लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव सकियो

समाधान संवाददाता २०८० फागुन २० गते १३:५४

लेखनाथ ।
कास्कीको पोखरा २७ मा रहेको लक्ष्मी आदर्श माविको त्रिदिवसीय स्वर्ण महोत्सव शुक्रबार सकिएको छ । विद्यालयको शैक्षिक विकासमा सहयोग पुग्ने गरी आयोजना गरिएको महोत्सवमा विभिन्न कार्यक्रम भएका थिए ।


भूपूविद्यार्थी पुनर्मिलन र विभिन्न व्यक्ति तथा सहयोगी संस्थाबाट अक्षयकोष स्थापनादेखि आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको छ । महोत्सवमा पहिलो दिन स्वर्ण महोत्सव स्तम्भ अनावरण गरिएको थियो । दोस्रो दिन बिहीबार स्मारिका विमोचन तथा विद्यालयको स्वर्ण महोत्सव प्रवेशद्वार एवं हेल्थ केयर युनिट उद्घाटन गरियो ।


अन्तिम दिन शुक्रबार सम्मानका कार्यक्रम भएको छ । विसं. २०२५ मा स्थापना भएको यो विद्यालय ५६ औं वर्षसम्म आईपुग्दा १५ हजार ५ सयभन्दा बढी विद्यार्थीले यहाँ पठनपाठन गरेका छन् । हाल विद्यालयमा १ हजार ६३ विद्यार्थी छन् । स्वर्ण महोत्सवको समापनका दिनसम्म करिब ६० लाख सहयोग संकलन भएको विद्यालयका प्रधानाध्यापक रवीन्द्रनाथ भट्टराईले जानकारी दिए ।

Advertisement


विविध सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको महोत्सव समापन समारोहमा पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका उपसचिव वसन्तराज पौडेल, पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत बद्रिनाथ सुवेदी र संस्थापक भोजराज भण्डारी, पूर्व शिक्षक हेमराज आचार्य लगायतले अबको शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्नेमा जोड दिए ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक शिवमणि भण्डारी र विद्यार्थीको तर्फबाट पदमराज सापकोटा, शिक्षक गणेश पौडेल लगायतले बोलेका थिए ।

Advertisement


समारोहमा संस्कृतिविद डा. जगमान गुरुङले पूर्वीय दर्शनको शिक्षा पद्धतिलाई जोगाउनुपर्ने बताउँदै पश्चिमेली अर्थात आधुनिक शिक्षा पद्धति पनि अहिलेको आवश्यकता भएको जनाए । उनले पश्चिमी पद्धतिलाई बहिष्कार गर्न नसकिए पनि पूर्वीय दर्शन, संस्कृति र प्राचीन आर्दशलाई भने बिर्सन नहुने विचार राखे ।


बिहीबार भएको कार्यक्रममा पोखरा महानगरपालिका मेयर धनराज आचार्यले सरकारी विद्यालयलाई हेर्ने समाजको नजर फरक रहेको बताउँदै यस किसिमको बुझाईलाई विद्यालयले खण्डन गर्न सकेकोमा खुसी व्यक्त गरे ।


उक्त अवसरमा विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा विद्यालयको स्थापना कालदेखि हालसम्म विभिन्न क्षेत्रबाट योगदान गर्ने चन्दादाता, जग्गादाता, अक्षयकोषदाता, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधीकारी, विद्यावारिधि गर्ने पूर्वविद्यार्थी एवं सरकारी सेवामा प्रथम श्रेणीमा सेवारतलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया