकी घमी, प्रहरी चौकी चराङ, इलाका प्रहरी कार्यालय छुसाङ, प्रहरी चौकी कागबेनी, प्रहरी चौकी सुर्खाङ र प्रहरी चौकी कोवाङका जग्गा र भवन दुबै छैनन् । यी प्रहरी इकाइमा कार्यरत प्रहरी संघ, संस्थाका ढुंगा, माटोले बनेका जीर्ण भवनमा आश्रित छन् ।


प्रहरी चौकी सुर्खाङ विद्यालय भवनमा, प्रहरी चौकी छोन्हुप साबिक गाविस भवनमा, प्रहरी चौकी छोसेर नेचुङ भन्सार कार्यालयमा छन् । इलाका प्रहरी कार्यालय मुक्तिनाथ धर्मशालामा, इलाका प्रहरी कार्यालय छुसाङ एक्याप र आमा समूहको भवनमा, प्रहरी चौकी चराङ विद्यालयको भवनमा राखिएका छन् । प्रहरी चौकी कोवाङ व्यक्तिको घरमा भाडामा र प्रहरी चौकी कागबेनी वडा कार्यालय भवनमा बस्दै आएका छन् ।


सरकारी तथा गैरसरकारी संघ, संस्था र व्यक्तिको घरमा कार्यालय सञ्चालन गरी बसेका प्रहरी इकाइका संरचना भने असाध्यै जीर्ण अवस्थामा छन् । हिमपात र प्रतिकूल मौसममा पनि बाह्रै महिना नागरिकको जीउधन र सुरक्षामा खटिने दूरदराजका प्रहरी इकाइका प्रहरी जवान निकै कष्टकर जीवन व्यतीत गर्न विवश छन् । आश्रय लिएर जीर्ण भवनमा दिन काट्न बाध्य मुस्ताङका प्रहरीलाई वातावरणमैत्री भवन तथा स्रोत, साधन नहुँदा चिसो थेग्नसमेत मुस्किल पर्छ ।


प्रहरी इकाइको आफ्नै भवन र आवश्यक पूर्वाधार निर्माण नहुँदा यहाँका प्रहरीले विभिन्न समस्या र चुनौती भोग्नुपरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले मुस्ताङमा प्रहरीका १३ इकाइमध्ये ८ प्रहरी इकाइको जग्गा र भवन दुबै नभएको जानकारी दिए । जग्गा प्राप्तिको प्रक्रियामा भने रहेको उनले सुनाए । पाण्डेयले जिप्रकासहित लोमान्थाङ, घाँसा र लेतेमा प्रहरीको आफ्नै भवन रहेको र मुक्तिनाथमा प्रहरीको भवन निर्माणधीन अवस्थामा रहेको जानकारी दिए ।


संघीयतापछि पनि ३ तहको सरकार निर्माण भइसकेको ६ वर्ष बितिसक्दासमेत मुस्ताङका प्रहरी इकाइक आफ्नै भवन छैनन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया